बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पत्रपत्रिका
  • नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

  • शनिबार, जेष्ठ २, २०८३
सेयर गर्नुहोस् :
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ–बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ ।

खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ ।

बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो ।

नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार