
बाजुरा— सुदूरपश्चिमेली मौलिक देउडा संगीतको स्वाद बोकेको नयाँ देउडा गीत “मन नबिग्रने गरी आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने यो कस्तो माया हो” सार्वजनिक गरिएको छ। प्रेम, विश्वास र मनको आत्मीय सम्बन्धलाई देउडाको मौलिक लयमा प्रस्तुत गरिएको यस गीतले देउडा पारखी दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।
गीतमा देउडा क्षेत्रका चर्चित गायक लोक राज सिंह ठकुरी र प्रतिभाशाली गायिका रोशनी रोकायाको सुमधुर स्वर सुन्न सकिन्छ। दुवै कलाकारको आवाजले गीतलाई अझ भावनात्मक र जीवन्त बनाउँदै प्रेमको शुद्ध भावलाई श्रोतासम्म पुर्याएको छ।
गीतको संगीत संयोजन तथा रेकर्डिङ दुर दर्पन लाइभ स्टुडीयाेको म्युजिसियन टिमले गरेको हो। सुदूरपश्चिमेली देउडा संस्कृतिको मौलिकता जोगाउँदै आधुनिक स्वाद मिसाइएको यस गीतले पुराना र नयाँ दुवै पुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
निर्माण टिमका अनुसार गीतले मन नबिग्रने, आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने प्रेमको गहिरो अनुभूतिलाई उजागर गर्छ। सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
देउडा संगीतप्रेमीहरूका लागि यो गीत अवश्य पनि प्लेलिस्टमा राख्नैपर्ने नयाँ सिर्जना बन्ने विश्वास गरिएको छ। निर्माण टिमले सबैलाई गीत हेर्न, सुन्न र शेयर गर्न आग्रह गरेको छ।
