शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराद्धारा सिडियोलाई १० बुदेँ ज्ञापन पत्र

एमाले बाजुराद्धारा सिडियोलाई १० बुदेँ ज्ञापन पत्र

  • बुधबार, जेष्ठ ८, २०८२
एमाले बाजुराद्धारा सिडियोलाई १० बुदेँ ज्ञापन पत्र

बाजुरा—नेकपा एमाले जिल्ला कमिटी बाजुराले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई १० बुदेँ ज्ञापन पत्र बुझाएको छ । बुधवार एमाले जिल्ला कमिटीले जिल्लाको विकास निर्माण, सामाजिक शान्ति, न्याय, सद्भाव लगायतका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

बाजुरा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै जोखिम न्यूनिकरण गर्न एकद्धार प्रणालीमार्फत सचेतना, उद्धार र राहतको पूर्व तयारीको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

त्यस्तै पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा जिल्लाका धेरेजसो सरकारी कार्यालयहरु निमित्तको भरमा चलिरहेका, कतिपय प्रमुखहरु अन्तै काजमा बसेको भन्दै अनिवार्य जिल्लामा हाजिर गराउन माग गरेको छ ।

त्यसैगरी, केही बर्षदेखि युवा समुदाय लागू औषधको कुलतमा परिरहेकोले स्थानीय तह र सुरक्षा निकायको सक्रियतामा लागूऔषध नियन्त्रण र मदिरा व्यवस्थापन हुनुपर्ने जिल्ला कमिटी अध्यक्ष ओलीले बताए । उनले जिल्लामा विकास निर्माणका योजनाहरु निर्माण व्यवसायीहरुले तोकिएको समयमा कार्य सम्पन्न नगरी अलपत्र पारिरहेकोले तत्काल ताकेता गरी कानुन बमोजिम कार्य सम्पन्न गराउनु पर्ने बताए ।

यस्तै, बडीमालिका नगरपालिका ८ मा पर्ने ठूलीसाँगुको झोलङ्गे पुल समेत भत्काएर निर्माण व्यवसायी वेपत्ता रहेको र बर्षातमा खोला तर्न जोखिम हुने भएकाले तत्काल अस्थायी काठेपुल निर्माण गराउन माग गरेको छ । बडीमालिकाको त्रिवेणी पाटन जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रहरु बाजुरामा पर्ने भएपनि छिमेकी प्रदेश तथा जिल्लाहरुले सरकारको लगानीमा संरचना निर्माण गरेर सिमाना अतिक्रमण गरेको देखिएकाले सर्वपक्षीय बैठक बोलाएर छलफल गराउन ज्ञापन पत्रमार्फत माग गरेको छ ।

त्यसैगरी, लगातारको विद्युत अवरोधले मार्तडी लगायतका उपभोक्तालाई सास्ती भइरहेको भन्दै सम्बन्धित निकायलाई निर्देशन गरी नियमित विद्युत आपूर्ति गराउन आग्रह गरेको छ ।

त्यस्तै ज्ञापन पत्रमा कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र बुढीगंगाको टाँटेमा इलाका प्रहरी कार्यालय स्थापनाका लागि प्रयास र बुढीगंगा नदीको बेलिबृज दानसाँगुमा सार्ने निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्न माग गरेको छ ।

ज्ञापन पत्र बुझ्‌दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विकास निर्माण लगायतका विविध क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै समाधानका लागि सदैव पहल कदमी गरी रहने बताए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओली सहित एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी इकवाल हवारी लगायत सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार