नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । जसमा बाजुरा जिल्लाको बडिमालिका क्षेत्र मात्रै समेटिएको छ । पर्यटन भनेको व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रा हो भने विभिन्न किसिमका उद्देश्यहरु राखी देशको भौगोलिक सिमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ ।
देशभित्रका ठाउँ घुमघाम गर्ने काम आन्तरिक पर्यटन हो भने देश बाहिर घुमघाम गर्ने काम बाह्य पर्यटन हो । पर्यटन गर्ने काम खास गरेर कमाउने उद्देश्य राखेर वा नराखेर पनि गरिन्छ । मनोरञ्जन, स्वास्थ्य, अध्ययन वा अन्य भिन्न परिवेशको अनुभव बटुल्नका लागी पनि पर्यटन गरिन्छ ।
प्रकृतिले हरेक ठाउँलाई केहि न केही विशेषता उपहारको स्वरुपमा दिएको हुन्छ । त्यस्तै मध्ये प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण बाजुरा जिल्ला पनि एक ‘माल पाएर नि चाल नपाएको’ जिल्ला हो । गरिबी, भोगमरी, खडेरी, अनिकाल, छुवाछूत, छाउपडी लगायतका विभेदजन्य कार्यहरूले गिजोलिएका कुराहरू मात्र चर्चामा आइरहनु दु:खद कुरा हो ।
मानव सुचकाङ्कको पुच्छरमा अर्थात् ७७ औं स्थानमा रहेको जिल्लाले यस्तै महत्त्वपूर्ण मौकाको सदुपयोग गर्दै फाइदा लिन सक्नुपर्दछ । अल्पविकसित र विकासोन्मुख मुलुकलाई आर्थिक दिशातर्फ डोर्याउन बाह्य वा आन्तरिक पर्यटनको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । आन्तरिक पर्यटन मनोरञ्जनका लागि मात्र नभएर पेशा, व्यवसाय, व्यापार, नोकरी, उद्योग, स्वास्थ्य उपचार, शिक्षा, तिर्थाटन, खेलकुद आदिको लागि हुने गर्दछन् ।
अर्थशास्त्रको परिभाषा अनुसार ‘व्यक्ति (धनी) हरूले जति बढी आर्जन गर्छन त्यति नै उनीहरूमा फाल्तु कुरामा खर्च गर्ने प्रवृति बढेर जान्छ ।’ अर्थात धन/पैसा हातमा परेपछि व्यक्तिले चाहिएको वस्तुमा खर्च गरौं गरौं लाग्छ, विभिन्न मनोरञ्जन, घुमफिर, लुगाफाटो,अन्य किनमेलमा खर्च गर्ने गर्छन् । पछिल्लो समय नेपालमा पनि कमाइ गरेपछि पैसा खर्च गर्नुपर्छ भन्ने धारणाको विकास हुन थालेको छ । खासगरि विदेशको पढाई लेखाइ तथा वैदेशिक रोजगारीको कारण क्रयशक्ति वृद्धि भएका कारण पनि प्राय नेपाली खर्च गर्न सक्ने स्थितिमा पुगिसकेका छन् । अब नेपालमा पनि आन्तरिक पर्यटन व्यवस्थित किसिमले विकास हुने सक्ने सम्भावना देखिदै गएको छ । आन्तरिक पर्यटनले स्थानीयको आय आर्जनमा वृद्धि गर्छ र स्थानीय तहमै रोजगारीको वातावरण सिर्जना हुन्छ ।
