
काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ अभ्यास गर्दै पहिलोपटक टी २० र एकदिवसीय टिमका लागि फरक कप्तान नियुक्त गरेको छ । रोहित पौडेलले टी २० टीमको कप्तानी मात्रै गुमाएका छैनन्, स्क्वाडबाटै हटाइएका छन् ।
सघन गृहकार्यपछि क्यानले एकदिवसीय र टी २० मा कप्तानी ब्रेकडाउन गर्ने निर्णय लिएको स्रोतले बतायो । जसअनुसार टी २० मा दिपेन्द्रसिंह ऐरीलाई कप्तान नियुक्त गरिएको छ । उनी यसअघि रोहितका उपकप्तान थिए । एक दिवसीय टिममा भने उनी अहिले पनि उपकप्तान नै छन् ।
कप्तानसँगै दुई स्क्वाडमा अरु पनि भारी फेरबदल गरिएको छ । रोहितसँगै अनुभवी खेलाडीहरु आसिफ शेख, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी टी २० स्क्वाडमा छुटेका छन् । हालै भएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेकाहरुलाई एक दिवसीय टीममा समेटिएको छ । जसअनुसार युवा ओपनर अर्जुन कुमालले एक दिवसीयमा स्थान बनाएका छन् । यस्तै, विनोद भण्डारीले पनि कमब्याक गरेका छन् ।
१५ सदस्यीय स्क्वाडमा ७ जना खेलाडी मात्रै दुवैतर्फ साझा छन् । दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, गुल्शन झा, नन्दन यादव र बसिर अहमद एकदिवसीय र टी २० दुवैमा परेका हुन् । कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, सहाब आलम र शेर मल्ल टी २० स्क्वाडमा मात्रै परेका छन् ।
हेमन्त धामीले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै सर्वाधिक विकेट लिएका थिए । यद्यपि, उनलाई एकदिवसीय टीममा नराखेर टी २०मा राखिएको छ । एकदिवसीय शैलीमा ब्याटिङ गर्ने अर्जुन साउदले पनि टी २० स्क्वाडमै स्थान बनाएका छन् । टी २० मा रिजर्भ खेलाडीका रूपमा प्रतिश जिसी, रसिद खान र नारायण जोशीलाई राखिएको छ ।
टी २० मा कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी तोडिने भएको छ । कुशललाई लोकेश बम वा अर्जुन साउदले साथ दिनुपर्ने हुन्छ । मध्यक्रममा कप्तान दिपेन्द्रसहित कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झाजस्ता आक्रामक ब्याट्सम्यानहरु रहनेछन् ।
टी २० तर्फ फास्ट बलिङको जिम्मेवारी नन्दन यादव र हेमन्त धामीले बोक्नुपर्ने हुन्छ । पार्टटाइम फास्ट बलरका रुपमा गुल्शन र आरिफ रहनेछन् । स्पिनरतर्फ सन्दीपलाई शेर मल्ल वा सहाब आलमले साथ दिनेछन् । पार्ट टाइम स्पिनरहरु दुवै तर्फ टोलीमा खचाखच रहेकाले कुनै चिन्ता छैन ।
एक दिवसीयमा कुशल र आसिफकै ओपनिङ जोडी कायम रहेको छ भने वैकल्पिक ओपनरमा अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । तेस्रो स्थान ‘एक दिवसीय विशेषज्ञ’ मानिएका भीम सार्कीले ओगट्ने छन् भने उनीपछि रोहित, दिपेन्द्र, आरिफ, बसिर, गुल्शन लगायत छन् । उनीहरू सबैले एकैपटक भने पालो नपाउन सक्छन् ।
एकदिवसीयमा नेपालको फास्ट बलिङ सोमपाल र करणको अनुभवी जोडीले धान्ने छ । विशेषज्ञ स्पिनरमा सन्दीप र ललित राजवंशी टिममा छन् । उनीहरुलाई दिपेन्द्र, कुशल, रोहित, बसिर लगायतले साथ दिन सक्छन् ।
अरु जेसुकै भए पनि रोहित पौडेल टी २० स्क्वाडमै छुट्नु चाहिँ आश्चर्य हो । उनी टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचीमा तेस्रो नम्बरमा छन् । दुवै फर्म्याटमा उनी नेपालका सबैभन्दा भरलाग्दा ब्याट्सम्यानका रूपमा चिनिन्छन् ।


