बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रवास
  • सुदूरपश्चिमेली समाज जापानको आठौँ अधिवेशन: ‘सौराई’ मेट्ने चौतारी र भरोसाको केन्द्र बनोस्

सुदूरपश्चिमेली समाज जापानको आठौँ अधिवेशन: ‘सौराई’ मेट्ने चौतारी र भरोसाको केन्द्र बनोस्

  • शनिबार, जेष्ठ ९, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिमेली समाज जापानको आठौँ अधिवेशन: ‘सौराई’ मेट्ने चौतारी र भरोसाको केन्द्र बनोस्

काँधमा झुण्डिएको एउटा झोला, आँखाभरि सपना र मनभरि बाध्यता बोकेर गड्डाचौकी नाकामा लाइन लाग्ने सुदूरपश्चिमेलीहरूको कथा हिजोआज बदलिएको छ । हिजोका दिनमा रोजगारीका लागि भारतका बम्बई (मुम्बई), दिल्ली वा कालापहाड दगुर्ने गोडाहरू आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापानका हानेदा र नारिता विमानस्थलमा ओर्लन थालेका छन् ।
अहिले जापानमा विद्यार्थी, कामदार वा विभिन्न भिसामा भित्रिने सुदूरपश्चिमेलीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, यहाँको व्यस्त जीवनशैली, ड्युटीको चटारो र कोठाको एक्लो बसाइले प्रवासको जिन्दगी कहिलेकाहीँ निकै पट्यारलाग्दो बनिदिन्छ । यस्तो बेला गाउँघरको यादले निकै सताउँछ । विभिन्न मेला-महोत्सवमा खेलिने देउडा, गौरा, विशु पर्व अनि ती अवसरमा पाक्ने सेलरोटी, माडा, गताने र राइतोको स्वादले मन अमिलो बनाउँछ ।No description available.
यस्तै न्यास्रो (सौराई) मेट्न, मनका कुरा खोल्न र दुःख-सुख साट्नका लागि १४ वर्षअघि जापानमा ‘सुदूरपश्चिमेली समाज जापान’ को स्थापना भएको थियो । यो संस्था यतिबेला आफ्नो आठौँ ऐतिहासिक राष्ट्रिय अधिवेशनको संघारमा छ । आगामी मे ३१ तारिखका दिन जापानको राजधानी टोकियोस्थित जाइका इन्टरनेसनल कन्फ्रेन्स हल, सिनओकुबोमा भव्य सांस्कृतिक कार्यक्रमसहित यो अधिवेशन सम्पन्न हुँदैछ । नयाँ कार्यसमिति समेत चयन गरिने भएकाले यतिबेला जापानभरिका सुदूरपश्चिमेलीहरूमा अधिवेशनको सरगर्मी निकै बढेको छ ।
यस महत्त्वपूर्ण घडीमा अब बन्ने नयाँ नेतृत्व र समाज कस्तो हुनुपर्छ भन्नेबारे गम्भीर बहस हुन जरुरी छ ।

१. नयाँ आउनेहरूका लागि पहिलो ‘अभिभावक’
कलिलै उमेरमा लाखौँ रुपैयाँ ऋणको भारी बोकेर, सुनौलो भविष्यको सपना बुन्दै जापानको भूमिमा टेक्न आइपुग्ने विद्यार्थीहरूको संख्या ठुलो छ । यहाँ आएपछि भाषा विद्यालय (गाक्को) को चर्को फि, महँगो कोठाभाडा, दैनिक खानपिन र नेपालको ऋण तिर्ने चिन्ताले उनीहरूलाई थिच्छ । यहाँ काम नगरी सुखै छैन । त्यसैले, नयाँ नेतृत्वले जापान आउने नवआगन्तुकहरूलाई यहाँको परिवेश बुझाउन र सम्भव भएसम्म काम (आरुबाइतो) को खोजीमा सहयोग गर्ने बलियो संयन्त्र बनाउनुपर्छ । समाज साँच्चिकै उनीहरूको पहिलो अभिभावक बनोस् ।
२. दुःख-सुख साट्ने साझा चौतारी
“चिसापानी तरेपछि सबै सुदूरपश्चिमेली एक हुन्छन्”
यो केवल एउटा भनाइ मात्र नभएर हाम्रो पहिचान र एकताको एउटा बलियो भाष्य हो । यो भावनालाई संस्थागत गर्दै समाजले गुटबन्दीभन्दा माथि उठेर प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूका लागि दुःख-सुख साट्ने देउडा खेल्ने साझा चौतारीको रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ ।
३. पर्यटन र पहिचानको प्रवर्द्धक
सुदूरपश्चिम प्राकृतिक र धार्मिक दृष्टिकोणले अथाह सम्भावना भएको क्षेत्र हो । बडीमालिका, खप्तड, अपी सैपाल, दोधारा-चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा जस्ता पर्यटकीय स्थलहरूको जापानजस्तो विकसित मुलुकमा प्रचार-प्रसार गर्न समाजले पुलको काम गर्नुपर्छ । यसले मातृभूमिको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्नेछ ।
४. ज्ञान, सीप र प्रविधि हस्तान्तरणको माध्यम
सुदूरपश्चिमका ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहहरू छन् । जापानमा रहेका सुदूरपश्चिमेलीहरूले यहाँ सिकेको विकास, प्रविधि, कामप्रतिको निष्ठा र अनुशासनलाई आफ्नो गाउँ-ठाउँसम्म पुर्‍याउन आवश्यक छ । समाजले स्थानीय सरकारहरूसँग समन्वय गरेर ‘सिकाई आदान-प्रदान’ को माध्यम बन्न पहल गर्नुपर्छ ।
५. कानुनी र भाषागत समस्याको सारथि
प्रवासमा रहँदा विभिन्न कानुनी जटिलता, भिसाका समस्या वा भाषा नबुझ्दा नेपालीहरू ठगिने वा मर्कामा पर्ने गरेका छन् । यस्तो अवस्थामा गैरआवासीय नेपाली संघ (NRNA), नेपाली दूतावास र अन्य संघ-संस्थासँग प्रभावकारी समन्वय गरी पीडितलाई कानुनी एवं भाषागत सहायता प्रदान गर्ने भरपर्दो साथी समाज बन्नुपर्छ ।
कस्तो होस् त नेतृत्व ?
अब आउने नेतृत्व “म पदमा छु” भनेर धाक लगाउने वा खोज्नुपर्ने खालको हुनुहुँदैन । नेतृत्वमा त्यस्तो व्यक्तित्व आओस्, जसले सबैलाई समेट्न सकोस्, कुना-कन्दरामा रहेका हरेक नेपालीको आवाज सुन्न सकोस् र समस्या पर्दा आफैँ अघि सरोस् । सुदूरपश्चिमेली समाज जापान केवल एउटा संस्था मात्र नभएर प्रवासमा रहेका नेपालीहरूको ‘सौराई’ (न्यास्रो) मेट्ने र छहारी दिने एउटा पवित्र चौतारी बनोस् । आसन्न आठौँ अधिवेशनको भव्य सफलताको हार्दिक शुभकामना !

चर्चामा

सम्बन्धित समाचार