शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था, सेवा प्रभावकारी

बाजुराको दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था, सेवा प्रभावकारी

  • आइतवार, भदौ १, २०८२
बाजुराको दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था, सेवा प्रभावकारी

बाजुरा —बाजुराको सर्वाधिक विकट गाउँ गुम्बामा स्वास्थ्य संस्था रहेको छ । संस्था स्थापनापछि स्थानियलाई उपचारमा निकै सहज भएको छ । हिमाली गाउँपालिका ३ गुम्बामा केही समय पहिला आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको थियो ।

स्थापनासँगै स्थानियले सेवा प्रभावकारी रुपमा पाइरहेको स्थानिय जगत बहादुर लामाले बताएका छन् । गाउँमा स्वास्थ्य केन्द्र स्थापना नहँदा पहिला डेढ देखि दुई दिन लगाएर युना आधारभूत स्वास्थ्य केन्द्र र बिच्छयाँ स्वास्थ्य चौकी जानु पर्ने बाध्यता रहेको थियो । सिटामोल, जिवनजल चाहिएमा आवतजावत गरेर ३ दिन पैदल हिड्नु पर्ने अवस्था थियो, अहिले भने गाउँमा सेवा पाउदा निकै खुसी भएको स्थानिय मालती गुरुङ्गले बताइन् । गुम्बाका करिव २५ परिवार र लाम्पाटा १२ परिवारले सेवा लिइरहेका छन् ।

बाजुराको पर्यटकिय क्षेत्र रानिसैन जाने एक मात्र बाटो यहीँ रहेको छ । अर्को जनजाति बर्षातमा भेडा, च्याङ्गा, चौरी गाई हिमाली भेगतिर लिने बाटो यहीँ हो । रानिसैन जाने पर्यटक तथा आवतजावत गर्ने बिरामी पर्दा यो संस्थाबाट सेवा लिने गरेका छन् । संस्था स्थापनाले पर्यटकलाई समेत निकै सहज भएको छ । संस्थामा महिनामा ५० जना भन्दा बढी बिरामीले उपचार तथा सेवा लिने गरेको अनमी सरिता सञ्जालले बताएकी छन् ।

कुनै बेला गुम्बा गाउँमा खोप सेवा समेत सञ्चालन नहुने गरेको थियो । अहिले भने खोप सेवा नियमित भइरहेको छ । साविकको बिच्छयाँ गाविस अर्थात हिमाली गाउँपालिका १,२ र ३ मा एउटा मात्र स्वास्थ्य संस्था बिच्छयाँ स्वास्थ्य चौकी रहेको थियो । त्याहाँ आवतजावत गर्न तीन दिन समय खर्च गर्नुपरेको थियो, अहिले भने त्यो बाध्यता टरेको छ । गुम्बा गाउँ पुग्न बाजुराको सदरमुकाम मार्तडी बाट हिडेर ५ दिन भन्दा बढी समय लाग्ने गर्छ ।

जनसंख्या कम भएपनि भौगोलिक विकटताको मध्यनजर गर्दै गुम्बामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताएका छन् । सकेसम्म गाउँ गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सक्दो सेवा दिइरहेको भण्डारीले बताए । हिमाली गाउँपालिका भौगोलिक विटकताले निकै टाढा रहेको छ । हिमाली गाउँपालिकामा पुराना २ वटा स्वास्थ्य संस्था मात्र रहेका छन् । हिमाली गाउँपालिकाले ११ वटा थप आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको शाखा प्रमुख भण्डारीले बताए । बाजुराको ३५ प्रतिशत बढी भुगोल हिमाली गाउँपालिकाले ओगटेको छ ।

चर्चामा

सम्बन्धित समाचार