
रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।
सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताए । सडकबाट खसेको बस नदीमा डुबेको थियो ।
