शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग

अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग

  • मङ्लबार, साउन २१, २०८२
अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग

अछाम– अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ। सेवाग्राहीलाई सहज रूपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बर १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो। इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अछामका जनप्रतिनिधिले छलफल गरेका छन्।

पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै विभिन्न सङ्घीय मन्त्रालयबाट फाइल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुुगिसकेको जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले बताए। अर्थमा स्वीकृतिका लागि रोकिएको छ। कार्यालयको भौतिक संरचनाका लागि प्रक्रिया पनि अघि बढाइएको र पूर्वप्रधानमन्त्रीबाट फोन गराएर छिटो गराइदिनुप¥यो भनेर अनुरोध गरेका उनले बताए। जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरेर सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग राखिएको कुँवरले बताएका छन्।

साँफेबगरमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन मङ्गलसेन धाउनुपर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि पूर्वप्रधानमन्त्रीलाई भेट गरिएको समन्वय प्रमुख कुँवरले बताए। साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले जनतालाई सेवा लिन समस्या भइरहेकाले साँफेबगरमा इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताए। कुँवरले सोमवार पूर्वप्रधानमन्त्री देउवासँग छलफल गरेर इलाका प्रशासन कार्यालयको स्थापनाका लागि माग राखिएको बताए।

भेटमा पूर्वप्रधानमन्त्री देउवाज्यूले थप छलफल गरेर मन्त्रीपरिषद्मा प्रस्ताव लैजानेका लागि पहल गर्ने प्रतिबद्धता जनाएको उनले बताए। नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्रलगायत अन्य कामका लागि मङ्गलसेन धाउनुपर्ने र महँगो पनि पर्ने भएको हुनाले अब जनतालाई सेवा सुविधा दिन इलाका प्रशासन कार्यालयको माग गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए।

अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका गरेर चार वटा पालिकाका बासिन्दालाई सहज रूपमा सेवा प्रवाह गर्न साँफेबगरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेकाले सोही आवश्यकतालाई ध्यानमा राखी अगाडि बढेको उनले बताए। भेटघाट तथा छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्दबहादुर शाह, जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्कालगायतका सरोकारवालाको उपस्थिति रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार