
टेक बहादुर बुढा—बाजुराको हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ज्यानमारा खोलाका रुपमा परिचित उक्त खोलामा निकै लामो समयको प्रयासपछि खोलामा झोलुङ्ग पुल निर्माण भएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् । ‘संघ र प्रदेशमा हारगुहार गर्दा गर्दा थाकिसकेका थियौ, बल्ल पुल बनेको छ,’ मल्लले बताए ।
बाजुराको सर्वाधिक विकट गुम्बा गाउँ जाने बिच बाटोमा पर्ने छिन्दु खोलामा झोलुङ्गे पुल सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले बनाएको हो । कार्यालयले १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको थियो । जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा काम गर्ने गरि सम्झौता गरेको स्थानीय पूर्वाधार विकासय आयोजना कैलालीका सव ईन्जिनियर दिपक पन्तले बताएका छन् ।
पुलको सम्झौता २०७८ साल पुस १४ गते भएको थियो । भौगोलिक विकटता कारण र सामान ढुवानी समस्या भएकोले केही काममा ढिला भएको कार्यालयले जनाएको छ । सडक पहुँचबाट सामान ढुवानी गर्न चार दिन भन्दा बढी समय लाग्ने गरेको थियो, निकै कठिनाइका बिचमा पुल निर्माण गर्न सफल भएको सव ईन्जिनियर पन्तले बताए ।
विगतमा खोला तर्ने बेला बगेर बेपत्ता भएको खोलामा पुल निर्माण भएपछि त्याँहका स्थानीयबासीहरु खुसी भएका छन् । १० बर्षमा ७ जना त बगेर बेपत्ता भएका थिए, भेडा, च्याङ्ग, गोरु, भैसी कति बगे कुनै तथ्याङ्क छैन्, स्थानीय जगत बहादुर लामाले बताए । ढिलो गरि पुल निर्माण हँुदा स्थानीय खुसी भएका लामाले बताए । ज्यानमारा खोलामा झोलुङ्गे पुल निर्माण पछि स्थानीयबासीहरुले खुसीयालाी पाटी समेत गरेका छन् ।
छिन्दु नदीमा बर्षेनी नदी तर्ने बेला बगेर बेपत्ता र मृत्यु हुने गरेका थिए । छिन्दु खोलामा १० बर्षयता कम्तीमा ७ जनाको नदीमा बगेर बेपत्ता भएको स्थानिय लालु कुवर भोटेले बताए । नदी तरेर हिमाली गाँउपालिका ३ गुम्बा, लाम्पाटा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् । १० बर्ष यता मात्र आफुलाई जानकारी भए अनुसार कम्तीमा ७ जनाको बगेर बेपत्ता भएका छन्, केही त आफुहरुलाई पनि थाहा नभएको स्थानीय जगत लामाले बताएका छन् । छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा रहेका छन्, उहाँहरु त आफुहरुले नदी तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ, नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुन सक्ने लालु कुवरले बताए ।
मानिस मात्र नभई पशु चौपाया त बर्षेनी धेरै बगाएर मर्ने गरेका थिए । छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानीय वारपार गर्ने गरेका थिए । गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोवास गर्ने गरेका छन् । पर्यटकीय क्षेत्र रानिसैन जाने बाटो पनि यहीँ भएर जाने गर्छन् । बर्षातका ४ महिना त गुम्बा र बाजुराको सम्पर्क बिच्छेद नै हुने गरेको थियो । पुल निर्माण पछि भने निकै सहज भएको छ ।
