
बाजुरा—जिल्ला प्रशासन कार्यालय बाजुराले आज बेलुकी ५ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । प्रशासनले सूचना जारी गर्दै भदौ २७ गते अर्थात आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जिल्लामा शान्ति सुव्यवस्था कायम गरी जनजीवनलाई सामान्य बनाउन भदौ २५ गते बिहान ११ बजेदेखि लगाइएको कर्फ्युलाई क्रमश खुकुलो बनाइएको बताए । यहीँ भदौ २३ र २४ गते देशभर जेनजी युवाहरुको आन्दोलनको घटना पश्चात् उत्पन्न असहज परिस्थितलाई मध्यनजर गर्दै लगाइएको कर्फ्युलाई खुकुलो बनाइएको प्रजिअ पौडेलले बताए । त्यस्तै उनका अनुसार जिल्लामा कर्फ्यु हटेपनि निषेधाज्ञा भने जारी गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ देखि बेलुकी ५ बजेसम्म भने निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कार्यको लागि आवतजावत गर्न आज बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि साँझ ७ बजेसम्मको समय तोकिएको छ ।
त्यस्तै, निषेधाज्ञाका क्रममा अत्यावश्यक सेवाहरु–एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन, खाद्यान्न तथा औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । अत्यावश्यक कार्यका लागि छुट्याइएको समय बाहेक निषेधाज्ञाको समयमा धर्ना, जुलुस, प्रदर्शन लगायतका कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।
त्यसैगरी, प्रशासन कार्यालयले जिल्लाभर कर्फ्यु खुकुलो बनाएसँगै जिल्ला सदरमुकाम मार्तडी लगायतका मुख्य बजारहरुमा चहलपहल बढेको छ भने जनजीवन सामान्य बन्दै गएको छ ।
