शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • प्रवास
  • पोर्चुगलबाट दशैं मनाउन हिँडेका नेपालीको आवास अनुमतिपत्र एयरपोर्टमै खारेज

पोर्चुगलबाट दशैं मनाउन हिँडेका नेपालीको आवास अनुमतिपत्र एयरपोर्टमै खारेज

  • बिहिबार, अशोज २, २०८२
पोर्चुगलबाट दशैं मनाउन हिँडेका नेपालीको आवास अनुमतिपत्र एयरपोर्टमै खारेज

बुधवार स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर यहाँको नेपाली समुदायमा र सामाजिक सञ्जालमा सन्सनीपूर्ण खबर फैलियो– नेपाल फर्कदै गरेकाहरुको अस्थायी/स्थायी आवास अनुमतीपत्र पोर्चुगल सरकारले एयरपोर्टमै खारेज गरिदियो । दशैंका लागि नेपाल फर्कन लागेका र आजभोलिमै जाने तयारीमा रहेका सयौं नेपालीहरुमा यो खबरले त्रास फैलियो । धेरैले यसलाई ‘फेक न्युज’भनेर पन्छाइरहेको समयमा गैरआवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन–एनसीसी) पोर्चुगलले यस घटनाको पुष्टि गरेको छ ।

बुधवार मात्रै पोर्चुगलको राजधानी लिस्वनस्थित एयरपोर्टबाट १२ जना आप्रवासीहरुलाई पोर्चुगलको आवास अनुमति पत्र लिएर देश बाहिर जान रोक लगाएको हो । त्यसमा केही नेपाली समेत परेका छन् । उनीहरुलाई यहाँका अध्यागमनका अधिकारीहरुले अनाधिकृत रुपमा पोर्चुगल प्रवेश गरेर आवास अनुमतिपत्र बनाएको आरोप लगाएका छन् ।

सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसा नभई पोर्चुगल प्रवेश गरेका र यहाँको आवास अनुमतिपत्र बनाएका आप्रवासीहरुको उक्त अनुमतिपत्र खारेजीको लागि प्रक्रियामा हालिदिएको बुझिएको छ । पोर्चुगलमा रहेका दुई एनआरएनमध्ये एकका अध्यक्ष दीपा काफ्लेका अनुसार यही समस्यामा परेको एक जना नेपाली सम्पर्कमा आएका छन् ।

सन् २०२२ मा युकेबाट पोर्चुगल प्रवेश गरेका ती नेपाली यहाँको आवास अनुमतिपत्र लिएर बुधवार नेपाल जाँदै थिए । तर सेङ्गेन क्षेत्रमा पर्ने देशको भिसाविना पोर्चुगलमा बसेको र यहाँको आवास अनुमति प्राप्त गरेको भन्दै उनलाई अध्यागमनका अधिकृतहरुले एयरपोर्टमा रोकेका थिए ।

उनले प्राप्त गरेको अस्थायी आवास अनुमतीपत्रलाई अवैध भनेसँगै यहाँ रहेका अरु आप्रवासीहरु पनि अन्यौलमा परेका छन् । यहाँ रहेका प्राय: आप्रवासीहरु अवैध तरिकाले प्रवेश गरेका छन् ।

डेढ वर्षअघिसम्म जुनसुकै देशबाट जुन कुनै हालतमा यहाँ आइपुगे पनि कागजी प्रक्रिया सुरु गर्न सक्ने र बढीमा १२ महिनाको कर तिरेपछि कामदारका रुपमा अस्थायी आवास अनुमतिपत्र प्राप्त गर्न सकिने कानूनी प्रावधान थियो । धेरै आप्रवासीहरुले यसैगरी यहाँको आवास अनुमतिपत्र लिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार