
टेक बहादुर बुढा– भौगोलिक रूपमा विकट, सञ्चार र पूर्वाधारको अभावले विविध समस्याका बिच बाजुराको जुगाडा स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रवाह गर्दै नमूना स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ । दुर्गम बस्ती, सीमित स्रोतसाधन, जनशक्ति र न्यून नागरिक चेतनाका बिच पनि स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएको हो ।
जिल्लाको पहिलो नगरपालिका बडीमालिका—२ भौनेरामा रहेको यस स्वास्थ्य चौकीले कर्मचारी, जनप्रतिनिधि र स्थानीय नागरिक समुदायको महत्वपूर्ण साथ सहयाेगकै कारण नमूना स्वास्थ्य संस्थाका रुपमा स्थापित छ । २०३१ सालमा स्थापना भएको उक्त स्वास्थ्य चौकीबाट दैनिक रुपमा स्वास्थ्य चोकजाँच तथा उपचार सेवा, गर्भवती तथा सुरक्षित सुत्केरी सेवा, किशोर–किशोरी मैत्री सेवा, खोप सेवा, सुरक्षित गर्भपतन सेवा, पोषण सम्बन्धी सेवा, प्रजनन स्वास्थ्य रुगणता सेवा, लैङ्गिक हिंसा सम्बन्धी सेवा, ल्याव सेवा, स्मार्ट हेल्थ सेवा, परिवार नियोजन लगायतका सेवाहरु प्रदान हुँदै आएका छन् ।
उक्त स्वास्थ्य चौकीमा हाल एक जना जनस्वास्थ्य निरीक्षक, अनमी ३, अहेव २, ल्याव एक, सुईपर एक र एक जना कार्यालय सहित दरबन्दी अनुसारकै कर्मचारीहरु कार्यरत रहेका छन् । सेवाको गुणस्तर र नियमितताका कारण पछिल्लो समय स्वास्थ्य चौकीमा सेवा लिन आउनेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ भने सेवा पनि प्रभावकारी बन्दै गएको छ । उक्त स्वास्थ्य चौकीमा दैनिक सहज र प्रभावकारी रुपमा गाउँमै स्वास्थ्य सेवाहरु उपलब्ध भइरहेकाले पनि त्याँहाका स्थानीय बासिन्दाहरु समेत खुसी छन् । आफूहरुको सेवा र स्वास्थ्य क्षेत्रको विकासका लागि जनप्रतिनिधि र स्वास्थ्य चौकी कर्मचारीहरुको दृढ लगनशीलता र निरन्तरता देखेर पनि सन्तोषजनक रहेको स्थानीयहरुको भनाइ रहेकाे छ । पहिले सामान्य चोकजाँच बाहेक राम्रोसँग उपचार हुदैन थियो तर अहिले उक्त वडासँगै अन्य वडाबाट पनि बिरामी आउने गरेका छन् भने केही बर्षयता स्वास्थ्य चौकीले सहज रुपमा प्रभावकारी सेवा प्रदान गरिरहेको उनीहरुले बताएका छन् । स्वास्थ्य चौकीमा अहिले दैनिक १५ जना भन्दा बढी बिरामी चेकजाँच तथा उपचारका लागि आउने गरेका छन् ।
जुगाडा स्वास्थ्य चौकीका ईन्चार्ज तिलकराज न्यौपानेले स्वास्थ्य सुधार गर्नुपर्छ भन्ने उदेश्यका साथ आफूहरु सहित स्थानीय सरकार, जनप्रतिनिधि र याँहाका नागरिकहरुको जिम्मेवारीमा कर्तव्यनिष्ठ र साथ सपोटले नै याँहासम्म पुगेको बताए । उनले भने,“यस वडाका अध्यक्ष नै व्यवस्थापन समिति अध्यक्ष हुँदा दैनिक बिरामी चेकजाँचसँगै अन्य कार्यक्रम सञ्चालन गर्न सहज भएको छ भने जनताको जनचाहनाअनुसार नै दिर्घकालीन रुपमा फाइदा हुने हिसावले काम गरिरहेका छौं ।” त्यस्तै उनले वडाको सहयोगमा स्वास्थ्य चौकीमा नियमित वृद्धि अनुगमन, कर्मचारी बैठक, स्वास्थ्य स्वयमसेविका र आमा समूहको मासिक बैठकमा खाजाको व्यवस्था छ भने समुदायको सक्रिय सभागीता र सहयोग भइरहेको बताए ।

