सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चोरहरुको बिगबिगी, सम्पत्ति चोरी हुनबाट जोगिन प्रहरीको अनुरोध

बाजुरामा चोरहरुको बिगबिगी, सम्पत्ति चोरी हुनबाट जोगिन प्रहरीको अनुरोध

जिल्लाबासीलाई यस्तो छ प्रहरी कार्यालयको ९ बुदेँ अनुरोध

  • सोमवार, कार्तिक ५, २०८१
बाजुरामा चोरहरुको बिगबिगी, सम्पत्ति चोरी हुनबाट जोगिन प्रहरीको अनुरोध

टेक बहादुर बुढा —बाजुरामा भदौं १५ गते बिहान २ बजेको समयमा एक बैंक शाखा र ४ पसल तोडफोड गरी चोरी भए । जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा रहेको कुमारी बैंक शाखा र सोहि स्थानका चार वटा पसलहरुमा एकैसाथ चोरी भयो । बैंक र पसलहरु अज्ञात समूहले तोडफोड गरी चोरी गरेको सूचनापछि अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

सिसिटिभि फुटेज हेर्दा सो घटना पक्राउ परेका तीनै जनाले गरेको खुलेपछि उनीहरु विरुद्ध जिल्ला अदालत बाजुरामा मुद्धा दर्ता अहिले मुद्धा चलिरहेको छ । आरोपित तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका ८ मा मात्रै दुई वटा घरमा चोरी भएको छ । असोज २९ गते राति बडीमालिका नगरपालिका ८ को एक घरमा भएको थियो । त्यस्तै सोहि ठाउँमा कार्तिक २ र ३ गते एक घरमा दुई जनाको चोरी भएको छ । रातिको समयमा घर बेटी र सोहि घरमा एक जना भाडामा बस्ने स्थानीयको नगद रुपैयाँ, सुनचाँदी सहित करिब ३ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्ला सदरमुकाम मार्तडी सहितका बजारमा चोरीका घटना दिनहुँ बढिरहेका छन् । जिल्लाका अन्य ठाउँ भन्दा सदरमुकाम क्षेत्रमा यस्ता घटना भइरहेकाले कतिपय प्रहरीमा मुद्धा दर्ता भएका छन् भने धेरैजसो अनुसन्धानकै क्रममा रहेको प्रहरीले जानकारी दिएको छ ।

मार्तडी बजारमै धेरै घर सहित पसलमा चोरी भइरहेको भएपनि केहि घटना प्रहरी समक्ष पुगेका छैनन् । केहि चोरीका घटनामा वास्तविक सूचना नआएर गलत सूचना आउने गरेकाले प्रतिवादी पत्ता नलाग्ने र प्रहरीलाई अनुसन्धान गर्न समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक बहादुर बोहराले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आफ्नो सम्पत्ति चोरी हुनबाट जोगिन आग्रह गरेको छ । कार्यालयले सोमवार एक सूचना मार्फत ९ वटा बुँदाहरु उल्लेख गर्दे चाडपर्वको समयमा झन बढी चोरीका घटनाहरु हुन सक्ने भन्दै आफ्नो सम्पत्ति चोरी हुनबाट जोगिन जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । जिल्लाबासीलाई यस्तो छ प्रहरी कार्यालयको अनुरोधः-
१. लामो समयसम्म घर वा डेरा छाडेर जानु परेमा घरबेटी, विश्वासिला आफ्न्त, छरछिमेकी वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर मात्र जानुहोस् ।
२. घर वा डेरा छाडेर जानु परेमा गेट,झ्यालढोका राम्ररी बन्द गरी बलियो ताल्चा लगाएर मात्र जानुहोस् ।
३. आफ्नो घर, पसल वा होटलमा बलियो गेट, सटर, झ्यालढोका राखी सजिलै नखुल्ने खालको बलियो ताल्चा लगाउने गर्नुहोस् ।
४. आफ्नो बहुमूल्य सामानहरु (सुनचाँदी लगायतका गरगहना र नगद पैसा) अरुले सजिलै देख्न तथा झिक्न नसकिने ठाउँमा लुकाएर राख्नुहोस् ।
५. अपरिचित व्यक्तिलाई घर वा कोठाभित्र प्रवेश गर्न नदिनुहोस् ।
६. रातिको समयमा आफ्नो घर, पसल वा होटल बाहिर बत्ती बाल्नुहोस् ।
७. आफ्नो घर, पसल वा होटेलहरुमा रहेका सिसीटिभी क्यामराको समय र मिति अद्यावधिक गरेर राख्नुहोस् ।
८. आफ्नो घर, पसल वा कोठामा चोरी भएको शंका लागेमा आफू तथा कोही कसैलाई पनि प्रवेश गर्न नदिई नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गर्नुहोस् ।
९.आफ्नो घर, होटल, पसल वा कोठा कसैले निगरानी गरेको जस्तो शंका लागेमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गर्नुहोस् ।

चर्चामा

सम्बन्धित समाचार