
बाजुरा– चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको छानविनका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । मंगलवार केन्द्रको सर्कुलर अनुसार राप्रपा बाजुराले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै तीनकुनेमा भएको घटनाको छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनपुर्ने माग गरेको हो । त्यस्तै सो घटनामा दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन समेत हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
राप्रपा बाजुरा जिल्ला अध्यक्ष जीतबहादुर शाहीले तीनकुनेमा भएको प्रर्दशनमा ज्यान गुमाएका सबिन महर्जन र सुरेस रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सो घटनामा घाइतेहरुको निःशुल्क उपचार र झुठा मुद्धा खारेजी गरेर पक्राउ परेका निर्दोषहरुको रिहाई हुनुपर्ने माग गरेको छ ।
त्यसैगरी प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पूर्व न्यायाधीसको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने जनाएको छ । त्यस्तै पार्टीले पेश गरेको ४० बुदेँ मागउपर नवीन समझदारीका लागि वार्ता टोली गठनको माग पनि गरेको छ ।


