• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतको उत्तराखण्डमा बस दुर्घटनाः मृतकको संख्या ३६ पुग्यो

भारतको उत्तराखण्डमा बस दुर्घटनाः मृतकको संख्या ३६ पुग्यो

  • सोमवार, कार्तिक १९, २०८१
भारतको उत्तराखण्डमा बस दुर्घटनाः मृतकको संख्या ३६ पुग्यो

उत्तराखण्ड- भारतको उत्तराखण्ड राज्यस्थित अल्मोडामा सोमबार बिहान यात्रुबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ । दुर्घटनालगत्तै २२ जनाले ज्यान गुमाएको अवस्थामा अहिलेसम्म मृतकको संख्या बढेर ३६ पुगेको हो ।

उत्तराखण्डको अल्मोडास्थित मार्चुलामा ५५ जना यात्रुले भरिएको ४० सिटे बस अनियन्त्रित भएर खोँचमा खस्दा भयानक दुर्घटना भएको हो ।

स्थानीयबासीको सहयोगमा घाइते र सबै मृतकलाई निकालिएको छ। अल्मोडा जिल्ला आपदा प्रबन्धन अधिकारी विनीत पालले बीबीसीलाई बताएअनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।

बस दुर्घटनामा अन्य १९ जना यात्रु गम्भीर घाइते भएका छन् । यो बस रामनगर गइरहेको थियो, जो सल्टनजिकै कोपी नामक स्थानबाट खोँचमा खसेको हो ।

अल्मोडाका आपदा प्रबन्धन अधिकारी विनीत पालले बताएअनुसार मृतकको संख्या अझै बढ्न सक्छ । मार्चुलानजिकै भएको यो दुर्घटनाका घाइतेमध्ये चारजनालाई एयरलिफ्ट गरिएको छ । तीन घाइतेलाई एम्स ऋषिकेशमा लगिएको छ । अहिले पनि त्यहाँ एसडीआरएफको टोली उद्धारमा जुटेको छ।

अल्मोडाको सल्ट इलाका एसडीएम अधिकारी सञ्जय कुमारका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको शव अहिले निकालिँदैछ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अल्मोडामा बस दुर्घटनाबारे सचिव आपदा प्रबन्धन, आयुक्त कुमाऊँ मण्डल र डीएम अल्मोडासँग फोनमा कुरा गरेर जानकारी लिएका छन् । धामीले उद्धार र उपचारलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनापछि एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थल पुगेको छ । दुवै टोलीले घटनास्थलमा उद्धार र ज्यान जोगाउने कोसिस थालिसकेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री धामीले पौडी र अल्मोडाका एआरटीओ अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई जनही चार लाख रुपैयाँ र घाइतेलाई उपचारका लागि एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार