शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • क्रिकेट
  • जितको यात्रा कायम राख्ने लक्ष्यमा चितवन, पहिलो संस्करणको नतिजा भुलाउन चाहन्छ लुम्बिनी

जितको यात्रा कायम राख्ने लक्ष्यमा चितवन, पहिलो संस्करणको नतिजा भुलाउन चाहन्छ लुम्बिनी

  • बिहिबार, मंसिर ५, २०८२
जितको यात्रा कायम राख्ने लक्ष्यमा चितवन, पहिलो संस्करणको नतिजा भुलाउन चाहन्छ लुम्बिनी

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेल चलिरहेका छन्। दोस्रो संस्करणमा ७ वटा टिमले आफ्नो पहिलो खेल खेलिसकेका छन्। लुम्बिनी लायन्सले दोस्रो संस्करणमा आज पहिलो खेल खेल्दैछ।

त्रिवि क्रिकेट स्टेडियममा दिउँसो ४ बजे लुम्बिनी लायन्स र चितवन राइनोज भिड्ने छन्। लुम्बिनी लायन्स दोस्रो संस्करणको पहिलो खेल खेल्दैछ भने चितवन राइनोज दोस्रो संस्करणको दोस्रो खेल खेल्दैछ।

दोस्रो संस्करणको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै जित निकालेको थियो।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो संस्करणको नतिजा बिर्सन चाहन्छ। लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक टिनु योहानान्न यस पटक टिमलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छन्। नेपाली र विदेशी खेलाडीको समीश्रणसहित टिमलाई पुरानो नतिजाबाट बाहिर ल्याउन लुम्बिनी लायन्सले टिनुलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिएको हो।

यता कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजले पहिलो खेलमा निकालेको जितको यात्रा कायम गर्न चाहन्छ। पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै चितवनले सिजन सकेको थियो। यसपटक सोभन्दा माथिको नतिजा ल्याउन चाहन्छ। चितवन राइनोजका मुख्य प्रशिक्षक कलाम अलि हुन्। गत वर्ष बलिङ प्रशिक्षकको रूपमा चितवन राइनोजमा जोडिएका कलाम अली यस वर्ष प्रमुख प्रशिक्षकको भूमिकामा छन्। उनले पहिलो खेलबाट आफ्नो रणनीतिक चाल सफल बनाइसकेका छन्।

चितवन र लुम्बिनीको खेलमा नेपाली र भारतीय प्रशिक्षकको रणनीतिक प्रतिस्पर्धा हुनेछ। मैदानमा खेलाडीले खेले पनि रणनीतिमा नेपालका प्रशिक्षक र भारतीय प्रशिक्षकको प्रशिक्षण हुनेछ।

पहिलो संस्करणमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई लिग चरणको खेलमा ३३ रनले हराएको थियो। पहिलो संस्करणको लिग चरणको खेलको नतिजा लुम्बिनीको पक्षमा परेको थियो।

पहिलो संस्करणको नतिजा बिर्सन चाहन्छ लुम्बिनी
पहिलो संस्करणमा लिग चरणबाट सबैभन्दा पहिले बाहिरिएको टिम हो, लुम्बिनी लायन्स। राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स गत संस्करणको चोट भुलाउन पनि पहिलो खेलबाट सकारात्मक नतिजा चाहन्छ।

पहिलो संस्करणमा पूर्वराष्ट्रिय टिमका सहायक प्रशिक्षक नन्दन फाड्निसको प्रशिक्षणमा रहेको लुम्बिनी लायन्सले सकारात्मक नतिजा ल्याउन नसकेपछि दोस्रो संस्करणमा मुख्य प्रशिक्षक र रणनीति दुवै परिवर्तन गरी मैदानमा उत्रनेछ।

लुम्बिनी लायन्सले पहिलो संस्करणबाट मार्की खेलाडी तथा कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, तिलक भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको थियो।

यस्तै विवेककुमार यादवलाई पनि लुम्बिनी लायन्सले रिटेन गरेको थियो। तर मोटरसाइकल दुर्घटनामा घुँडामा चोट लागेपछि विवेकलाई प्रतिस्थापन गर्दै सुमित महर्जनले दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्सबाट खेल्नेछन्। दोस्रो संस्करणको एनपीएलमा अनसोल्ड रहेका सुमितले विवेकलाई प्रतिस्थापन गर्नेछन्।

दोस्रो संस्करणका लागि भएको अक्सनबाट लुम्बिनी लायन्सले शेर मल्ल, दिलीप नाथ, विशाल पटेल, दुर्गेश गुप्ता र आदिल खानलाई अनुबन्ध गरेको थियो।

पहिलो संस्करणमा शेर मल्लले जनकपुर बोल्ट्सका लागि खेलेका थिए। पहिलो संस्करणमा दिलीप नाथले पोखरा एभेन्जर्सको लागि खेलेका थिए। दुर्गेश गुप्ता पहिलो संस्करणमा पनि लुम्बिनी लायन्सकै हिस्सा थिए।

