
गेग्राेरियन क्यालेन्डरमा अप्रिलको पहिलो दिनलाई विश्व मुर्ख दिवसका रूपमा मनाउने गरिएकाे छ । यस दिवसमा बिहानैदेखि विभिन्न बहानामा झुक्याउने, ढाँट्ने चलन संसारभर छ । नेपालमा पनि एकले अर्कालाई ढाँट्ने, झुक्याउने र ठट्टा गरी अप्रिल फुल मनाउने चलन केही वर्षयता फैलँदाे छ ।
यसक्रममा कहिलेकाहीँ अप्रिय घटनासमेत हुनसक्छ । सराेकारवालाहरू विपत्ति अनि मानिसको जिन्दगीसँग जोडेर ढाँट्ने वा झुक्याउने संस्कार नराम्राे भएकाले सबै सचेत हुनुपर्नेमा जाेड दिन्छन् ।
अप्रिल फुल किन मनाइन्छ, यसकाे कुनै विश्वसनीय कारणचाहिँ थाहा हुन सकेकाे छैन । बोस्टन युनिभर्सिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासनताका आजकै दिन कैदी एवम् अपराधीलाई एक दिनका लागि राज्य सञ्चालनको जिम्मेवारी दिइएको थियो । त्यसैकाे सम्झनामा वर्षैपिच्छे मुर्ख दिवस विश्वभर मनाउन थालिएको मान्यता छ ।


