
बाजुरा—धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडिमालिकामा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । बडिमालिकाको पुरानो जीर्ण मन्दिर भत्काएर त्यसैमा नयाँ निर्माण गरेको मन्दिरका पुजारी नेत्र पाध्यायले बताएका छन् ।
मन्दिर निर्माण कार्य २०८१ चैत २८ गतेबाट सुरु गरेर असार २३ गते सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले बताएका छन् । झण्डै २ करोडको लागतमा मन्दिर निर्माण सम्पन्न भएको सेनाले बताएको छ ।
प्राचिन स्मारक ऐन, २०१३ अनुसार मन्दिर निर्माण गरिएको हो । करिब ४२ सय २० मिटरको उचाईमा रहेको मन्दिर निर्माण गर्न भौगोलिक विकटता, प्रतिकुल मौसमका बिचमा सेनाको सक्रियताले ३ महिनामै मन्दिर निर्मााण भएको प्रवक्ता बस्नेतले बताएका छन् ।
२०५० साल देखि मन्दिर निर्माणका लागि पहल भएपनि विभिन्न समस्याले मन्दिर निर्माण हुन सकेको थिएन्, अहिले भने नेपाली सेनाले आफै निर्माण गरेको पुजारी पाध्यायले बताएका छन् । विगतमा पुरातत्व विभाग, संघिय सरकार, प्रदेश सकारले मन्दिर निर्माणका लागि पहल भएपनि निर्माण गर्न सकेको थिएन् । ठेक्का भइसक्दा पनि काम हुन नसकेको पुजारीले भने ।
सरकारले मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको थियो, तर सामान ढुवानी र प्रतिकुल मौसमले निर्माण हुन सकेको थिएन्, यो पटक भने सेनाको सक्रियतामा निर्माण गरेको पुजारीले बताए । पुरानो भत्काएर नयाँ मन्दिर निर्माण, होमन कुण्ड र हेलिप्याड निर्माण भएको छ ।
सेनाले बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टर मार्फत सामान ढुवानी गरेर मन्दिर निर्माण गरेको हो । केही सामान भने बडिमालिका नगरपालिका ५ मनाबाट बोकेर लगेको थियो ।
मन्दिर निर्माण पुरातत्व विभागको प्राविधिक सहयोग, डिजाइन स्टमेटमा भएको सेनाले बताएको छ । रकम भने नेपाली सेनाको कोषबाट खर्च भएको छ । सेनाले धार्मिक ऐतिहासिक पुरातात्वीक क्षेत्रको संरक्षण अन्तर्गत मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माणमा काठ, ढुङ्गा र माटो प्रयोग भएको छ । काठमा तराइको सालको काठ प्रयोग भएको पुजारीले बताएका छन् ।
बडिमालिका प्रत्येक बर्ष जनैपुर्णिमा मेला तथा मुख्य पुजा लाग्ने गर्दछ । बिगतका बर्ष भन्दा अहिले धेरै आन्तरिक पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भम्रण गरेका छन् । बडिमालिका सौन्दर्यका हिसावले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।
बडिमालिका पुुगेका स्थानिय शेर बहादुर रावत भन्छन्, बडिमालिका क्षेत्र निकै स्वर्ग जस्तै लाग्छ । बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना, ठुला ठुला पाटन, खासे मैदान आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ । पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै निकै रमाइलो हुने गर्दछ । बडिमालिका क्षेत्रबाट सैपाल लगायतका हिमालहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
पाटनमा भेडा, खोडाका लागि निकै चरन क्षेत्रका रुपमा रहेका छन् । बडिमालिका क्षेत्रमा यो समयमा ५० हजार भन्दा बढी भेडाको चरिचरन गर्ने गरेका छन् । बाजुरा, हुम्ला, कालिकोट, मुगु लगायतका क्षेत्र बाट भेडाहरु ल्याएर बैशाख देखि भदौ सम्म चरिचरन गराउने गरेका छन् ।
बडिमालिकामा जेठमा पर्ने गंगा दशहराका दिनमा सरकारी पुजा हुने गरेको छ । त्यो दिन हेल्किप्टरमार्फत गएर पुजा गर्ने गरेका छन् । मेला भने जनैपुर्णिमाको दिनमा लाग्ने गरेको छ । जनैपुर्णिमाको दिनमा स्वदेश र भारतबाट दर्शनार्थी आउने गरेका छन् । बडिमालिकामा अछाम, बाजुरा र कालिकोटका जिल्ला भएर बडिमालिका जाने गरिन्छ ।
बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने भएकाले देश बाहिरबाट समेत दर्शनार्थी मेला भर्न आउने गरेको कैलाशमाण्डौका दिर्घराज जोशीले बताएका छन् । बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिवुटी, तथा वातावरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । धार्मिक तथा पर्यटकिय सम्भावना बोकेका २२ पाटन्, त्रिवेणी, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।
