
वीरबहादुर विष्ट–ठ्याक्कै १० वर्ष बितेछ। तर आँखा चिम्लिँदा आजै जस्तो लाग्छ— २०७२ साल वैशाख १२ गतेको त्यो कालो मध्यान्ह। म शंखमुलको एउटा पसलभित्र बसिरहेको थिएँ। एकाएक जमिन यसरी हल्लियो कि मानौं पातालबाटै केही बिष्फोट हुँदैछ। सटरहरू आफैं बन्द भए। छिमेकी पसलको भाइ र म हतार-हतार काउन्टर टेबल मुनि पस्यौँ। बाहिर ‘भूकम्प! भूकम्प!’ भन्दै मानिसहरूको रुवाबासी र चिच्याहट सुनिन्थ्यो। कसैले सटर उठाइदिएपछि बाहिर निस्कँदाको दृश्य अझै भयानक थियो— कोही खाली खुट्टा, कोही आधा लुगामै हतास देखिन्थे।
त्यो दिन मेरो मुटु तब रोकियो, जब कसैले भन्यो— “धरहरा ढल्यो!” मेरो भाइ त्यही दिन धरहरा घुम्न जान्छु भनेर निस्किएको थियो। फोनको नेटवर्क थिएन, मनमा केवल अन्धकार थियो। पछि प्रविण दाईसँगै सुन्धारातिर दौडिँदै गर्दा भाइको फोन आयो, ऊ शंखमुल पुगिसकेछ। त्यो क्षण फेरेको लामो सास र पाएको पुनर्जीवनको आभास म कहिल्यै बिर्सन सक्दिनँ। त्यसपछिका कैयौँ रातहरू बानेश्वरको सडकमा गाडीभित्रै बिते। ९ हजार नेपालीको ज्यान गयो, लाखौँ घरवारविहीन भए। त्यो पराकम्पनको त्रासले अहिले पनि जिउ जिरिङ्ग हुन्छ।
जापानको अनुभव र अचम्मको शान्ति
आज समय बदलिएको छ। म ‘भूकम्पको देश’ भनेर चिनिने जापानमा छु। अस्ति भर्खरै यहाँ ७ रेक्टर स्केलको भूकम्प गएछ, जुन कुरा मैले मोबाइलको नोटिफिकेसन हेरेपछि मात्र थाहा पाएँ। यहाँ दैनिक ४-५ रेक्टरका भुइँचालो त कति जान्छन्, कति! तर यहाँका मानिसहरूमा नेपालको जस्तो त्रास देखिँदैन। जनजीवन सामान्य रहन्छ। जापानले कसरी यस्तो अभेद्य संरचना बनायो होला? किन यहाँका ठूला भवनहरू हल्लिँदा पनि ढल्दैनन्? अनि हाम्रो देशमा किन सामान्य धक्काले पनि ठूलो क्षति पुर्याउँछ? यी प्रश्नहरूले मलाई सधैं घोत्लिन बाध्य बनाउँछन्।
जापानबाट हामीले के सिक्ने?
जापानको विकास र सुरक्षाको पछाडि केही यस्ता कारणहरू छन्, जुन नेपालका लागि पाठ बन्न सक्छन्:
१. कागजी होइन, कार्यान्वयनमुखी नियम: जापानमा भवन निर्माण आचारसंहिता (Building Codes) संसारकै कडा मानिन्छ। यहाँ नियम कागजमा मात्र सीमित हुँदैनन्; इन्जिनियरिङ र सुरक्षाको मापदण्ड नपुगेका घर निर्माण गर्नै पाइँदैन। हाम्रोमा भने सरकारी नियमलाई छल्नु नै बहादुरी मान्ने प्रवृत्ति छ, जसले मृत्युलाई निम्त्याइरहेको छ।
२. प्रविधि र अनुसन्धानमा लगानी: जापानले ‘सिस्मिक आइसोलेसन’ र ‘ड्याम्पिङ’ जस्ता प्रविधिमा अर्बौँ खर्च गरेको छ, जसले भवनलाई जमिनको हलचलबाट जोगाउँछ। हामीले अत्याधुनिक प्रविधि भित्र्याउन नसके पनि स्थानीय सामग्रीकै जगमा ‘भूकम्प प्रतिरोधी’ प्रविधिलाई अनिवार्य बनाउन सक्छौँ।
३. शिक्षा र पूर्वतयारी: यहाँ स्कुले बच्चादेखि वृद्धसम्मलाई भूकम्प आउँदा के गर्ने भन्ने ‘ड्रिल’ गराइन्छ। विपद् व्यवस्थापन उनीहरूको जीवनशैलीको हिस्सा हो। हामीकहाँ भने विपद् परेपछि मात्र रुवाबासी गर्ने र अरूलाई दोष दिने चलन छ।
४. राजनैतिक इच्छाशक्ति र जवाफदेहिता: प्राकृतिक जोखिमका बाबजुद जापान विश्वको आर्थिक शक्ति बन्नुको कारण भ्रष्टाचारमुक्त निर्माण र दीर्घकालीन योजना हो। हाम्रोमा योजना बन्छन्, तर कार्यान्वयनको चरणमा पुग्दा गुणस्तरहीन सामग्री र कमिसनको खेलले संरचनाहरू धराप बन्छन्।
निष्कर्ष
प्रकृतिलाई हामी रोक्न सक्दैनौँ, तर त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अवश्य सक्छौँ। जापानले प्रमाणित गरिसकेको छ कि यदि इच्छाशक्ति र इमानदारी हुने हो भने भूकम्पको केन्द्रमा बसेर पनि सुरक्षित रहन सकिन्छ। १० वर्षअघिको त्यो पिडा फेरि नदोहोरियोस् भन्नका लागि हामीले अब ‘चेत्ने’ मात्र होइन, ‘गर्ने’ बेला आएको छ। सरकारी नियमहरू फाइलबाट बाहिर निस्केर निर्माणस्थलसम्म पुग्नुपर्छ।
हाम्रा संरचनाहरू कागजमा मात्र होइन, धरातलमै बलिया बनून्। अनि मात्र हामीले ती ९ हजार दिवङ्गत आत्माप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ।


