शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको सर्वाधिक विकट बिच्छ्या एक महिनादेखि फोन सम्पर्कविहीन

बाजुराको सर्वाधिक विकट बिच्छ्या एक महिनादेखि फोन सम्पर्कविहीन

  • शुक्रबार, असार २७, २०८२
बाजुराको सर्वाधिक विकट बिच्छ्या एक महिनादेखि फोन सम्पर्कविहीन
फाइल तस्विर

टेक बहादुर बुढा—बाजुराको सर्वाधिक विकट गाउँ बिच्छ्या एक महिनादेखि फोन सम्पर्कविहीन भएको छ । विकट हिमाली गाउँपालिका २ बिच्छ्यामा रहेको टेलिकमको टावर बिग्रीएपछि नागरिकहरु फोन सम्पर्कविहीन भएका हुन् ।

२०७५ सालमा बिच्छ्याको कोट गाउँमा बनेको बिच्छ्या टावर ०८२ जेठ १९ गतेदेखि बिग्रीएको स्थानीयहरुले बताएका छन् । टेलिकमको टावरमा समस्या भएपछि अहिले बिच्छ्याबासी फोन सम्पर्कविहीन भएका छन् । फोन सम्पर्कविहीन हुँदा आपतकालिन तथा त्यसैमा बर्षातमा सम्पर्कविहीन बन्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।

२०७४ साल अघि बिच्छ्याबासी फोन नेटवर्कको पहुँचमा थिएन् । बिच्छ्याका स्थानीय साजन थापाले भने, “यसअघि पनि घाम लागेको समयमा मात्रै फोन लाग्ने गरेको थियो तर अहिले टावर नै बिग्रीएपछि सम्पर्कविहीन भयौ ।” त्यस्तै उनले टावर बिग्रीएको एक महिना भन्दा बढी बितिसक्दा पनि मर्मत नहुँदा नागरिकहरु फोन सम्पर्कविहीन भएको बताए ।

त्यस्तै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशितपछि कादुरी संस्थाले गत वैशाख महिनामा बिच्छ्यामा बिजुली समेत बालेको थियो । यसै बर्षबाट बिजुली बाल्न पाएका बिच्छ्याबासी फेरी अहिले फोन सम्पर्कविहीन भएका छन् ।

बिच्छ्यामा २ जिको पोल टावर बनेको थियो । त्यसले घाम लागेको समयमा सामान्य फोन सम्पर्क मात्रै हुन्थ्यो । बिच्छ्याबासीले अहिलेसम्म फोरजी सेवा भने पाएका छैनन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले बिच्छ्यामा पुरानो टावर बिग्रीएपछि नागरिकहरुलाई समस्या भएको बताएका छन् । उनले लामो समयको पहलपछि नेपाल टेलिकम बाजुरासँग समन्वय गरेर टावर मर्मत गर्न दुई महिना अघि नै सामग्री गाउँपालिका ल्याएको बताए । उनले टावर मर्मत गर्न सबै तयारी भएपनि टेलिकम प्रमुख सहितको गाडी दुर्घटनामा परी मृत्यु भएपछि रोकिएको बताए । त्यस्तै अध्यक्ष मल्लले टावर, ब्याट्री पनि धेरै पुरानो भइसकेको भन्दै अब तत्काल नयाँ सामग्री सहित मर्मत गर्न भने मौसमले गर्दा समस्या भएको जानकारी दिए ।

त्यस्तै यस बिषयमा नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले बिच्छ्या टावर मर्मत गर्न प्राविधिकको टोली हिडिसकेको बताएका छन् । उनले खराब मौसमका कारण बाजुराबाट जान समस्या भएको भन्दै अछामबाट कर्णाली करिडोर हुदैँ प्राविधिकहरुको टोली मर्मत गर्न गएको बताए । त्यस्तै उनले टावर पुरानो हुँदा ब्याट्री वा टावर नै डाउन भएको हुन सक्ने बताए ।

जिल्लाका अन्य पालिकाभन्दा सबैभन्दा दुर्गम मानिएको हिमालीमा विकट भौगोलिक अवस्थाका कारण फोन नेटवर्क र इन्टरनेटको ठूलो समस्या छ । अहिले गाउँपालिकाको वडा नम्बर ४,६ र ७ मा केही राम्रो नेटवर्क सेवा पुगेपनि बिच्छ्या, कवाडी, बाम र गुम्बा गाउँ भने अझै सुविधायुक्त नेटवर्कको पहुँचमा छैनन् ।

चर्चामा

सम्बन्धित समाचार