
बाजुरा—शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको भन्दै उक्त निर्देशन दिएको हो ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह समेत गरेको छ । कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानुनी भनेको छ ।
नियमको उल्लंघन गरे कारबाही गर्ने बडीमालिका नगरपालिकाको चेतावनी
यस्तै मन्त्रालयको पत्राचारपछि बाजुराको बडीमालिका नगरपालिकाले पनि एउटै विद्यालयमा एकपटक भर्ना भएका विद्यार्थीबाट पुनः भर्ना शुल्क नलिन निर्देशन दिएको छ भने उल्लंघन भए कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै मंगलबार बसेको १२ औं नगर कार्यपालिकाको बैठकले कानुनी व्यवस्था अनुसार संस्थागत विद्यालयहरूले १०–१५ प्रतिशत निःशुल्क शिक्षा (विपन्न, दलित, गरिब आदि लक्षित) अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको वडा नम्बर ७ का अध्यक्ष एवम् नगर प्रवक्ता धर्मराज पाध्याले जानकारी दिए । त्यस्तै बैठकले नगरपालिका र अन्तर्गतका कार्यालयमा खाजा समयमा पनि आलोपालो सेवा सञ्चालन गर्ने, विदा वा तालिममा जाँदा जिम्मेवारी हस्तान्तरण अनिवार्य गर्ने निर्णय भएको उनले बताए ।
यस्तै नगर कार्यपालिका बैठकले सुदूरपश्चिम प्रदेश, प्रदेश नीति तथा योजना आयोगको सूचनाअनुसार आर्थिक बर्ष २०८३/०८४ को लागि समपूरक तथा विशेष अनुदानतर्फका योजना तथा कार्यक्रमहरू २०८३ बैशाख १८ गतेभित्र विद्युतीय प्रणाली मार्फत पेश गर्ने निर्णय गरेको छ ।
त्यस्तै मार्तडी बजार क्षेत्रमा अव्यवस्थित पार्किङ नियन्त्रण गरी सार्वजनिक सवारी बाहेक अन्य सवारी बसपार्कमा पार्किङ गर्ने व्यवस्था गर्ने र निजी सवारीको पार्किङ स्वयम् धनीले व्यवस्थापन गर्ने र कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने निर्णय पनि गरेको नगर प्रवक्ता पाध्यायले बताए ।


