
काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको ‘मानवता विरुद्धको अपराध’ को मुद्दामा अदालतले दोषी ठहर गरेको छ। गत वर्ष बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको अदालतको ठहर छ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ।
न्यायाधीश गुलाम मुर्तजा नेतृत्वको तीन सदस्यीय इजलासले प्रदर्शन दबाउन हसिनाले बम र घातक हतियार प्रयोग गर्न आदेश दिएको ठहर गरेको छ। उनले ड्रोन, हेलिकोप्टर र घातक हतियारहरूको प्रयोगको आदेश दिएर मानवता विरुद्धको अर्को अपराध गरेको अदालतले ठहर गरेको छ। फैसला सुनाउने क्रम जारी छ।
अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमलविरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ। यसैबीच, अदालतले फैसला आउनुअघि न्यायाधिकरणमा सुरक्षा बढाउन सेना तैनाथ गर्न अनुरोध गर्दै सेना मुख्यालयलाई पत्र लेखेको थियो। बंगलादेशको टेलिभिजन (BTV) ले फैसलाको प्रत्यक्ष प्रसारण गरिरहेको छ। हसिना हाल भारतमा बस्दै आएकी छिन्।
