
बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार बसन्त पञ्चमी सरस्वती पूजाको अवसरमा विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा स्टोशनरी सामग्री वितरण गरिएको हो ।
विद्यालयको आयोजना, बडीमालिका फाउण्डेशन नेपालको समन्वय तथा सहकार्य र Nepali Heritage Charity Foudation of BC को सहयोगमा सामग्री वितरण गरिएको छ । विद्यालयकी प्रधानाध्यापक चन्द्रकला शाह सिंहले विपन्न तथा जेहेन्दार ४० जना विद्यार्थीहरुलाई स्टेशनरी, पोशाक र झोला वितरण गरिएको बताइन् । उनले सहयोगी संस्थालाई धन्यवाद दिँदै विद्यालयको शैक्षिक अवस्था तथा आफ्ना बालबालिकाहरुले गरेका गतिविधिहरुको बारेमा जानकारीका लागि दैनिक रुपमा अभिभावकहरुले उपस्थिति भइदिन आग्रह गरिन् ।
त्यस्तै कार्यक्रममा सहभागी अभिभावकहरुले विद्यालयको विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि सरकार, विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भइरहेको भन्दै अझै सुधारका लागि सबैले लाग्नु पर्नेमा जोड दिए ।
बडीमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाश सिंहले विद्यालयको सर्वांगीण सुधारका लागि संस्थाले विभिन्न व्यक्ति तथा निकायबा सहयोग गरी रहेको भन्दै आगामी दिनमा समेत सहयोग गर्न सदैव तत्पर रहेको बताए ।
त्यस्तै वडा अध्यक्ष मिन बहादुर सिंहले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै पालिका स्तरमै शीर्ष स्थानमा नतिजा प्रदर्शन गर्न सक्ने विद्यालयका रुपमा विकास गर्न आफू लागि परेको बताए । विगतको भन्दा अहिले सबैको महत्वपूर्ण योगदानले विद्यालयले उल्लेख्य रुपमा शैक्षिक गुणस्तर सुधार गर्न सफल भएको भन्दै आगामी दिनमा थप सुधारको अपेक्षा रहेको बताए ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्मर बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष मिन बहादुर सिंह रहेका थिए । त्यस्तै विशिष्ट अतिथि बडीमालिका फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश सिंह, विद्यालयका प्रधानाध्यापक चन्द्रकला शाह सिंह, अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षक अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक दिपेन्द्र सिंहले गरेका हुन् ।
