
बाजुरा– बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल एकाउन्न करोड उनन्सत्तरी लाख उन्नाइस हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नगरसभा मार्फत प्रस्तुत गरिएको उक्त बजेटको स्रोत व्यवस्थापन संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको आन्तरिक आम्दानीको साझेदारीमा गरिएको छ।
बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा वार्षिक बजेट सार्वजनिक काे पत्रकार सम्मेलन गर्दै साे कुरा उल्लेख गरिएकाे हाे । नगर प्रबक्त्ता धर्मराज पाध्यायले नगरपालिकाले ल्याएकाे बजेट र निति तथा कार्यक्रमकाे निर्णय सार्वजनिक गरेका थिए । जसमा नगरपालिकाले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार समृद्ध बडीमालिकाका प्रमुख आधार” भन्ने मूल नाराका साथ बजेट नगरसभा मार्फत सार्वजनिक गरेको उनले बताए ।
बजेटको स्रोतमा सबैभन्दा ठूलो हिस्सा संघीय सरकारको अनुदान र राजस्व बाँडफाँटको रहेको छ भने प्रदेश सरकार र नगरपालिकाको आन्तरिक स्रोतलाई पनि मुख्य आधार बनाइएको छ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटको स्रोत विभाजन निम्न बमोजिम रहेको छ:
| क्र.सं. | बजेटको स्रोत / शीर्षक | रकम (रु.) |
| १. | संघीय सशर्त अनुदान (एकमुष्ट) | १७,४३,००,००० (सत्र करोड तेह्र लाख) |
| २. | संघीय समानीकरण अनुदान | ११,२३,००,००० (एघार करोड तेइस लाख) |
| ३. | संघीय राजस्व बाँडफाँट | १०,७९,७९,००० (दश करोड उनासी लाख उनान्सय हजार) |
| ४. | नगरपालिकाको अनुमानित आन्तरिक राजस्व | ३,००,००,००० (तीन करोड) |
| ५. | प्रदेश समपूरक अनुदान | १,५८,०७,००० (एक करोड अन्ठाउन्न लाख सात हजार) |
| ६. | प्रदेश सशर्त अनुदान | १,१९,००,००० (एक करोड उन्नाइस लाख) |
| ७. | संघीय समपूरक अनुदान | १,११,००,००० (एक करोड एघार लाख) |
| ८. | संघीय विशेष अनुदान | १,००,००,००० (एक करोड) |
| ९. | झोलुङ्गे पुल क्षेत्रगत विकास (पूँजीगत) | ५३,००,००० (त्रिपन्न लाख) |
| १०. | प्रदेश विशेष अनुदान | ३०,५०,००० (तीस लाख पचास हजार) |
| कुल बजेट | ५१,६९,१९,००० (एकाउन्न करोड उनन्सत्तरी लाख उन्नाइस हजार) |
नगरपालिकाले यसपटक आन्तरिक राजस्वबाट ३ करोड परिचालन गर्ने लक्ष्य राखेको छ, जसले स्थानीय स्रोत साधनको उपयोगलाई बढावा दिने सङ्केत गर्दछ। यस्तै, पूर्वाधार विकासतर्फ झोलुङ्गे पुल क्षेत्रगत विकासका लागि ५३ लाख विनियोजन गरिएको छ। संघ र प्रदेश सरकारका विभिन्न समपूरक तथा विशेष अनुदानहरूलाई नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमूलक क्षेत्रमा केन्द्रित गर्दै नगरबासीको आवश्यकता परिपूर्ति गर्ने गरी बजेट कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।
नगरबासीको जीवनस्तर सुधार र फोहोरमैला व्यवस्थापनका लागि नगरसभाबाट निर्णय गरिएकाे छ । “प्लास्टिक ल्याउ साबुन/पैसा लैजाउ” अभियान: फोहोरमैला व्यवस्थापनलाई आधुनिक बनाउन नगरभित्र प्लास्टिक ल्याउने नागरिकलाई साबुन वा पैसा दिने नवीन कार्यक्रमका लागि रु. १,००,००० विनियोजन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ ।
घरधुरीमा फोहोर वर्गीकरण प्रोत्साहन: घरमै कुहिने र नकुहिने फोहोर छुट्याउने सचेत परिवारहरूलाई आर्थिक वा अन्य प्रोत्साहन दिन रु. ५०,००० छुट्याइएको छ।
