
बाजुरा—सामाजिक कार्यमा जुटेका बाजुराको बुढीगंगा नगरपालिका ७ का स्वास्थ्यकर्मी मिन बहादुर कटुवालले ध्रममाण्डौं मन्दिरको अधुरो भवन पूरा गर्न अभियान सञ्चालन गरेका छन् । कटुवालले धार्मिक आस्थाको केन्द्र ध्रममाण्डौं मन्दिरको नयाँ भवन अधुरै रहेको भन्दै तत्काल सम्पन्न गर्न आर्थिक संकलन अभियान सञ्चालन गरेका हुन् ।
स्वास्थ्यकर्मी कटुवालका अनुसार उक्त मन्दिरको नयाँ भवन निर्माणका लागि गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भयो । उक्त बजेटको १२ लाखमा ठेक्का भएर काम सुरु भयो तर केही काम बाँकी रहेको छ । सो बजेटले ध्रममाण्डौं मन्दिरको लेन्टरसम्म काम भएपनि प्लास्टर, झ्याल ढोका लगायतका काम बाँकी रहेको उनले बताए ।
त्यस्तै कटुवालले उक्त मन्दिरको अधुरो काम पूरा गर्न आर्थिक संकलन अभियान सञ्चालन गरेको बताए । उनले भने, “मन्दिरको धेरै काम योजनाबाटै भइसकेको छ, अब प्लास्टर, झ्याल ढोका लगाउन बाँकी छ र यो सामाजिक अभियानबाटै गर्नुपर्छ भन्ने उदेश्यका साथ अभियान सञ्चालन गरेको छु ।” उनले मन्दिरको अधुरो काम सम्पन्न गर्न करिब एक लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । उनकाअनुसार उक्त अभियान गरेको एक सातामै हालसम्म विभिन्न सहयोगी व्यक्तिहरुमार्फत ३६ हजार रुपैयाँ संकलन भइसकेको बताए । उक्त अभियान मन हृदयदेखि सहयोगी भावनाका साथ सहयोग गरी दिन सबैलाई अनुरोध गरेका छन् । कटुवालले यस्ता सामाजिक काम एक्लैले सम्भव नहुने भन्दै समाजका सबैको साथसपोट र सहयोगको खाँचो रहेको बताए ।
स्वास्थ्यकर्मी कटुवाल सोही वडाको आधारभूत स्वास्थ्य केन्द्रमा अहेव पदमा कार्यरत छन् । उनले यसअघि पनि सोही वडाकी सानुदेवि कटुवाल र उनका श्रीमान कर्ण बहादुर कटुवालको उपचारका लागि पनि आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । उक्त अभियानमार्फत विभिन्न व्यक्तिको सहयोगले लाखौं रुपैयाँ संकलन गरेर लामो समयदेखि रोगबाट ग्रसित कटुवाल दम्पत्तिको उपचारमा सहयोग गरेका थिए । अहिले सानुदेविको स्वास्थ्यमा समेत सुधार भइसकेको छ ।
कटुवाल एउटा स्वास्थ्यकर्मीका रुपमा मात्रै छैनन् पछिल्लो समय सामाजिक कामका सेवा गर्दै समाजसेवीका रुपमा परिचय दिन सफल छन् । गाउँमा नागरिकको स्वास्थ्य उपचारका साथै समाज परिवर्तनका उदेश्यले कटुवाल मानव सेवा र सामाजिक कार्यमा जुटेका छन् ।
