
टेक बहादुर बुढा—बाजुराको कोल्टी आधारभूत अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवा र भौतिक संरचना सुधारले मुहार फेरिदैँ गएको छ । जिल्लाको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी आधारभूत अस्पतालमा भौतिक संरचना विस्तार, उपकरण व्यवस्थापन र स्वास्थ्यकर्मीको उपलब्धतामा सुधार आएपछि सेवा प्रवाह प्रभावकारी बन्दै गएको स्थानिय महेश कार्कीले बताएका छन् ।
कुनै समय अहेबको भरमा सञ्चालन हुने अस्पताल अहिले चिकित्सकको नेतृत्वमा सञ्चालनमा रहेको छ । पहिला सामान्य स्वास्थ्य चेकजाँचका लागि समेत बाहिर जानुपर्ने बाध्यता भोग्दै आएका त्यस क्षेत्रका नागरिकहरु अहिले कोल्टीमै प्रभाबकारी सेवा पाउन थालेका छन् । पहिले त्यस क्षेत्रका बिरामीहरुले उपचारका लागि जिल्ला अस्पताल मार्तडी, धनगढी, नेपालगञ्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो । कोल्टीमा न उपयुक्त भौतिक संरचना नत जनशक्ति र औषधि उपकरणको उपलब्धता नै थियो, तर केही बर्षयता दुर्गम क्षेत्रमा पनि कोल्टी अस्पतालले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि अस्पतालको स्वरुप नै फेरिएको छ । हाल अस्पतालले आवश्यक सेवा विस्तार र व्यवस्थापन सुधार हुँदै जाँदा अहिले धेरै बिरामीले घर आगँनमै सहज सुलभ स्वास्थ्य उपचार पाउन थालेका छन् ।
कोल्टी अस्पतालका सूचना अधिकारी प्रेम नेपालीका अनुसार अहिले अस्पतालमा ओपिडी सेवा, नेत्र रोग सम्बन्धी सेवा, थाइराड, डेन्टल सेवा, प्रयोगशाला सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा तथा प्रसूति सेवा लगायतका सेवाहरु प्रवाह भइरहेका छन् । अस्पतालमा अहिले आइतबार, शुक्रवार एक सय बढी र अन्य दिन दैनिक ५०–६० जना बिरामी आउने गरेको सूचना अधिकारी नेपालीले बताए ।
प्रदेश सरकारले यसअघि नीति तथा कार्यक्रममार्फत कोल्टीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने घोषण समेत गरेको छ । हाल १५ शैय्या क्षमता राखेर स्तरउन्नती भए पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा नगरपालिकाले नै व्यहोर्ने गरेको नगर प्रमुख जनक बोहोराले बताएका छन् । बुढीनन्दा नगरपालिकाले स्वास्थ्य संस्था स्तरोन्नति/संचालन तथा व्यवस्थापन कार्यविधि पारित गरेर कोल्टी आधारभूत अस्पताल सञ्चालन गरिरहेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष पनि बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहरा छन् । उनले कोल्टी अस्पताल त्यस क्षेत्रका चार वटा पालिका सहित छिमेकी जिल्लाका जनताहरुको प्रमुख केन्द्रबिन्दु बनेको भन्दै अस्पतालमा थप विशेषज्ञ सेवासहित स्तरोन्नतिका लागि पहल भइरहेको बताएका छन् ।
अस्पतालमा विशेषज्ञ डाक्टर डा. रञ्जीत शाह सहित ३१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । कोल्टी अस्पतालमा बाजुरा सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका बिरामी समेत बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सेवाको गुणस्तर र स्वास्थ्य संस्थाप्रतिको विश्वासकै कारण अहिले बिरामीको रोजाइमा परेको अस्पताल प्रमुख एमडीजीपी डाक्टर रञ्जीत शाहले बताए । नगरपालिकाले पछिल्लो समय अस्पतालको सुविधा विस्तार, भौतिक संरचना विकास र सेवाको गुणस्तरमा विशेष ध्यान दिइरहेको छ, त्यही कुरालाई ध्यानमा राखेर आफैले समय बढी दिने गरेको डाक्टर शाहले बताए ।




