
बाजुरा —बडीमालिका नगरपालिका—८ मा योजना छनोट र बजेट निर्माण प्रक्रियामा सहभागीता सुनिश्चितसहित समावेशी बनाउन महिला र किशोरीहरुलाई परामर्श कार्यक्रम गरिएको छ । आइतबार निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको समन्वयमा कार्यक्रम गरिएको हो ।
स्थानीय सरकारको योजना छनोटका लागि नागरिक संलग्नता र बजेट अनुरुप महिला र किशोहीहरुलाई कोही पनि पछाडि नपरोस् (एलएनओबी) सँग परामर्श कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । स्थानीय तहको योजना छनोट र बजेट निर्माण प्रक्रियाको पूर्वसन्ध्यामा महिला र किशोरीहरुको सहभागीतालाई प्राथमिकताका साथ सुनिश्चित गर्दै समावेश बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको निड्न नेपालकी जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताएकी छन् । यसले स्थानीय बजेट तर्जुमा गर्दा महिला र किशोरीको आवश्यकता र सुझावलाई प्राथमिकता दिने विश्वास व्यक्त गरिएको छ ।
बाजुरा जस्ता दुर्गम जिल्लाका महिला र किशोरीहरु अझै पनि शिक्षा, स्वास्थ्य र निर्णय प्रक्रियामा पछाडि छन्। यस्ता परामर्शले समाजमा पछाडि परेका महिला, अपांगता भएका व्यक्ति लगायतको प्रतिनित्रित्व सुनिश्चित भएर बजेटलाई थप समावेशी र आवश्यकता–केन्द्रित बनाउन सहयोग पुग्ने फिल्ड अफिसर कटुवालले बताइन् ।
कार्यक्रममा बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले योजना छनोट र बजेट निर्माणमा लक्षित वर्गका लागि यसअघि देखि प्राथमिकताका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले आगामी दिनमा महिला, किशोरी लगायत पिछडिएका वर्गको सहभागीता अभिवृद्धि हुने गरी समावेशी रुपमा दिगो, प्रविधिमैत्री, स्थानीय आवश्यकतामा आधारित विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।
कार्यक्रममा नगरपालिकाका गैरसरकारी संस्था फोकल पर्सन कृष्ण खडकाले योजना छनोट तथा बजेट निर्माण प्रक्रियामा लक्षित वर्गको सहभागीता र योजना तर्जुमाका ७ वटा चरणहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । यस्तै कार्यक्रममा वडाका बाल क्लव तथा किशोरी सञ्जालबाट बालबालिका तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।
बडीमालिका ८ वडा सदस्य करे बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चन्द्र बहादुर थापा रहेका थिए ।