बाजुराका पर्यटन संभावना बोकेका राष्ट्रिय रूपमा परिचीत बडिमालिका भगवती मन्दिर र क्षेत्र, स्वर्गीय आनन्द दिने, भूस्वर्ग रम्य प्राकृतिक वातावरण ठूल्ठूला पाटन क्षेत्र रहेको बुढिनन्दा भगवतीको मन्दिर, विश्वकै दोस्रो स्थानमा रहेको निजार ताल (बुढिनन्दा भगवती गाथको निजार दह) मष्टा दह, धौली दह हुँदै झरेको मनमोहक झरना आधा दर्जन भन्दा बढी तालहरू रमणीय पाटनका साथै अलौकिक फूलबारी । प्रख्यात भूस्वर्ग खप्तड राष्ट्रिय निकुञ्ज ।
ऐतिहासिक चौबिसे राज्य मध्यको एक बार्जुकोट दरबार र सहायक कुणिकोट, जुगाडाकोट, काँडाकोट अनि स्थानीय क्षेत्रमा परिचित धार्मिक तथा पौराणिक स्थलहरू जुम्लाको चन्दननाथ मन्दिर भन्दा पुरानो मानिने दुई पाउ भएको कोल्टी चन्दननाथ मन्दिर, राष्ट्रिय गौरवका आयोजनाको विचमा पर्ने पौराणिक धार्मिक स्थल पादुका त्रिवेणी धाम (पादुका, पिलु र देउराको संगम, कर्णाली नदि पानीको बिचमा ज्वाला बल्ने) जहाँ मानासरोवर कैलाश दर्शन गरिसकेपछि पादुका दर्शन गर्नैपर्ने लोकोक्ति छ ।
कुण्डा क्षेत्रका बासिन्दाले अधिक मान्दै आएको जगन्नाथ ठाकुरजीको मन्दिर लुमा, ठूलो देवस्थान स्वामिकार्तिक, सिम्भूनाथ, खापर देवताका माणु, पूर्व सम्मका बासिन्दाले समेत विश्वास गरेको र अदालतले समेत न्याय दिन नसकेका मुद्दा सल्ट्याउँदै आएको तलिगोठी ठिनकोटी कैलाश,लालिचौर कैलाश, जरणी कैलाश, लोहाको साङ्लो चुडाएर राज्य बचाएको लोहासुर माणु धिम र बोत्ताँ, देशभित्र मात्रै होइन विश्वभर नै बसाइँ सरेका बाहुन/क्षेत्रीहरूको कुलान्त्या देउता मष्टो (मष्टाका बाह्र भाइ मानिन्छन्, ठाउँ अनुसार मान्ने चलन छ प्रायः प्रत्येक गाउँमा माणुको थपना गरिएका छन् ) ज्युलेखिमष्टा, बलैमष्टा, गल्लेखमष्टा छेडेदह बनघर, माैर्या त्रिवेणी धाम, सदरमुकाम नजिकैको बिरेखाेला झरना, बझाङ र बाजुरामा पर्ने जेठि बहुरानी हिमाल, बडमेला भगवतीको मन्दिर छेडेदह, बथानलेख मैतोला,धल्पूरी दह, बडीमालिका भण्डार गृह पैमा, बार्जु बाजथला, जालपादेवी मन्दिर, भगवतीको प्रतिक मानिने भीमकाय डुनिमुङ्ग्रा ढुङ्गा संभवत देशभरिकै अचम्म अलौकिक ठूलो ढुङ्गा हुन सक्छ । भगवती ढुङ्गा, धवल ढुङ्गा डोगडि, नन्दादेवी मन्दीर चाल्न्याँगणो, पुन्याँखेत आदि पौराणिक र ऐतिहासिक स्थल भएकाले पर्यटक सजिलै भित्र्याउन सकिने अवस्था देखिन्छ । कुरूखोलाको सिमकुरू ताल र चौर, हिमाली गाउँपालिकाको सैन पाटन, हिमाल र ताल, प्राचीन विछ्याँको गुम्बा जुन बौद्ध धर्मावलम्बीहरूका लागि अझ बिशेष हुनसक्ने ।
नुरि गाउँकै छेउमा भेटिएको अद्भुत कमल गुफा जमिन मुनि तलै तला भएको जगतले मान्दै आएका सम्पूर्ण ईश्वरका प्रतिमूर्ती ढुङ्गामा कुँदिएका, प्राकृति ढुङ्गाबाटै अनेकौं तालका बाजा बजाउन सकिने । पाण्डव गुफा गोत्री/मोहती । सहि व्यवस्थापन गर्न सक्ने हो भने पोरखे लेक,छेडेदह, त्रिवेणी, कर्णालीका छेउछाउ र विभिन्न चउर, जङ्गल भित्रका फराकिला फाँट भएको ठाउँमा यातायातको सुविधा पुगेको हुनाले पिक्निक स्पोर्ट्स बनाएर छिमेकी जिल्ला र जिल्ला भित्रकै स्कुल कलेज क्लब सहकारी, संघ संगठन आदि लाई केहि सुबिधा सहितको लेबि लिइ आमन्त्रण गर्न पनि सकिन्छ ।
