
टेक बहादुर बुढा—बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले केही महिना पहिला जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भयो । बचाउने प्रयास गर्दा पनि बालिकाको मृत्यु भएको जिल्ला अस्पतालका डाक्टरले बताएका छन् । अस्पतालका तत्कालीन डा. प्रकाश बुढाले भने, हामीले रिफर गर्न खोजेका थियौ, तर उनीहरुको आर्थिक अवस्था कमजोर र बच्चा पनि सिकिस्त भएकाले अन्यन्त्र लिन सकिएन् ।
त्यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ को मुक्तिकोटमा कुपोषणका कारणले २ जना बच्चाले ज्यान गुमाए । मुक्तिकोट आधारभुक्त स्वास्थ्य केन्द्रका अहेब बिर्ज बिकका अनुसार रुपसरा न्याउपाने १६ महिनाका सन्तोष न्याउपाने मृत्यु भएको थियो, त्यस्तै डुमली विक कि छोरी १७ महिनाकी जमुना विक मृत्यु भयो । गत बर्ष मात्र कुपोषणले सोहि गाउँमा ६ जना वालवालिकाको मृत्यु भएको थियो ।
२ जना बालबालिकाको मृत्यु भइसकेको छ । मुक्तिकोट गाउँमा २५ जना वालवालिका कुपोषणको चपेटामा रहेका छन् । जसमा ११ जना सिघ्र कुपोषित रहेको बिर्जले बताएका छन् । ३ जना वालवालिकाको मृत्यु भएपनि आधिकारी तथ्याङ्क राख्ने स्वास्थ्य कार्यलय सँग भने एक जना पनि मृत्यु नभएको पाइएको छ । कार्यालयका तथ्याङ्क अधिकृत रुगम थापाका अनुसार कार्यालयको रेकर्डमा मृत्यु नभएको बताए ।
बाजुरामा धेरै बालबालिका कडा कुपोषणको चपेटमा रहेका छन् । धेरै बालबलिकाको मृत्यु हुने गरेको छ । यि त कुपोषणले थला परेका बालबालिकाहरुका प्रतिनिधि मुलक घटना मात्रै हुन् । हरेक गाउँमा मसिनो गरेर हेर्ने हो भने कुपोषण नभएको टोल भेटिन बाजुरामा मुष्किल छ । नेपालको पोषण सम्बन्धी राष्ट्रिय नीतिले सन २०२५ सम्म नेपालमा कुपोषणको दर सुन्यमा झार्ने योजना रहेको छ । सरकरी तथा गैरसरकारी तवरबाट विभिन्न किसिमका काम भएपनि यहाँका बालबालिकामा भएको अवस्थाले राष्ट्रिय लक्ष्य पुरा गर्नमा निकै चुनौती हुने स्वास्थ्यकर्मी बताँउछन । भौगोलिक विकटता, गरिबि, स्वास्थ्यको पहुँच, हेरचाह नै मुख्य कुपोषणको कारण रहेका छन् ।
बाजुराको ९ वटै पालिका कुपोषित बालबालिका छन् । बाजुराका ९ पालिकामा जन्मेदेखि ५ बर्ष मुनिका २ सय ८७ भन्दा बढी बालबालिका कुपोषणको चपेटामा रहेका छन् । यो पालिकाका स्वास्थ्य संस्थामा उपचार गर्न आएका कुपोषित वालवालिकाको तथ्याङ्क हो, गाउँमा खोज्दै जाने हो भने बाजुरामा कुपोषणको भयाभय अवस्थामा रहेको बुढीगंगा नगरपालिका सिनेर अहेव दिपक शाहले बताएका छन् ।
बालबालिकाको उमेर अनुसार तौल कम हुने, पुडकोपन, ख्याउटेपन बढी मात्रामा देखिएको स्वास्थ्यकर्मी बताउँछन् । पोषणयुक्त आहारको कमि, स्वास्थ्य उपचार, सरसफाईको कमि, जनचेतनाको कमि, गर्भवती अवस्थामा आहार र स्याहार नहुनु, सन्तुलित खाना नखानु, आयोडिन युक्त नुनको कमि लगायतका कारणले बाजुराका बालबालिका कुपोषणबाट प्रभावित बनेका जगन्नाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुलमाया उपाध्याय बताएकी छन् ।
शिक्षाको कमि, भौगोलिक विकटता, खाद्य संकट, प्रयाप्त मात्रामा जिल्लामा तरकारी खेति नगरिनुले कुपोषणबाट बालबालिका दर कम नभएको स्वास्थ्यकर्मीले बताएका छन् । सबै भन्दा त गरिबिको कारणले बालबालिका कुपोषित रहेको स्वयसेविका रमिता न्याउपानेले भनिन् । बिहान बेलुका छाक्क टार्न धौ, धौ हुने गर्छ, कुनै दिन त खालि पेटमा सुत्नु पर्ने हुन्छ, अनि आराम र पौष्टिक आहार भन्ने तर धेरै टाढाको कुरो रहेको स्वामीकार्तिक खापर गाँउपालिका १ साप्पाटाकि लुति नेपालीले बताइन् ।
