
काठमाडौँ– सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । हर्मीतले यसअघि पनि सुदूरपश्चिमबाट पहिलो संस्करण खेलेका थिए र पाँच खेलमा आठ विकेट लिएका थिए । उनी सो सिजनमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी बनेका थिए ।
आफ्नो अनुबन्धपछि खुशी व्यक्त गर्दै उनले भने, “म फेरि नेपाल प्रिमियर लिगमा फर्किँदै छु। गत सिजनको अधुरो काम यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।” सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बनेको बताए । उनले भने, “हर्मीतबाट गत सिजनजस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।”
३२ वर्षीय हर्मीत बाँयाहाते बलर र ब्याट्सम्यान हुन्। उनले अमेरिकाका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट र २३५ रन बनाएका छन्। एकदिवसीयमा उनले २१ खेलमा ३१ विकेट र ३२५ रन जोडेका छन्। स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए र आईपीएलमा राजस्थान रोयल्सका लागि समेत खेलेका छन्।
सुदूरपश्चिम रोयल्सले यस सिजनका लागि बलियो टोली घोषणा गरेको छ। टोलीमा कप्तान दिपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह रहेका छन्। सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमटा हुन्।