चुनौती हरेक क्षेत्रमा हुन्छन् तिनलाई उचित तरिकाले समाधान गर्ने उपायको खोजी गरिनुपर्छ । त्यसका लागि व्यावसायिक पर्यटन, सभासम्मेन ( राजनीतिक दल तथा निजि संघ संस्थाका मासिक / पाक्षिक / वार्षिकोत्सब साँस्कृतिक महोत्सव) रैथाने व्यापार मेला, रैथाने सीप सम्बन्धि मेला, क्षेत्रीय, प्रदेश स्तरीय रचनात्मक/ साहित्यिक मेला, प्रवर्द्धनात्मक कार्यक्रम गरेर गर्नुपर्छ ।
पदयात्राका लागि मार्तडी – कोल्टी पदयात्रा, मार्तडी – छेडेदह – गौमूल पदयात्रा, त्रिवेणि – नाटेश्वरी पदयात्रा, मार्तडी सैन ताल,पाटन पदयात्रा , त्यस्तै जङ्गल सफारी र ट्रेकिङका लागि कालाजाग्रा, दौनागिरी धाम जङ्गल आदि गन्तव्यस्थलको पहिचान गर्ने, विभिन्न गाउँ अनि उच्च लेकालि भेगतिरका जान सकिने गोरेटो घोडेको बाटोको मर्मत सुधार गर्ने, विभिन्न उद्देश्यले भ्रमण गरिने हुँदा अमूल्य जडिबुटीको जानकारी लिन, रूख बिरूवाको अध्ययन गर्न, लेकाली चराचुरुङ्गीका बारेमा खोज खबर गर्न बढि प्रभाकारी हुने देखिन्छ ।
त्यस्तै जलयात्राका लागि अझ बढी संभावना देखिन्छ बुढिगङ्गा, छेडेदह जस्ता साना नदि र तालमा डुङ्गाको व्यवस्था अनि घरछेउमै बगेको कर्णालीलाई सदुपयोग गर्दै पर्यटक आकर्षण गर्न सहजै र्याप्टिङको सुविधा उपलब्ध गराउनु पर्छ । आक्कलझुक्कल स्थानीय नेताकार्यकर्ता मात्रैले रहर गरेको देखिन्छ त्यसको प्रचारप्रसार गरी सुरक्षीत र भरपर्दो र्याप्टिङगको व्यवस्था गरिनुपर्छ । पर्यटन विकासका लागि पर्यटक भित्राउन नेपाल पर्यटन वोर्डका प्रतिनिधि र जिल्लाका सराेकारवाला निकाय बिच छलफल गर्ने ।
जिल्लाका लक्षित आसन्न गन्तव्य र व्यवसाय प्रवर्धन अन्तरक्रिया कार्यक्रम गर्ने, बाजुराको दिगो पर्यटन विकासका लागि र व्यवसायलाई दिगो बनाउन लक्षित गन्तव्य र भरपर्दो विश्वसनीय बनाउन नीति निर्माण गरिनु पर्छ । सिमासँग जाेडिएका जिल्लाका पर्यटकीय स्थलहरुको प्रोमोसनमा पनि नेपाल पर्यटन बोर्ड लागेकोले सहकार्य गर्दै व्यवसायीहरुले आफ्नो व्यवसाय तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्नुपर्छ । पर्यटकहरू मनोरञ्जनका अतिरिक्त पदयात्रा, पर्वतारोहण, व्यापार, र अनौपचारिक रूपमा पनि आउने गर्दछन् ।
