
बाजुरा— हिमाली गाउँपालिका–३ गुम्बामा जडीबुटीजन्य बस्तुकाे प्रमाणीकरण (FairWild Certification) तथा दिगो वन व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जडीबुटी स्रोतको संरक्षण र दिगो उपयोग प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा २६ जना स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता चिन्डु फुल्सैन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नर बहादुर गुरुङले गरेका थिए, भने सहजिकरण तथा प्रशिक्षण फेकोफनका वन अधिकृत चेतराज जैशीले गरेका थिए । कार्यक्रममा जडीबुटीको दिगो संकलन, संरक्षण, वैज्ञानिक व्यवस्थापन तथा (FairWild Certification) तथा दिगो वन व्यवस्थापन सम्बन्धी का मापदण्डबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षण गर्दै त्यसबाट आर्थिक लाभ लिन सकिने उपायहरूबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले जडीबुटी स्रोतको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। हालसम्म बाजुरा जिल्लामा बन्यजन्य प्रमाणीकरण तथा दिगो वन व्यवस्थापन सम्बन्धी ७ वटा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् । जिल्लाको हिमाली गाउँपालिका, गौमुल गाउँपालिका तथा बुढीनन्दा नगरपालिकामा हिमाली जडीबुटी तथा दिगो व्यापार प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेका छन्। स्थानीय समुदायको सक्रिय सहभागिताले प्राकृतिक स्रोत संरक्षणसँगै दिगो जीविकोपार्जनमा सकारात्मक टेवा पुग्ने विश्वास लिइएको छ ।


