• होमपेज
  • खप्तड छेडेदह
  • विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै खप्तड छेडेदहमा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै खप्तड छेडेदहमा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

  • बुधबार, असार ३, २०८३
सेयर गर्नुहोस् :
विद्यालयको गुणस्तर सुधारमा जोड दिँदै खप्तड छेडेदहमा शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकाका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा जोड दिँदै पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

गाउँपालिकाको समन्वय, पीसविन नेपालको आयोजनामा तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न गोष्ठीमा विद्यालय शिक्षाको वर्तमान अवस्था, उपलब्धि, समस्या तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।
गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा पालिकाभित्रका विद्यालयहरुको शैक्षिक अवस्था, प्रमुख आवश्यकता, समस्याका बारेमा छलफल गरी भावि योजना निर्माणमा सहयोग पुग्ने विश्वाससहित शैक्षिक कार्यशाला गोष्ठीको आयोजना गरिएको गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत दिपक पौडेलले बताएका छन् ।
कार्यक्रममा प्रशिक्षक मिन सिंहले कुशल विद्यालय व्यवस्थापन, प्रधानाध्यापकको प्रभावकारी नेतृत्व क्षमता, शिक्षक उत्प्रेरण, विद्यार्थी आकर्षण, अभिभावक शिक्षा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

गोष्ठीमा सहभागी अभिभावक तथा विव्यसका प्रतिनिधिहरुले विद्यालयमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरुमा नैतिक शिक्षा र अनुशासित एवम् क्षमतावान् बनाउन तल्लो कक्षाबाट नै प्रयत्न गर्नु पर्नेमा जोड दिएका छन् । यस्तै सहभागी विद्यालयका प्रधानाध्यापकहरुले पछिल्लो समय मोबाइलको दुरुपयोग, विद्यार्थीप्रति अभिभावकहरुको चासो कम हुँदा विद्यार्थीहरु नराम्रो गतिविधिमा संलग्न हुने र पढाईमा ध्यान नदिने गरेको उल्लेख गरेका छन् । त्यस्तै सामुदायिक विद्यालयप्रति बढ्दो अविश्वास, विद्यार्थी सङ्ख्यामा आएको कमी, शैक्षिक उपलब्धिमा देखिएको असमानता तथा प्रविधिमैत्री शिक्षाको आवश्यकता जस्ता विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार मात्र पर्याप्त नहुने, शिक्षकको दक्षता, अभिभावकको सहभागिता वृद्धि गर्न अभिभावक शिक्षा र स्थानीय सरकारको निरन्तर लगानी पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

शैक्षिक कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले शैक्षिक गुणस्तर सुधारका लागि थुप्रै योजना निर्माण, क्षमता विकास तालिम सञ्चालन गर्नुका साथैं लगानीमा पनि जोड दिइरहेको भए पनि त्यसको प्रतिफल अपेक्षाअनुसार नभएको बताए । उनले यस्ता गोष्ठी तथा तालिम सक्नका लागि मात्रै नभई व्यवहारिक रुपमा विद्यालयभित्र प्रयोग गरी सिकाई उपलब्धि वृद्धि गर्न जोड दिनु पर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले कसैको एक्लै प्रयास र लगानीले मात्रै गुणस्तर सुधार र उपलब्धि वृद्धि सम्भव नहुने भन्दै यसमा सबैले आफ्‌नो दायित्व र जिम्मेवारी बोध गरेर लाग्न आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

गाउँपालिका अध्यक्ष दिल बहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको शैक्षिक कार्यशाला गोष्ठीमा विशिष्ट अतिथि उपाध्यक्ष बिशुदेवि नाथ रहेकी थिइन् । यस्तै कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेम साउँद, गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत दिपक पौडेल, प्रशिक्षक मिन शाही, विभिन्न विद्यालयका प्रअ, विव्यस अध्यक्ष, अभिभावक लगायत सहभागी थिए ।

गाउँपालिकाको केन्द्र डोगडीमा सञ्चालन भएको शैक्षिक कार्यशाला गोष्ठीको सञ्चालन पीसविन नेपालको एकिकृत सामुदायिक विकास परियोजना कार्यक्रम अधिकृत भानसिंह ऐडीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार