
बाजुरा–एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। नेपाल अपराजित रहँदै उपाधि जित्न सफल रह्यो।
नेपालले १८९ रनको लक्ष्य पाएको थियो। तर, वर्षाले प्रभावित भएको खेलमा ११.३ ओभरमा २ विकेट गुमाएर नेपालले ११४ रन जोडेको थियो। त्यसपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रनको योगदान दिए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रोहित पौडेल २४ बलमा ३५ रनमा नटआउट रहे।
बलिङतर्फ हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले एक–एक विकेट लिए।
त्यसअघि सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए।
यस्तै, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए बाट नेपाल र मलेसिया तथा समूह बी बाट हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भए। प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुनेछ।


