बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • एसईई नतिजामा बुढीनन्दाको उल्लेख्य सुधार, ९१.८७ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईई नतिजामा बुढीनन्दाको उल्लेख्य सुधार, ९१.८७ प्रतिशत विद्यार्थी ग्रेडेड

  • बुधबार, बैशाख ३०, २०८३
सेयर गर्नुहोस् :
एसईई नतिजामा बुढीनन्दाको उल्लेख्य सुधार, ९१.८७ प्रतिशत विद्यार्थी ग्रेडेड

बाजुरा‍–माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा बाजुराको बुढीनन्दा नगरपालिका उत्कृष्ट देखिएको छ । विगतका वर्षहरु भन्दा यस वर्ष एसईई नतिजामा सुधार गर्दै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो ।

सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार बुढीनन्दाका झण्डै ९२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । शैक्षिक सत्र २०८२ सालको एसईईमा नगरपालिकाबाट सहभागी कुल ३१२ मध्ये २८७ जना अर्थात ९१.८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । नगरपालिकाको केन्द्र कोल्टीमा अवस्थित जनप्रकाश माध्यमिक विद्यालय सहित सहभागी ५ वटै माविले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । जनप्रकाश माविबाट एसईईमा सहभागी १२४ मध्ये ११४ जना उत्तीर्ण भएका छन् । यस्तै नन्देश्वरी माविमा ३३ मध्ये २९ जना, देवडाँडा माविमा ५३ मध्ये ५० जना, पादुका माविमा ४३ मध्ये ४१ जना र सत्य माविमा ५९ मध्ये ५३ जना विद्यार्थी उत्तीर्ण भएको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । यस्तै एसईईमा सहभागी भएका २५ जना विद्यार्थी मात्रै नन ग्रेडेडमा परेका छन् ।

यस वर्षको एसईई नतिजामा समग्र बाजुराको ग्रेडेड नतिजा गत वर्षको भन्दा करिब १० प्रतिशतले वृद्धि भएर ६१ दशमलव ९ प्रतिशत पुग्दा अन्य ९ वटा स्थानीय तहमध्ये बुढीनन्दाको नतिजा उत्साहजनक देखिएको छ । बुढीनन्दामा २०८१ सालको एसईईमा ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष २०८२ मा वृद्धि भएर ९१ दशमलव ८७ प्रतिशत पुगेको छ । जुन यो विगतभन्दा नतिजामा सुधार भएको हो ।

ग्रेड विश्लेषण हेर्दा अधिकांश विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहमा केन्द्रित देखिएका छन्। ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थी संख्या ९ रहेको छ भने ३.२ देखि ३.६ जीपीए ल्याउने ५१ जना रहेका छन्। विशेषगरी दुर्गम क्षेत्रका विद्यालयहरूले सीमित स्रोतसाधन, शिक्षक अभाव र भौगोलिक कठिनाइका बीच पनि सुधारोन्मुख नतिजा ल्याउनु सकारात्मक पक्ष मानिएको छ। पछिल्ला वर्षहरूमा विद्यालयस्तरीय नियमित परीक्षण, अतिरिक्त कक्षा, अभिभावकसँगको समन्वय तथा शिक्षकहरूको सक्रियताले नतिजा सुधारमा योगदान पुगेको नगरपालिकाले जनाएको छ ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल निरन्तर प्रगति उन्मुख रहेको भन्दै अझै सुधारका लागि धेरै गर्न बाँकी रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार