शनिबार, मंसिर २१, २०८२

कविता: वर्षा

  • मङ्लबार, साउन २८, २०८२
कविता: वर्षा

 

शिशिरको मुस्कान
बिहानीको कुहिरोमा लुकेको छ
आकाशबाट जब वर्षा झर्छ धर्तीमा
तब धर्तीको मन आनन्दित भई
सुगन्धित स्पर्शले भरिन्छ
साउनको झरीसँगै ओत लाग्ने त
केवल छातामा हो, हृदयमा हो
अनुभूति र स्मृतिमा हो ।
तर
किसानका खेतहरू मुस्कुराउँछन्
बालीनालीको भविष्य
र सजीव बाँच्ने आशमा

नाँच्छन् हरियाली फाँटहरू
सुनिन्छ वर्षातको संगीत
ढिकी, जाँतो र खेत काल्नामा
बर्षातले धुलो बगाएको होइन
उसले त शुद्ध बनाएको हो
प्रकृतिका हृदयहरू
सडकका हिडाइहरू

वर्षा प्रेम हो, प्रतीक्षा हो
सम्झनामा आँखा रसाइ दिन्छ प्रियजनका यतिबेला
आत्मीयता साटिदिन्छ
घरका कौसीबाट निरन्तर बगिरहने बलेसीका बूँद हेर्दै भित्री मनको स्पन्दनले आफैलाई सुनाइ रहन्छ
वर्षा केवल मौसम होइन
यो त प्रकृतिको प्रेम हो, सम्बर्द्धन हो, संरक्षण हो
एक होइन अनेकको जीवनको आधार हो,
जहाँ आँसु र हाँसो दुबै मिसिएर
तैरिन्छ आशा भविष्यको
प्रारम्भ हुन्छ नयाँ जीवनको ।

चर्चामा

सम्बन्धित समाचार