सडक मर्मतकर्ता र पुल हेराला: स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै सडक र झोलुङ्गे पुलहरूको तत्काल मर्मतका लागि “कृषि सडक मर्मतकर्ता” (रु. ५५,४००) र “पुल हेराला” (रु. २,२२,०००) को बजेट व्यवस्था गरिएको उल्लेख गरिएकाे छ। विपन्न परिवारलाई २० युनिट विद्युत निःशुल्क कार्यक्रम अन्तरगत नगरभित्रका गरिब तथा विपन्न नागरिकलाई राहत दिन २० युनिटसम्मको विद्युत महसुल शतप्रतिशत निःशुल्क गराउन रु. ६,४८,००० विनियोजन गरिएको नगरपालिकाले जनाएकाे छ । त्यसै गरि बिध्यालय दिवा खाजा र डिजिटल अभियान: विद्यालयहरूमा आधुनिक प्रविधि र पोषणका लागि रु. ३०,००,००० विनियोजन गरिएकाे छ।
त्यस्तै गरि दलित र विपन्न छात्रवृत्ति: शिक्षामा समान पहुँचका लागि रु. १०,००,००० छुट्याइएको छ। करार सेवा र जनशक्ति व्यवस्थापन: रु. ६,०४,५१,००० विपत् व्यवस्थापन कोष तथा जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि रु. ३०,००,००० को कोष तयारी गरी सचालन गरिने नगरसभा बाट पारीत गरिएकाे जनाएकाे छ
सडक तथा प्रशासनिक पूर्वाधारमा रजाली आम्लिस सडक निर्माणका लागि रु. ३२,००,००० र वडा कार्यालय भवन निर्माणका लागि रु. ४०,००,००० र शैक्षिक पूर्वाधार अन्तरगत कैलाशेश्वरी मावि भवन निर्माण (क्रमागत) का लागि रु. ३०,००,००० र सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारअन्तर्गत प्रदेश विशेषको रु. १ करोड बजेट ब्यबस्थापन गरि सभाबाट पारित गरिएकाे जनाएकाे छ ।
खानेपानी तर्फ गौमुल दर्ना खानेपानी (क्रमागत) का लागि रु. २३,००,००० र नगाने सिँचाइ कुलोका लागि रु. ३० लाख, सडक मर्मत र सञ्चालन एवं अन्य पूर्वाधारहरूको नियमित मर्मतका लागि रु. ४९,५४,६०० विनियोजन गरेकाे छ । नीति, कार्यक्रम र बजेटका ५ रणनीतिक आधारहरू
प्रशासनिक सुशासन र नागरिक सेवा सुनिश्चित गर्न बजेटले देहायका ५ बुँदालाई ग्यारेन्टी गरेको छ। सबै वडा, विद्यालय र स्वास्थ्य संस्थामा ई-हाजिरी अनिवार्य गरिएको छ। हाजिर नहुने कर्मचारीको सोझै तलब कट्टा गरिनेछ।
नगरबासीलाई नियमित पानी उपलब्ध गराउन मार्तडी बजार क्षेत्रमा पाइपलाइन अवरोध भएमा २४-४८ घण्टाभित्र मर्मत गर्न विशेष द्रुत टोली (क्विक रेस्पोन्स टिम) परिचालन गरिने ब्यवस्था आगमी बर्षबाट लागु गरिने जनाएकाे छ । बिचौलियाको अन्त्य गरी कृषकलाई उपभोक्तासँग सिधै जोड्न मार्तडी कृषि हाट बजारमा साप्ताहिक बजार र वडा तहमा संकलन केन्द्रको व्यवस्थापन तथा ‘कृषि एप’ सञ्चालन गरिने। युवाहरूलाई परम्परागत तालिम भन्दा फरक भ्लगिङ, फोटोग्राफी, भिडियो एडिटिङ र डिजिटल मार्केटिङ जस्ता प्रत्यक्ष र तत्काल आम्दानी हुने सीप सिकाइने।
स्वास्थ्यमा पहुँच बढाउन सबै स्वास्थ्य संस्थामा “स्मार्ट हेल्थ टेलिमेडिसिन सेवा” र ज्येष्ठ नागरिक तथा सुत्केरीका लागि घरमै स्वास्थ्य जाँचको प्रबन्ध मिलाइने। चालु खर्च र सञ्चार क्षेत्रसँगको साझेदारी कार्यक्रम अन्तरगत नगरपालिकाको आन्तरिक प्रशासनतर्फ पारिश्रमिक कर्मचारीका लागि रु. २,७०,००,००० र पदाधिकारी पारिश्रमिकका लागि रु. ९७,००,००० विनियोजन गरिएको छ। साथै, लोकतन्त्रको चौथो अङ्गको रूपमा रहेको सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारहरूको प्रवर्द्धनका लागि नगरपालिकाले मिडिया प्रवर्द्धनतर्फ रु. ५,००,००० र सूचना प्रकाशनका लागि छुट्टै रु. ५,००,००० विनियोजन गरी स्थानीय सञ्चार माध्यमहरूसँग दिगो साझेदारी गर्ने नीति लगायतका निर्णय गरिएकाे पत्रकार सम्मेलन मार्फत नगर प्रबक्ता पाध्यायले बताएका छन ।