धार्मिक तथा साँस्कृतिक सम्पदा धेरै भएको ठाउँमा तिर्थयात्रा गर्ने उद्देश्यले बढी भएको देखिन्छ । पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै जिल्ला, गाउँपालिका र नगरपालिका स्तरमा महोत्सवहरू भए तर महोत्सवको बेला बाहेक पर्यटकको अघिपछि कुनै रौनक देखिएन । आजसम्मका महोत्सवले आन्तरिक पर्यटक भित्र्याउन सफल भए वा भएनन् त्यसको समिक्षा हुन आवश्यक छ ।
सरसर्ती बाहिरबाट हेर्दा छिटफूट रूपमा केही लेखक र केहि अधिकारकर्मीहरू (कोहि निजि कार्यलयको कामले बाध्यता भएर त कोहि स्व-ईच्छा पूर्वक ) जाने काम बाहेक अन्य पर्यटक भित्रीएका देखिदैनन् । महोत्सवका बेला आयोजककै लगानीमा दुईचार दिन बस्न आइपुगेका कलाकारहरूले गर्दा महोत्सव सफलता भएको मानिएला तर पर्यटन विकासमा सफलता मिलेको र टेवा पुगेको मान्न सकिदैन ।
भग्नावशेषमा रहेको ऐतिहासिक बार्जुकोट दरवार स्थानीय सरकारले पहल गर्नुपर्ने देखिन्छ र जिल्ला स्तरबाटै निति निर्माण तर्जुमा गरि रेखदेख र प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अधिकांश भारतीय हिन्दु धर्मावलम्बीको रोजाइ तिब्बतमा अवस्थित मानासरोवर हुने हुँदा बाजुराको बाटो हुँदै जाने वातावरणको सिर्जना गरि मुख्य कर्णाली करिडोर र रारा पर्मिट रूट पनि जिल्लामै पर्ने हुँदा त्यतापट्टी ध्यान दिइनुपर्छ ।
पर्यटकको आवागमनले मुद्रा आर्जन हुने, रोजगारीको अवसर पैदा हुने घरेलु उद्योग धन्दाको विकास साँस्कृतिक आदानप्रदान हुने हुँदा पर्यटकीय पूर्वाधार विकास सम्बन्धि विषयमा जिल्लाका सरोकार निकाय तथा निजि क्षेत्र विच समन्वयातमक / सहकार्यात्मक छलफल र जिम्मेवारी बोधका साथै स्रोत साधनको उचित बाँडफाँड र उपयोग जस्ता नितिगत विषय तथा सडक, खानेपानी, विद्युत, सञ्चार जस्ता आधारभूत कुराहरूलाई मध्यनजर गर्नुपर्छ ।
स्थानीय परम्परागत साँस्कृतिक चाडवाड लाई लक्षित गरि पर्यटन व्यवसायीसँग छलफल गरि पर्यटक भित्र्याइनु पर्छ । जिल्ला भरिकै गाउँगाउँमा मनाईने भुवा पर्व, चाली खेल, देउडा खेल,भारी खेल पैठमेलाका चाणची आदि पौराणिक खेलहरू सिक्न नयाँ पुस्तालाई पनि सिक्न हौस्याउनु पर्छ ।
मार्तडीको अनन्ते, कोल्टीको दशैँ, साप्पाटाको भूवा, धिमको खौँ, नुरिको साउनपुनी, बाँधुको कुलोसोइर्याईँ, वाईको चौदशी मेला, बडालेख मेला र जस्ता स्थानीय पौराणिक ऐतिहासिक जात्राका बिशेषताले नयाँ खोज अनुसन्धान पर्यटक भित्र्याउने माहोल र आफ्नो पहिचान थाहा पाउन महत्त्वपूर्ण अवसर पनि हुन् । पर्यटन व्यवसायलाई अझ बढी आकर्षक बनाउन पर्यटकलाई असुबिधा हुन नदिने, उपयुक्त र स्तरीय सेवा सुविधा प्रदान गर्ने, स्थानीय परिकारलाई महत्त्व दिने, कोल्टी र मार्तडीमा एकएक बहु सुविधायुक्त होटेलका लागी व्यवसायीसँग छलफल गरेर व्यवस्था गर्नुपर्ने हुन्छ ।