लायन्सले दोस्रो संस्करणको एनपीएलका लागि ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसमा डार्सी सर्ट, रोबिन ट्रम्पलमेन, गुल्बदिन नैब, जे जे स्मिथ, थोमस ज्याक डार्सा लुम्बिनी लायन्सले दोस्रो संस्करणको लागि अनुबन्ध गरेको हो।

लुम्बिनी लायन्सको सहयोग प्रशिक्षकको रूपमा शक्ति गौचन रहेका छन्।

लुम्बिनीका लागि यो संस्करण केही फरक हुनसक्छ। जसमा विदेशी खेलाडीमा धेरै बलिङ पक्ष बलियो बनाउने तरिकाले खेलाडी अनुबन्ध गरिएको छ। नेपाली खेलाडीमा ब्याटिङ पक्षमा रोहितकुमार पौडेलले नेतृत्व गर्नेछन्। यसमा सन्दिप जोरा अर्को महत्त्वपूर्ण पक्ष हुनेछन् भने शेर मल्लको साथ लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा पाउनेछ।

बलिङ पक्षमा स्पिनतर्फ तिलक भण्डारी, शेर मल्ल, खेलाडी अभिशेष गौतम पनि निकै प्रतिभाशाली खेलाडी हुन्।

तीव्र गतिको बलिङमा बायाँ हाते बलर दुर्गेश गुप्ता महत्त्वपूर्ण हुन सक्छन्। उनले पहिलो संस्करणको धेरै खेल खेल्न नपाए पनि खेलेको खेलमा राम्रो प्रदर्शन गरेका थिए। विशाल पटेल अर्को महत्त्वपूर्ण नाम हुन्। उनले प्रधानमन्त्री कप तथा घरेलु प्रतियोगितामा देखाएको प्रदर्शन तारिफ योग्य छ। नेपाली बलरभन्दा धेरै लुम्बिनीले विदेशी खेलाडीलाई नै बलिङमा प्राथमिकता दिनेछ।

यसमा कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक टिनु योहानन्नले खेलाडीलाई कसरी प्रयोग गर्नेछन् भन्ने यो खेलमा थाहा हुनेछ।

प्लेअर टु वाच नेपाली
सन्दिप जोरा
एनपीएलभन्दा अगाडि खेलिएको हङकङ सिक्सेसमा कप्तानको भूमिका निर्वाह गरिसकेका सन्दिप जोराले नेपालका लागि उत्कृष्ट पारी खेलेका थिए। उनी राम्रो फर्ममा रहेका छन्। आक्रमक स्वभावको ब्याटिङ गर्न सन्दीप निकै माहिर छन्। त्यसका कारण पनि लुम्बिनीका लागि एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा सन्दिप जोरा प्लेअर टु वाच हुन्।

रोहित कुमार पौडेल
नेपाली राष्ट्रिय टिमका कप्तान रहेका रोहित कुमार पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स रहेको छ। गत संस्करणको नतिजा भुलाउन पनि रोहितले महत्त्वपूर्ण इनिङ्स खेल्नुपर्ने हुन्छ। त्यसैका लागि रोहित लुम्बिनी लायन्सका लागि एनपीएल सिजन २ को पहिलो खेलमा प्लेअर टु वाच हुन्।

प्लेअर टु वाच विदेशी
रुबिन ट्रम्पलमेन
नामिबियन बायाँ हाते बलर रुबिन ट्रम्पलमेन लुम्बिनीका लागि पहिलो खेलमा प्लेअर टु वाच हुन्। नामिबियाका लागि ४४ वटा टि–२० अन्तर्राष्ट्रियमा ४० वटा इनिङ्स खेल्दै ४९ विकेट लिएका बलर हुन् रुबेन ट्रम्पलमेन। उनी तल्लोक्रममा आएर आक्रमक ब्याटिङ पनि गर्न सक्ने क्षमता राख्दछन्। त्यसैले लुम्बिनीका लागि उनी महत्त्वपूर्ण खेलाडी हुन्।।

जेजे स्मिथ
जे जे स्मित नामीबियन बलिङ अलराउन्डर हुन्। उनले नामिबियाका लागि ६७ टी–२० अन्तर्राष्ट्रियमा ४७ खेल्दै ६६ विकेट लिएका छन्। त्यस्तै ब्याटिङतर्फ पनि उनले टी–२० अन्तर्राष्ट्रियमा ५७ वटा इनिङ्स खेल्दै ११८९ रन बनाएका छन्। उनको टी–२० अन्तर्राष्ट्रियमा १११ मा अविजित पारी सर्वाधिक रन हो। उनले यो इनिङमा केन्याविरुद्ध २०२५ मा हरारेमा बनाएका थिए। लुम्बिनीमा अनुबन्ध भएका उनी पहिलो खेलमा प्लेअर टु वाच हुन्।

