
मेरा बा
हिमालजस्तै अटल,
तर मन भने फूलजस्तै कोमल,
जीवनको बाटोमा आँधी हुरी सहेर पनि,
सन्तानलाई छायाँ दिएर मुस्कुराउने अमर अदम्य बल।
मेरा बा
नदीजस्तै निरन्तर बगिरहने,
कहिल्यै नथाक्ने
आफ्नो दुःख मुटुमा लुकाएर,
हाम्रो सपनामा उज्यालो छर्ने।
मेरा बा
किताबजस्तै गहिरा,
शब्दमा होइन कर्ममै लेखिएका
ईमान, श्रम र माया भन्ने अक्षर,
उनकै जीवनबाट पढिएका।
मेरा बा
घाम र जून दुवै,
दिनमा उज्यालो, रातमा शीतलता
उनकै अनुहारमा देख्छु म भगवान,
उनकै आवाजमा सुन्छु देशको गरिमा।
यदि म सँग गौरव छ भने,
त्यो मेरो बा कै पसिना हो
यदि म सँग आशा छ भने,
त्यो मेरो बा कै प्रार्थना हो।
मेरा बा
मेरो श्वास, मेरो शक्ति,
मेरो जीवनको पहिलो कविता
मेरा बा नै हुन्।