सुत्केरी आमालाई २४ घण्टा स्वास्थ्यमै राख्ने पर्ने हुँदा अन्य अस्पतालले खानाको व्यवस्था गरेको हुदैन तर हामीले आमा र कुरुवालाई खानाको व्यवस्था गरेकाले सहज रुपमा याँहा बस्ने गरेको बताए । त्यस्तै स्वास्थ्य चौकी ईन्चार्ज न्यौपानेले अहिले औषधि उपकरण र जनशक्तिको त्यस्तो अभाव नभए पनि राष्ट्रिय प्रशारण लाइनको विद्युत आउने जान हुँदा सेवा प्रवाहमा केही समस्या भइरहेकोले ब्याकअपको व्यवस्था भए थप सहजता हुने बताए । स्वास्थ्य चौकीमा अनलाइनबाटै डाटा इन्ट्री गर्न इएचएमआइएस टेलि हेल्थ सेवा सुरु गरे पनि राम्रो इन्टरनेटको सुविधा नहुँदा पनि समस्या भइरहेको बताए ।
यस्तै, उक्त वडाका अध्यक्ष डम्बर महतले वडाबासीहरुको स्वास्थ्यमा सुधार ल्याउन वडाबाटै गर्न सकिने स–सानो सहयोग र बजेटको सदुपयोग र व्यवस्थापन गर्दै अहिले स्वास्थ्य चौकी राम्रो भएको बताए । उनले भने, “स्वास्थ्य सेवा विभागले गर्ने स्वास्थ्य संस्था न्युनतम गुणस्तर मापनका सूचकबारे आफूहरुले अभिमुखीकरणपछि हामीले पनि याँहा ती सूचक कार्यान्वयन गर्दै स्वमूल्यांकन गर्न थाल्यो, त्यसपछि कर्मचारी र हाम्रो तर्फबाट गर्नु पर्ने कामहरुको सुरुवात गरेर अहिले स्वास्थ्य चौकीलाई यो अवस्थासम्म पुर्याउन सफल भयौं ।” त्यस्तै स्वास्थ्य संस्था सुधारका लागि नियमित बैठक, छलफल, बार्षिक लेखा परिक्षण जस्ता काम गर्नाले त्यसबाट अब के गर्नु पर्छ भन्ने छलफल गर्दै योजना बनाउँछौ र त्यसै अनुसार काम गर्दा राम्रो बन्ने भन्दै कर्मचारीलाई प्रोत्साहनका लागि स्वमूल्यांकनमार्फत उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने अभ्यास समेत थालिएको वडा अध्यक्ष महतले बताए ।

त्यस्तै सीमित साधनस्रोत र विभिन्न समस्याका बाबजुद नियमित कर्मचारी उपस्थिति, स्वास्थ्यकर्मीको प्रतिबद्धता र समुदायसँगको सहकार्यले सेवा प्रभावकारी बनाउन सहयोग पुगेको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीले नियमित खोप अभियान, गर्भवती महिलाको अनुगमन, पोषण सुधार कार्यक्रम तथा हरेक महिनाको अन्तिम शुक्रवार विद्यालय स्वास्थ्य शिक्षा प्रदान जस्ता कार्यक्रम समेत सञ्चालन गर्दै आएपछि सेवा प्रभावकारीसँगै मातृ तथा शिशु मृत्युदर घटाउन पनि सकारात्मक योगदान पुगेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्य चौकीको तथ्यांकअनुसार चालू आर्थिक बर्षको हालसम्म एक हजार ४ सय ९४ जना बिरामीले सेवा लिएका छन् । त्यस्तै सोही अवधिमा ३ जनाले सुत्केरी सेवा, १६ जना बालबालिकाले नियमित वृद्धि अनुगमन गरिरहेका, १२ जनाले खोप सेवा पाइरहेका छन् भने ५ जना बालबालिकाहरुले पूर्ण खोप पाएको स्वास्थ्य चौकीले जनाएको छ ।
दुर्गम क्षेत्रमा पनि दृढ इच्छाशक्ति, सहकार्य र प्रतिबद्धता भए प्रभावकारी स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण जुगाडा स्वास्थ्य चौकीले दिएको छ । यसले बाजुराका अन्य दुर्गम बस्ती र स्वास्थ्य संस्थाका लागि पनि प्रेरणा प्रदान गरेको छ ।

