
बाजुरा– बुढीगंगा नगरपालिकाले आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै सोमबार पालिका भित्रका विभिन्न बजार क्षेत्रको अनुगमन गरेको छ । पर्वको अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु बिक्री वितरण हुन नदिनका लागि नगरपालिकाले अनुगमन गरिएको हो ।
अनुगमन टोलीको नेतृत्व बुढीगंगा नगरपालिकाकी उप–प्रमुख माया खड्का (कुँवर) को संयोजकमा नगरपालिकाको कार्यक्षेत्र अन्तर्गत पर्ने डाब बजार, मालिका बजार, बेतालमाण्डौं, रिठा बजार, बाक्का बजार लगाएतका बजारमा अनुगमन गरेको बताइएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा अनुगमन टोलीका सदस्य विष्णु प्रसाद जैशीका अनुसार, बजारमा रहेका म्याद गुज्रेका अखाद्य वस्तु, अवैध भारतीय सुर्ती, चाउचाउ, बिस्कुट, चकलेट र चिउरा जस्ता सामग्री बरामद गरी नष्ट गरिएको छ ।
बुढीगंगा नगरपालिका क्षेत्र भित्र संचालन गरिएका होटेल, पसल मेडिकल लगाएत अन्य पसलहरुमा मूल्य सूची राखिएको छ/छैन, व्यवसाय दर्ता गरिएको छ/छैन, बिल काट्ने अभ्यास छ कि छैन भन्ने कुराहरूको पनि स्थलगत निरीक्षण गरिएको अनुगन संयोजक नगरउपप्रमुख माया खड्का कुवरले बताईन ।
अनुगमनका क्रममा दर्ता नभएका व्यवसायीहरूलाई तात्काल दर्ता प्रक्रिया पूरा गर्न, सबै पसलमा मूल्यसूची अनिवार्य राख्न, र दैनिक कारोबारको बिल काट्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
नगर उप–प्रमुख खड्काले अनुगमनको उद्देश्य “स्थानीय उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण” रहेको बताउँदै बजारमा अनियमितता पत्ता लागेमा कडा कारवाही गर्ने बताईन ।
यस्तै, स्वास्थ्य शाखा प्रमुख जैशीले जिल्लाका मुख्य बजारहरू — मार्तडी, कोल्टी र बाम्कामा पनि आगामी दिनमा जिल्ला प्रशासन कार्यालय बाजुरा र स्थानीय तहको समन्वयमा नियमित अनुगमन आवश्यक रहेको सुझाव दिएका छन ।