पर्यटकलाई आफूले निर्माण गरेका नीति नियमको पूर्व जानकारी दिने, निश्चित नीति नियम तय गर्ने, फोहोर र वातावरणीय प्रदुषण बढ्न नदिने ताकी खल्लो महशुस हुने अवस्था नआओस् । पर्यटकको चासोलाई मध्यनजर राख्दै ऐतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण, हेरचाह गर्ने, पर्यटकलाई ठग्ने, दु:ख दिने, सुलभ सुरक्षीत र भरपर्दो यातायात वा हवाई सुविधाको व्यवस्था गर्ने, भाडादरमा मनोमानी र यात्रुलाई ठग्ने मनोभावना हटाउनु पर्छ ।
समस्या आउँदा पर्यटकलाई औषधोपचारको आवास्यकता पर्ने हुँदा जिल्लाका उचित ठाउँमा उचित व्यवस्था सहितका स्वास्थ्यकेन्द्रको व्यवस्थापन गर्ने । स्थानीय पेशा अपनाएका व्यक्तिलाई सम्मान गर्दै तिनीहरुबाट निर्मित काठ र माटा बनाइएजा विभिन्न सामग्रीको उचित बजार व्यवस्थापनको वातावरण सिर्जना गरिदिनुका साथै पर्यटकलाई ती उत्पादित वस्तु नै उपहार स्वरूप दिने गर्नुपर्छ ।
जिल्लास्तरबाटै सबै स्थानीय तहका दिग्गज व्यक्ति समेटेर पर्यटन अवधिका साथै दीर्घकालीन योजना बनाई जिल्लाका पर्यटकीय स्थलहरूको संरक्षण र संवर्धन गर्न र पर्यटन व्यवसायलाई विविधीकरण गरि विस्तार र विकास गर्नका लागि ‘जिल्ला पर्यटन प्रचारप्रसार तथा संरक्षण, संवर्धन समिति गठन गर्दा जिल्लाको पर्यटन विकास प्रभावकारी हुन सक्छ ।
बाजुरा पहाडी ग्रामीण क्षेत्र भएकोले ग्रामीणमुखी पर्यटन क्षेत्र विस्तार गर्न सकिने भएकोले जिल्लामा रोजगारीका नयाँ अवसर सिर्जना हुने र यसबाट ग्रामीण जीवनस्तरमा वृद्धि हुन गई क्षेत्रीय सन्तुलन कायम राख्न तथा गरिबी निवारण गर्न पनि मद्दत पुग्नसक्छ । विकासको सम्भावना सहज र खर्चिलो भई दृष्टि पुग्न नसक्ने पर्वतीय तथा दुर्गम क्षेत्रका लागि पर्यटन एउटा सशक्त लाभदायी आर्थिक क्रियाकलाप सिद्ध भइसकेको छ । ग्रामीण क्षेत्रमा पर्यटनको विकास भएमा प्राकृतिक स्रोतको अध्ययन, अनुसन्धान र परिचालन गराउन मद्दत पुग्नेछ । यसरी पर्यटन विकासले गर्दा विद्यमान आर्थिक तथा सांस्कृतिक सम्पदाको अध्ययन भई अनुसन्धान गर्ने कार्यमा थप सहयोग पुग्नेछ ।
स्थानीय बजारको विकास हुने, स्थानीय व्यक्तिले रोजगारी पाउँने, स्थानीय स्रोत साधनको विकास र विस्तार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हुने गर्दछ । पर्यटनले समाजलाई यथास्थितिवादबाट माथीउठेर प्रगतिशीलको मार्ग तय गर्ने काम गर्दछ । जनतामा चेतनाको विकास हुन्छ, जातीय विभेद, छुवाछुत, छाउपडी आदिजस्ता सामाजिक कुरीति समाप्त हुन्छ र समाजले काँचुली फेर्छ । गरिबी, असमानता, बेरोजगारी जस्ता समस्या समाधान गर्नमा समेत सहयोेग प्राप्त हुने गर्दछ ।