चितवन चाहन्छ जितको लय
पहिलो खेलमा कर्णालीलाई जितिसकेपछि चितवनको आत्मविश्वास बलियो छ। पहिलो खेलको नतिजा हेर्ने हो भने चितवनका लागि ब्याटिङले राम्रो प्रदर्शन गरेको हो। चितवनको ब्याटिङतर्फ विदेशी खेलाडी चले, जसमा रवि बोपारा र सैफ जैबले राम्रो प्रदर्शन गरे। बलिङतर्फ सोहिल तानवीर पहिलो संस्करणमा जस्तो हावी हुन सकेनन्। यद्यपि उनको बलिङ सन्तोषजनक नै रह्यो। चितवनका लागि ओपनिङमा आएका युवा खेलाडी दीपक बोहोराको प्रदर्शन नेपाली खेलाडीको ब्याटिङ तर्फ यादगार रह्यो। पहिलो खेलमा कप्तान कुशल मल्लले पनि सम्हालिएको पारी खेल्ने प्रयास गरे।

पहिलो खेलमा कर्णालीलाई १६६ मा रोकेको चितवनले बलिङबाट मिडल अर्डरमा निकै राम्रो प्रदर्शन गरेको थियो।

चितवनको टिम नेपाली र विदेशी खेलाडीहरूको सन्तुलन मिलेको टिम जस्तो देखिन्छ। ओपनिङमा आएका दीपक बोहराले ब्याटिङमा गरेको स्टेप अफले युवा खेलाडीलाई पनि उत्तिकै महत्व दिएको देखियो। विदेशी खेलाडीमा रवि बोपारा पहिलो संस्करणमा जस्तै महत्त्वपूर्ण बने। सैफ जैबले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका लागि महत्त्वपूर्ण इनिङ्सहरू खेलेका थिए। उनको छवि बलियो छ। जसको छाप पहिलो खेलमा चितवनको लागि पनि देखियो।

प्लेअर टु वाच नेपाली
दीपक बोहोरा
पहिलो खेलमा दीपकले देखाएको प्रदर्शनका कारण दोस्रो खेलमा पनि दीपक बोहरा चितवनको लागि प्लेअर टु वाच हुन्। युवा खेलाडी दीपक बोहोराले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध बलमा ६ चौका र १ छक्कासहित ४२ रनको पारी खेलेका थिए। पहिलो खेलमा देखाएको उनको प्रदर्शनका कारण दोस्रो खेलमा पनि चितवन उनीमाथि विश्वास गर्न सक्छ।

कुशल मल्ल
कप्तान कुशल मल्ल आक्रमक स्वभावको ब्याटिङ गर्न मन पराउने व्यक्ति हुन्। तर पहिलो खेलमा सुरुवाती दुई विकेट छिटै पतन हुँदा उनले टिमका लागि सम्हालिएको पारी खेले। कुशलले गतवर्षहरु भन्दा आफ्नो खेल परिस्कृत गरेका छन्। उनले पहिलो खेलमा टिमका लागि २० रन बनाए। उनले रवि बोपारासँग साझेदारी बनाउँदै टिमलाई अगाडि लिएर गएका थिए। त्यस कारण उनी दोस्रो खेलमा पनि प्लेअर टु वाच हुन्।

प्लेअर टु वाच विदेशी
रवि बोपारा
पहिलो संस्करणमा सनसनी मचाएका खेलाडी हुन् रवि बोपारा। दोस्रो संस्करणको पहिलो खेलमा पनि उनले आफ्नो छवि त्यसै बनेको होइन भन्ने प्रमाणित गरे। चितवनको लागि पहिलो खेलमा ५२ रनको अर्धशतकीय पारीसहित उनले बलिङमा पनि ३ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिएका छन्। उनको यो प्रदर्शन पश्चात दोस्रो खेलमा पनि रवि बोपारा चितवनको लागि प्लेअर टु वाच हुन्।

सैफ जैब
पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका लागि महत्त्वपूर्ण खेलाडी रहेका सैफ जैब यस संस्करणमा चितवनमा अनुबन्ध भएका छन्। उनले आफ्नो अनुबन्धताको भान चितवनलाई गराइसकेका छन्। पहिलो खेलमा उनले बलिङ र ब्याटिङमा अलराउन्ड प्रदर्शन गरेका थिए। जसका कारण दोस्रो खेलमा पनि लुम्बिनीको टाउको दुखाई बन्न सक्छन्।

लुम्बिनी लायन्सको टिम
रोहित कुमार पौडेल(कप्तान), सन्दीप जोरा, सुमित महर्जन, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, अभिशेस गौतम, दिनेश अधिकारी, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समीर अली, डार्सी सर्ट, रुबिन ट्रम्पलमेन, गुल्बदिन नैब, थोमस ज्याक डार्सा, जे जे स्मिथ
प्रमुख प्रशिक्षकः टिनु योहानान्न

चितवन राइनोजको टिम
कुशल मल्ल (कप्तान), रिजन ढकाल, विपिन रावल, दिपक बोहोरा, अमर सिंह रौटेला, रञ्जित कुमार, गौतम केसी, कमल सिंह ऐरी, देव खनाल, अजुर्न साउद, विपिन आचार्य, सौगात ढकाल, रबि बोपारा, सोहिल तान्भिर, सैफ जैब, डविड मलान, अल्पेश रमजानी
प्रमुख प्रशिक्षकः कलाम अली

चर्चामा

सम्बन्धित समाचार