
वर्षातको समय छ । बाहिर पानी परेको छ । मोबाइलको स्क्रिनमा झुमेको छु र सामाजिक सञ्जाललाई तलमाथि गरिरहेको छु । कतै पुल नभएका र कतै खोला बढेर आवतजावतमा अप्ठ्यारो भएको समचार र भिडियो सुन्न र हेर्न मजाले पाइएको छ। ती समचार र भिडियोले मन पनि किन छोयो भने मैले पनि प्रत्यक्ष नजिकबाट देखेको छु त्यो अवस्था । हेर्दै, सुन्दै र पढ्दै गर्दा मेरो मनमा आएका सोच र भावनालाई लिपिबद्ध गर्दै जाँदा कविताको गद्यात्मक शैली जस्तो बन्न पुग्यो। जो यस्तो छ । यहाँको सल्लाह सुझावको अपेक्षा गर्दछु।
शीर्षक: इमान कि प्रतिबद्धता !
उता सडक खनिएको छ,
पाँच वर्षमा पुलको एउटा खम्बा ढडिएको छ
किन हो ?
त्यही पुल पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं वर्षसम्म बनेन
जिम्मेवार को ?
ठेकेदार कि कानुन या त नियत
अझ भनौं प्रक्रिया
त्यो त त्रिकालदर्शी बाबालाई थाहा होला
वर्षा लागेको छ
झिमझिम पानी परेको छ
जनतालाई जनजीविका चलाउन बाधा परेको छ
विकास उद्देश्य होइन
व्यापार बनेको छ ।
नक्सामा उभिएको पुल
वास्तवमा ढलेको छ
नैतिकता र जवाफदेहितासँगै।
के यो नै विकास हो ?
जहाँ शिलान्यासको थाल छपाइ हुन्छ,
तर सम्पन्नता कहिल्यै जनतासम्म पुग्दैन ।
अब
साच्चै
इमानको इँटाले बनेको संरचना
र प्रतिबद्धताको रडले बाँधिएको
विकास हेर्न मन छ ।
