
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वत: श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’ अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो ।

सब–अरैक्नोइड हेमरेज कति गम्भीर समस्या ?
सब–अरैक्नोइड हेमरेज मस्तिष्कमा हुने रक्तस्रावको अत्यन्तै गम्भीर र ज्यान जोखिममा पार्ने अवस्था मानिन्छ । यो अवस्था तब हुन्छ, जब मस्तिष्कको सतह र त्यसलाई ढाक्ने झिल्ली (अरैक्नोइड मेम्ब्रेन) बीचको स्थानमा अचानक रगत जम्न थाल्छ । चिकित्सकका अनुसार यो ब्रेन हेमरेजको सबैभन्दा खतरनाक प्रकारमध्ये एक हो, जसमा तुरुन्त उपचार नपाए मृत्युदर निकै उच्च हुन्छ ।
उपचारमा खटिएका चिकित्सकले जनाएअनुसार सिटौलालाई भएको समस्या पनि यही सब–अरैक्नोइड हेमरेज हो । अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्तै न्यून थियो र अवस्था नाजुक थियो । अझ चिन्ताजनक कुरा के भने, अस्पताल ल्याइनुअघि करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको थियो ।
त्यसपछि सीपीआरमार्फत मुटुको चाल फर्काइए पनि, यति लामो समयसम्म मुटुको चाल बन्द हुँदा मस्तिष्कमा अक्सिजन नपुग्ने भएकाले उपचारको नतिजा जटिल हुन सक्ने चिकित्सकले बताएका छन् । यस्तो अवस्थामा छिट्टै सुधार आउने सम्भावना सामान्यतया न्यून हुन्छ ।
सब–अरैक्नोइड हेमरेजको प्रमुख कारणमध्ये एक हो । मस्तिष्कको नसामा भएको एन्युरिज्म फुट्नु । एन्युरिज्म भनेको नसा अस्वाभाविक रूपमा फुल्नु हो । धेरैजसो मानिसमा यस्तो एन्युरिज्म पहिलेदेखि नै हुन सक्छ, तर कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लगाउन कठिन हुन्छ । अचानक रक्तचाप अत्यधिक बढ्नु, अत्यधिक तनाव, धूम्रपान, मदिरा सेवन वा केही अवस्थामा शारीरिक श्रमका कारण पनि एन्युरिज्म फुट्न सक्छ ।
यस रोगका लक्षण प्रायः अचानक र तीव्र रूपमा देखिन्छन् । जसमध्ये अत्यन्तै चर्को टाउको दुखाइ, वाकवाकी वा बान्ता,आँखा झिम्क्याउन गाह्रो हुनु, बेहोस हुनु वा झट्का लाग्नु प्रमुख हुन् । कतिपय अवस्थामा बिरामी एकाएक ढलेर बेहोस समेत हुन सक्छन् । यही कारणले यसलाई ‘थन्डरक्ल्याप हेडेक’ अर्थात् चट्याङ झैँ अचानक आउने टाउको दुखाइ पनि भनिन्छ ।
चिकित्सकका अनुसार यो रोग प्रायः ६० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ, तर पछिल्लो समय केही अवस्थामा कम उमेरका व्यक्तिमा पनि देखिन थालेको छ ।
उपचारका लागि बिरामीलाई तुरुन्तै सघन उपचार कक्षमा राखेर सीटी स्क्यान वा एमआरआईमार्फत रक्तस्रावको अवस्था पत्ता लगाइन्छ । एन्युरिज्म भएको पुष्टि भएमा शल्यक्रिया (क्लिपिङ) वा कोइलिङ जस्ता जटिल प्रक्रिया अपनाइन्छ । तर, प्रारम्भिक अवस्था अत्यन्तै गम्भीर भएकाले सबै केसमा अपेक्षित सुधार आउँछ नै भन्ने हुँदैन ।
