• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कारागार व्यवस्थापन विभागद्धारा बाजुराका कैदीबन्दीलाई मनोसामाजिक परामर्श

कारागार व्यवस्थापन विभागद्धारा बाजुराका कैदीबन्दीलाई मनोसामाजिक परामर्श

  • सोमवार, पुस १५, २०८१
कारागार व्यवस्थापन विभागद्धारा बाजुराका कैदीबन्दीलाई मनोसामाजिक परामर्श

बाजुरा —बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई मनोसामाजिक परामर्श दिइएको छ । सोमवार कारागार व्यवस्थापन विभागको आयोजनामा कैदीबन्दीहरुको आत्म मनोवल उच्च राख्न उत्प्रेरणा तथा उनीहरुमा तनाव व्यवस्थापनमा सहयोग पुग्ने उदेश्यसहित मनोसामाजिक परामर्श दिइएको हो ।

कारागार व्यवस्थापन विभागको टोली बाजुरामा आएर पहिलोपटक कैदीबन्दीहरुलाई मनोसामाजिक परामर्श दिइएको कारागार बाजुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले उद्घाटन गरेको कार्यक्रममा जिल्ला अस्पतालमा कार्यरत डाक्टर सुरेस शाही र सिएमसी नेपालकी प्रमेश्वरी शाहीले मनोसामाजिक तथा तनाव व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए ।

कारगार व्यवस्थापन विभागका सूचना अधिकारी राम बहादुर सार्कीले विभागले गत बर्षबाट सुरु गरेको मनोसामाजिक परामर्श कार्यक्रमले कैदीबन्दीहरुमा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकासमा महत्तपूर्ण सहयोग पुग्ने बताए । उक्त कार्यक्रम बाजुरामा पहिलोपटक गरेको भन्दै विभागका सूचना अधिकारी सार्कीले देशभरका कारागार विस्तारै सुधार गृहका रुपमा विकास हुदैँ गएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले मनोसामाजिक परामर्श कार्यक्रमले कैदीबन्दीहरुमा सकारात्मक सोचले करागारमै आनन्दमय जीवन जीउन सहयोग गर्ने बताए ।

त्यस्तै बाजुरा जिल्ला कारागारका प्रमुख जेलर अनिलकुमार तिवारीले कारगार तथा कैदीबन्दीहरुका समस्या समाधानका लागि सम्बन्धित निकायले स्पष्ट नीति निर्माण गरी कार्यान्वयन हुनुपर्ने बताए । प्रमुख तिवारीले आफू कारागार सुधारका लागि अहोरात्र खटिरहेको भन्दै जिल्ला कारगारका समस्याका बारेमा कारागार व्यवस्थापन विभाग पनि गम्भिर भइदिन आग्रह गरे ।

जिल्ला कारागार बाजुराका प्रमुख जेलर अनिलकुमार तिवारीको अध्यक्षतामा सञ्चालन भएको मनोसामाजिक परामर्श कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या रहेका थिए । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, कारागार व्यवस्थापन विभागका सूचना अधिकारी राम बहादुर सार्की, लेखा अधिकृत झक बहादुर दसौती, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरी, कारागारका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार