
बाजुरा—बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कने देखि कोल्टीसम्म यो आर्थिक बर्षमा ठेकेदारले काम नगर्दा करोडौ रकम फिर्ता हुने भएको छ । यो आर्थिक बर्षमा उक्त सडक कालोपत्रेको लागि १५ करोड बजेट रहेको थियो ।
काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताएका छन् । ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको थापाले बताए । आर्थिक बर्ष ०६७।०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी असारमा सम्झौता भएपनि काम भने सुुरु भएको थियो ।
निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ बर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन बर्षमा काम नसकेपछि कार्यालयले फेरि १ पटक म्याद थप गरेको थियो । म्याद थप गरेपनि यो आर्थिक बर्ष भने पैसा भएपनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पुर्वाधार कार्यलय अछामले बताएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानिय शंकर बहादुर चदाराले बताएका छन् ।
काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बाँनियाको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति हुन् । उनी मकवानपुर बासी हुन् ।
मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुबर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कने सम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बिनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथि सम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथि देखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
मार्तडी देखि कोल्टीसम्म ४१ किलोमिटर बुढीनन्दा नगरपालिका २ कोल्टीगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन पिसमा टेण्डर भएको हो ।
विगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २७ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । यो बजेटले भने तीन बर्षपछि सधँै गाडी चल्ने हुने भएको छ । १६ बर्षसम्म ३५ करोड भन्दा बढी खर्च भइसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पूरा नभएको स्थानिय बासीले बताएका छन् ।
जसका कारण यातायात गर्न असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिविस सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टीमा गाडी पुयाईसक्ने लक्ष्य राखेको थियो ।
