बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

  • मङ्लबार, कार्तिक २७, २०८१
गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं —ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको हो ।

मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार पठाइने उनले बताए ।

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसला विरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले २०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर, १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेश सभा सदस्य चुनिए भने पटक-पटक मन्त्री बने ।

चर्चामा

सम्बन्धित समाचार