
बाजुरा– रानिसैन पछिल्लो केही सातायता सुदूरपश्चिमको पहाडी भूगोलमा सबैभन्दा धेरै चर्चामा रहेको नाम बनेको छ । सामान्यतया प्राकृतिक सौन्दर्य र हिमाली शान्तिको प्रतीक मानिने यो क्षेत्र अहिले भने बाजुरा र हुम्लाबीचको तनाव, राजनीतिक आरोप–प्रत्यारोप र प्रशासनिक तनावको केन्द्र बनेको छ । स्थानीयहरूका अनुसार विवादको सतही कारण भू–स्वामित्व र प्रशासनिक पहुँच जस्तो देखिए पनि भित्री तहमा भने पर्यटनको सम्भावित आम्दानी, सीमावर्ती प्रभाव विस्तार, स्थानीय शक्ति सन्तुलन र अवैध गतिविधिको चलखेलसम्म जोडिएको छ ।
बाजुराका स्थानीय समुदाय र सरोकारवालाले रानिसैन क्षेत्र ऐतिहासिक, सांस्कृतिक र प्रशासनिक रूपमा बाजुरासँग जोडिएको दाबी गर्दै आएका छन्। उनीहरूका अनुसार वर्षौंदेखि बाजुराका बासिन्दाले उक्त क्षेत्र धार्मिक आस्था, गोठालो मार्ग र स्थानीय आवतजावतका रूपमा प्रयोग गर्दै आएका छन्। तर हुम्लाका केही समुदाय र व्यवसायिक समूहले भने रानिसैन क्षेत्रमा आफ्नो परम्परागत पहुँच र प्रभाव रहेको दाबी गर्छन्। यही दाबी अहिले विवादको मुख्य आधार बनेको छ ।
स्थानीय तहका केही प्रतिनिधिहरूका अनुसार समस्या सीमांकनको अस्पष्टता मात्रै होइन, “कसले प्रभाव जमाउने?” भन्ने प्रतिस्पर्धा पनि हो। हालै सामाजिक सञ्जाल र स्थानीय स्तरमा सार्वजनिक भएका घटनाले विवादलाई थप चर्काएको छ । केही पर्यटक, स्थानीय बासिन्दा तथा सरकारी अनुगमन टोलीमाथि दुर्व्यवहारले थप संका उत्पन्न गरेको छ । सोही अनुरुप स्थानिय जनेश भण्डारीले रानीसैनका बिषयमा हुम्लाका समुदायले बाजुराका समुदाय र,पर्यटक र सरकारी अधिकारी माथि माथि गरेको दादागिरीको मूल्य चुकाउँन सकस हुनेछ । यो घटनाको जिम्मेवारी पूर्व मूख्य मन्त्री जीवन बहादुर शाहिको भागमा पनि पर्ने बताएका छन ।
उनले भनेका छन केही दिन अगाडि माहोल भडकाउँने खालको अभिव्यक्ति पुर्व मन्त्री शाहीले सामाजिक संजाल मार्फत दिएकै कारण आज यो जघन्य घटना पून दोहोरिएको बताएका छन । अर्काको जिल्लाको जडिबुटी चोरी,पैठारी , तस्करी गर्न नपाउँने डरले अत्तालिएका तस्करहरुको यो निन्दनीय कार्यको जति भत्सर्ना गरे पनि कमै हुन्छ उनले सामाजिक संजाल फेशबुक मार्फत भनेका छन । अबैध बन्यजन्तु, जडीबुटी तस्करी रोक्न अस्थायी प्रहरी चौकी स्थापना हुन लागेकोमा तस्करहरुको डिजायनमा यो घटना भएको उनले फेशबुकमार्फत बताएका छन ।
त्यसै गरि नेकपा एमाले बाजुराका उपाअध्यक्ष तथा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले पनी सामाजिक संजाल फेशबुक मार्फत आफ्नो अभिब्यक्ती ब्यक्त गरेका छन । उनले बाजुराको हिमाली गाउँपालिका वडा नं. ३ लाम्पाटामा हुम्ला जिल्लाका नागरिकले बाजुरा जिल्लाका नागरिक माथि गरेको कुटपिट र ज्यादतीको घोर भत्सर्ना तथा निन्दा गर्दै दोषि उपर छानबिन गरि कानुन बमोजिम कार्वाही गर्न समन्धीत निकाय समक्ष जोडदार माग समेत गरेका छन ।
तथ्य प्रमाणका आधारमा बाजुराको भुगोलमा रहेको अत्यन्तै आकर्षक पर्यटकीय गन्तव्य रानीसैनको प्रचार प्रसार गर्ने र यसलाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवाद सम्वन्धी समाधानका लागि गाउँपालिका अध्यक्षको टोली छलफलमा जुटिरहेकै बेला द्वन्द्व समाधान गर्नुको साटो विवाद सृजना गरेर थप दुर्घटना निम्त्याउनु विडम्बनापूर्ण रहेको उनको भनाई रहेको छ ।
स्थानीय स्रोतहरूका अनुसार केही समूहले रानिसैन क्षेत्रमा बाह्य हस्तक्षेप बढ्न नदिन दबाबमूलक गतिविधि गरिरहेको आरोप छ । यद्यपि यी आरोपहरू औपचारिक रूपमा पुष्टि भइसकेका छैनन्। तर तस्करीको रुट जोगाउने खेल नै विवादको सबैभन्दा संवेदनशील पक्ष रहेको पाइएको छ ।
सीमावर्ती दुर्गम भूगोल भएका कारण रानिसैन आसपासका क्षेत्र विगतदेखि नै अवैध ओसारपसार र अनौपचारिक व्यापारको ट्रान्जिट बिन्दु बन्ने गरेको स्थानीय दाबी छ । स्थानीयका अनुसार केही प्रभावशाली समूह र ठेकेदारहरू प्रशासनिक सुरक्षा उपस्थिति बलियो बनाउन अनिच्छुक देखिएका छन्। किनकी सुरक्षा निगरानी बढे अवैध गतिविधिमा असर पर्ने डरका कारण तस्करहरु डराएर मिलेको समाजलाइ भड्काएको बुझिएको छ । यद्यपि यस्ता आरोपबारे सुरक्षा निकायले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर बाजुरा जिल्लाका ४ ओटा स्थानीय तहले भने “रानिसैन विवादको भित्री कथा केवल सीमा विवाद होइन” भनेर सयुक्त बिज्ञप्ती समेत जारी गरेका छन ।
विवादमा केही राजनीतिक व्यक्तित्वका सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल पोस्टले थप आगोमा घिउ थप्ने काम गरेको स्थानीयहरूको आरोप छ । जिल्लागत भावनालाई उक्साउने शैलीका टिप्पणीले समुदायबीच अविश्वास बढाएको नागरिक अगुवाहरु बताउँछन् । स्थानीय बुद्धिजीवीहरू भने यो विषयलाई “बाजुरा विरुद्ध हुम्ला” को रूपमा प्रस्तुत गर्नु खतरनाक हुने चेतावनी दिन्छन्। उनीहरूका अनुसार दुवै जिल्लाका सर्वसाधारण नागरिकबीच सदियौंदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम छ, त्यसैले केही समूहको गतिविधिलाई सम्पूर्ण जिल्लासँग जोड्न नहुने उनीहरूको भनाइ छ ।
यति ठूलो बहस र तनावबीच पनि संघीय सरकार, प्रदेश सरकार वा सम्बन्धित प्रशासनिक निकायबाट स्पष्ट आधिकारिक निष्कर्ष बाहिर आएको छैन। सीमांकन, सुरक्षा व्यवस्थापन, पर्यटन सञ्चालन र स्थानीय अधिकारका विषयमा धारणा नआउँदा विवाद झन् अन्योलपूर्ण बनेको छ । स्थानीयहरू अहिले सरकारसँग तीन मुख्य माग गरिरहेका छन । जसमा रानिसैन क्षेत्रको स्पष्ट प्रशासनिक अवस्थाबारे औपचारिक धारणा, निष्पक्ष सुरक्षा उपस्थिति, र पर्यटन तथा धार्मिक क्षेत्रको साझा र व्यवस्थित संरक्षण नीति अवलम्बन गर्न आग्रह गरेका छन ।
रानिसैन अहिले केवल एउटा भूभागको नाम रहेन । यो राज्यको कमजोर उपस्थितिबीच स्थानीय पहिचान, सीमावर्ती राजनीति, पर्यटन अर्थतन्त्र र अदृश्य शक्ति संघर्षको प्रतीक बन्दै गएको नागरिक समाजका अगुवाहरुले बताउन थालेका छन । यदि समयमै संवाद, तथ्यपरक छानबिन र समन्वित समाधान खोजिएन भने रानिसैन विवादले दुई जिल्ला बीच अनावश्यक दूरी मात्र होइन, भविष्यको पर्यटन सम्भावना माथि पनि गम्भीर असर पार्न सक्ने उनिहरुको भनाई रहेको छ । बाजुराको रानीसैन, विच्छ्या, लाम्पाटा क्षेत्र बाजुराको कुल क्षेत्रफलको ४० प्रतिशत भू–क्षेत्र ओगटेको छ । यो क्षेत्र बाजुराको जडीबुटी र दुर्लभ वन्यजन्तुको भण्डार मानिन्छ । यस क्षेत्रमा बाजुराको हिमाली–३ का बाम, रुम्दी, लाम्पाटा, गुम्बा, नेटा, बौडी, कोट, कोटिगाउँ, टिन, देउसैन, युना गरी ११ वटा बस्ती भए पनि जनसंख्या ८१० मात्र छ ।
यस क्षेत्रबाट व्यापारीहरूले हिल्सासम्म पुग्ने मानवबस्ती विहीन तस्करी मार्ग बनाएको एक सुरक्षाकर्मीले बताए । ‘रानीसैनमा पर्यटकहरूको आवागमन र चलहपहल भएर त्यस क्षेत्रमा चलाउँदै आएको चोरी–तस्करी सार्वजनिक हुने त्रासले पर्यटकहरूलाई समेत अवरोध गरिएको स्थानियले बताएका छन ।
बाजुराका प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निरौलाले त्यस क्षेत्रमा प्रहरी चौकी राख्न नदिनुको भित्री कारण पनि चोरी–तस्करीमा अवरोध हुने डरले गरिएको बताए । त्यस क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔंले, कुट्की, वनलसुनलगायत दर्जनौं प्रजातिका मूल्यवान जडीबुटी तथा दुर्लभ वन्यजन्तु पाइने गरेको स्थानिय बताउँछन् ।


