शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

बुढीगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

  • शनिबार, कार्तिक २, २०८२
बुढीगंगा नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाले अस्थायी तथा करार र ज्यालादारी कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ । ४९ औं नगर कार्यपालिकाको बैठकबाट पालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत १ सय २० जना करार कर्मचारीहरु कार्तिक १ गतेबाट लागू हुने गरी म्याद थप नगर्ने निर्णय गरेको हो ।

संघ सरकारको परिपत्र तथा सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ मा व्यवस्था भए बमोजिम करार कर्मचारी हटाउने निर्णय गरिएको जनाएको छ । उक्त ऐनमा स्थानीय तहहरुले करार तथा ज्यालादारी कर्मचारी राख्न नपाउने उल्लेख छ भने यसअघि नै ऐन प्रदेश सभाबाट पारित भएर लागू समेत भइसकेको छ ।

बुढीगंगाका नगर प्रमुख राम बहादुर बानियाँले करार कर्मचारी हटाउने निर्णय भएसँगै यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य संस्थामा देखिने बताए । नगरपालिका भित्रका धेरै जसो स्वास्थ्य संस्थामा बढी करार कर्मचारी कार्यरत छन् भने अब पालिकाले म्याद थप नगर्ने भएपछि सेवा प्रवाहमा केही समस्या हुने देखिन्छ । यस्तै नगर प्रमुख बानियाँले अहिले सबै ठाउँमा भएका स्थायी कर्मचारीबाट सेवा प्रवाह हुने र लगत्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण पारित गरी आवश्यकताका आधारमा विज्ञापन गरिने बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्‌नो कार्यबोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकतालाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्रै संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी प्रकृतिको कामको लागि आवश्यक पर्ने तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दीको प्रस्ताव तयार गर्न सकिने उल्लेख छ । त्यस्तै तयार गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सभाबाट स्वीकृत गराउनु पर्ने र त्यसपछि मात्रै विज्ञापनमार्फत कर्मचारी राख्न पाउने जनाएको छ ।
केही समय अघि विकास कचहरी आयोजना गरेर स्थानीय स्तरबाटै स्थानीय तहलाई विकासको गति दिन सकिन्छ भनेर सन्देश दिएको नगरपालिकाले यसपटक अस्थायी करार र ज्यालादारी कर्मचारी हटाएर ठुलो आर्थिक भार पनि कम गरेको छ ।

हेर्नुस् हटाइएका शाखागत कर्मचारी विवरण ।
No description available.

चर्चामा

सम्बन्धित समाचार