
टेक बहादुर बुढा—बाजुराको हिमाली गाउँपालिकाले बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरुलाई तत्काल पुनःस्थापना गर्न संघ प्रदेश सरकारलाई अनुरोध गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढीपीडितहरुलाई पुनःस्थापनाका लागि संघ, प्रदेश सरकार तथा विभिन्न निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो ।
गाउँपालिका गोबिन्द बहादुर मल्लले बाढीबाट ठूलो क्षति भएको भन्दै पीडितहरुलाई पुनःस्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको बताए । उनले बाढीले घरजग्गा बगाएर घरबार विहिन भएकालाई पुनःस्थापना र जोखिममा रहेकाहरुलाई तत्काल स्थानान्तरण गर्नु पर्ने बताए । त्यस्तै बाढीपीडितहरुलाई पुनःस्थापनाका लागि सरकासँगै विभिन्न संस्थाहरुलाई सहयोग गरी दिन अध्यक्ष मल्लले अनुरोध गरेका छन् ।
त्यस्तै, जिल्लाको सर्वाधिक विकट गाउँ बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । साउन २८ गते हिमाली गाउँपालिका १ बिच्छ्याँ खोलामा आएको बाढीबाट प्रभावितहरुलाई राहत वितरण गरिएको हो ।

बुधवार दिउँसो अबिरल बर्षासँगै आएको बाढीका कारण बिच्छ्याँ र कुवाडीका पीडितहरुलाई हिमाली गाउँपालिकाले राहत सामग्री वितरण गरेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । अध्यक्ष गोबिन्द मल्लका अनुसार बाढीबाट पूर्ण रुपमा क्षति भएका वडा नम्बर १ बिच्छ्याँका ८ र वडा नम्बर ५ कुवाडीका १६ परिवारलाई राहत वितरण गरिएको बताए । त्यस्तै, पालिकाबाट तत्काल पीडितहरुलाई त्रिपाल, भाँडाकुडा सहित खाद्यान्न सामग्री वितरण गरेको बताए । सोही बाढीले बिच्छ्याँका आइसिंह बोहरा र भीम बोहराका ७० वटा बाख्रा बगाए र बेपत्ता पारेको बताए ।

त्यसैगरी, बाढीका कारण बिच्छ्याँमा ९ र कुवाडीमा ३२ गरी ४१ घर उच्च जोखिममा रहेका छन् । भने उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने गरी पालिकाले पहल र समन्वय गरी रहेको जनाएको छ । बिच्छ्याँ खोलामा आएको बाढीले बिच्छ्याँ र कुवाडीमा ठूलो मात्रामा भौतिक क्षतिसँगै रोपीएको धान खेती बगरमा परिणत गरेको पालिका अध्यक्ष मल्लले बडीमालिका खबरलाई जानकारी दिए । मल्लका अनुसार हालसम्म जग्गाको क्षतिको विवरण आइसकेको छैन् ।
त्यस्तै, बाढीबाट दर्जन बढी सरकारी भवन समेत उच्च जोखिममा छन् भने वडा नम्बर ५ को कुवाडी जलविद्युतमा पूर्ण रुपमा क्षति भएको छ । अध्यक्ष मल्लले मुहानको डेम, पावरहाउस र ५ सय मिटर नहर बगाएको भन्दै अब १२ सय मिटर नहर बनाउनु पर्ने अवस्था भएको बताए । बाढीले जलविद्युत पूर्ण रुपमा क्षति गरेसँगै त्याँहाका १२ सय बढी घरधुरी अध्यारोमा रहेका छन् ।
सोही दिनको बाढीले वडा नम्वर १ को वडा कार्यालय भवन, बिच्छाया माविको खेलमैदान, बिच्छाया स्वास्थ्य चौकी लगाएतका सरकारी संरचनामा समेत क्षती पुगेको छ ।
त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बाढीबाट भएको क्षतिको एकिन विवरण आएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनःस्थापनाका लागि थप निर्णय गरिने बताए ।
