
नेपालको दुर्गम र पारंपरिक समाजमा आजसम्म पनि अनेकौं कुप्रथाहरू मौलाउँदै आएका छन्। तीमध्ये “छाउपडी” प्रथा सबैभन्दा चर्चित र विवादास्पद कुप्रथा हो, जसअन्तर्गत रजस्वला (महिनावारी) भएकी महिलालाई समाजबाट टाढा, छाउगोठमा अलग राखिन्छ। तर छाउपडीसँग गहिरो रूपमा जोडिएको एउटा अति अमानवीय, कम चर्चा पाएको तर गहिरो सामाजिक चोट दिने अर्को कुप्रथा पनि छ – छुयान्द प्रथा।
छुयान्द प्रथा महिलामाथि गरिएको त्यस्तो अपमान हो, जहाँ उनलाई दूध दिने जनावरभन्दा पनि तल्लो दर्जामा राखिन्छ। यो केवल एउटा अन्धविश्वास मात्र होइन, स्त्री अस्मिता र मानवताको गहिरो तिरस्कार हो, जसको चपेटामा सुदूरपश्चिमका हजारौं महिला आज पनि परिरहेका छन्।
छुयान्द प्रथा के हो?
छुयान्द प्रथाको मर्म अनुसार – यदि कुनै महिनावारी भएकी वा सुत्केरी अवस्थामा रहेकी महिलाले कुनै दूध दिने भैंसीलाई छोइहालेमा, त्यो भैंसी “छुयान्द भएको” मानिन्छ। समाजमा यस्तो अन्धविश्वास छ कि – यदि यस्तो भयो भने देउता रिसाउँछन्, त्यस भैंसीले दूध कम दिन्छ, दूध दिनै छाड्छ, वा दूध, दही, मही खाने मान्छेलाई अशुभ हुन्छ।
यसपछि त्यो भैंसीको “शुद्धीकरण प्रक्रिया” गरिन्छ, जसमा: गाईको पिसाब छर्किन्छ, सुनपानी (तामा/सुनको धातु मिसिएको पानी) छर्किन्छ, कतिपय अवस्थामा तान्त्रिक विधि र मन्त्रपाठ समेत गरिन्छ।
यसरी भैंसी शुद्ध पार्न खोजिन्छ, तर महिलालाई अपवित्र मानिने क्रमजारी रहन्छ। छुयान्द प्रथाको गहिरो सामाजिक अपमान छुयान्द प्रथाको भयानक पक्ष भनेको – रजस्वला महिलालाई जनावरभन्दा पनि तल्लो स्थानमा राखिनु हो। भैंसीको शरीरमा गाईको पिसाब छर्केर “शुद्ध” बनाउने मान्यता राख्ने समाजले महिलाको सम्मान होइन, तिरस्कार मात्र गर्छ। यो सोचले महिलालाई अशुद्ध, दुर्भाग्यको स्रोत, र समाजका लागि खतरा सरह देख्छ। यस्तो सोचले महिलाको मनोविज्ञान, आत्मविश्वास, र सामाजिक भूमिका सबैमा नकारात्मक असर पार्छ।
छुयान्दवाद: चेतनाविहीन सोचको उपज छुयान्द प्रथालाई अन्धविश्वास मात्र भन्नु अपुरो हुन्छ। यो एक किसिमको संस्थागत सोच, पुंसवादी परम्परा, र अशिक्षाको मिलेजुले रूप हो – जसलाई “छुयान्दवाद” भन्न सकिन्छ। छुयान्दवादी सोच भएका मानिसहरूले: महिलाको प्राकृतिक जैविक प्रक्रियालाई अपवित्र मान्छन्, विज्ञान र तर्कको स्थानमा कुपरम्परालाई थोपर्छन्, धार्मिक भयको प्रयोग गरेर महिलालाई दबाउँछन्।
यो मानसिकता केवल स्त्रीको मात्र होइन, सम्पूर्ण समाजको चेतनामा दाग लगाउने खालको हो। वैज्ञानिक र तर्कसंगत दृष्टिकोण विज्ञानले प्रष्टसँग देखाएको छ। रजस्वला महिलाको स्पर्शबाट दूध दिने जनावरलाई कुनै असर पर्दैन। महिलाको रजस्वला अवस्था कुनै संक्रमणकारी वा अशुद्ध अवस्था होइन – यो शरीरको सामान्य चक्र हो। भैंसी दूध कम दिनुका कारणहरू पोषणको कमी, तनाव, अस्वस्थता, वा उचित दुहाइ नहुनु हो – महिलाको छोएको होइन। तर अज्ञानता र अन्धविश्वासले विज्ञानलाई थिचेर राखेको अवस्था छ।
छुयान्द प्रथा किन खतरनाक छ?
महिलाको आत्म-सम्मान नष्ट गर्छ। सामाजिक विभाजन बढाउँछ। शिक्षित पुस्तामा पनि अन्धविश्वासको जरा गाड्छ। मानव अधिकारको उल्लङ्घन गर्छ। पुरुषवादी सोचलाई निरन्तरता दिन्छ ।
छुयान्द प्रथा अन्त्य गर्न अपनाउन सकिने उपायहरू:
गाउँस्तरमा सचेतना कार्यक्रम चलाउनुहोस्….
स्थानीय भाषामा नाटक, कविता, गीत, सामुहिक छलफलको माध्यमबाट मानिसहरूलाई छुयान्द प्रथाबारे सच्चाइ बुझाउनुहोस्।
महिला सशक्तिकरणमा जोड दिउँ…
शिक्षाद्वारा महिलालाई आत्मनिर्भर र आफ्नो हकको लागि बोल्न सक्ने बनाउनुहोस्।
छुयान्द प्रथाविरुद्ध कानुनी चेतना जगाउनुहोस्…
महिलाको छुवाछुत वा अपमानलाई मानव अधिकार हननको विषय बनाएर कानूनी जागरूकता फैलाउनुहोस्।
…धार्मिक नेताहरूलाई सकारात्मक भूमिका खेल्न लगाउनुहोस्
पुरोहित, धर्मगुरु, समाजसेवीलाई सामेल गराई पुराना मान्यताको वैज्ञानिक पुनर्व्याख्या गराउनुहोस्।
छुयान्द अनुभव साझा गर्ने मंच बनाउनुहोस्…
पीडित महिलाहरूको भोगाइ साझा गर्ने खुला मञ्च बनाउँदा समाजमा परिवर्तनको लहर आउन सक्छ छुयान्द प्रथा एउटा महिला विरोधी सोचको उपज हो जसले हाम्रो समाजलाई पछाडि धकेलिरहेको छ। यसले स्त्री अस्मिता मात्र होइन, सम्पूर्ण मानवता र सामाजिक विवेकमाथि प्रहार गर्छ।
छाउपडी प्रथा विरुद्ध जस्तै छुयान्द प्रथाविरुद्ध पनि सामूहिक आवाज उठाउन आवश्यक छ। अब समय आएको छ । जहाँ हामी छुयान्द होइन, सम्मान, अन्धविश्वास होइन, विज्ञान, र तिरस्कार होइन, समानता को पक्षमा उभिन सकौं। अत: सुदुर पस्श्चिममा बोलिने “छुयान्द होइ गै (छुयान्द भयो)” भन्ने वाक्य संसारको सबैभन्दा कुरुप वाक्य हो भन्ने मेरो ठम्याइँ छ ।
