• होमपेज
  • शिक्षा
  • देवस्थली माविको दुर्दशाः ९ बर्षदेखि भवन अलपत्र, भुकम्पले चिराचिरा पारेको जीर्ण भवनमा पठनपाठन

देवस्थली माविको दुर्दशाः ९ बर्षदेखि भवन अलपत्र, भुकम्पले चिराचिरा पारेको जीर्ण भवनमा पठनपाठन

एउटै कोठामा तीन कक्षाका विद्यार्थीसँगै राखेर पठनपाठन

  • आइतवार, असार ९, २०८१
देवस्थली माविको दुर्दशाः ९ बर्षदेखि भवन अलपत्र, भुकम्पले चिराचिरा पारेको जीर्ण भवनमा पठनपाठन
तस्विरःटेक बहादुर बुढा

टेक बहादुर बुढा —बाजुराको देवस्थली माध्यमिक विद्यालयमा भूकम्पले चिराचिरा परेको जीर्ण भवनमा पठनपाठन हुदैं आएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ माटेसाँघुमा रहेको देवस्थली माविमा कक्षाकोठा अभावमा पठनपाठनमा सास्ती खेप्दै आएको छ ।

गत बर्षको असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्र बिन्दु बनाएर गएको भूकम्पले विद्यालयको भवन चिराचिरा भएर जीर्ण बनेपछि पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । कक्षा ८ सम्मको मात्रै अनुमति पाए पनि अहिले इसिडी देखि कक्षा १० सम्म पठनपाठन हुने देवस्थली माविमा एक पक्की भवन र भूकम्पले जीर्ण बनेका दुई कच्ची टिनले छाएको भवन मात्रै हुँदा एउटै कोठामा तीन कक्षाका विद्यार्थीहरु सँगै राखेर पठनपाठन गर्नु पर्ने बाध्यता रहेको छ ।

२०७१ सालमा ठेक्का सम्झौता भएर करोडौं रुपैयाँको लागतमा बनिरहेको पक्की भवन ९ बर्षदेखि अलपत्र अवस्थामा रहेको देवस्थली माविले कक्षाकोठाको अभाव देखाउँदै जीर्णभवनको कोठामा पशु चौपाया जस्तै राखेर पठनपाठन गरिरहेको छ ।बस्ने बेच्न, बनाइएका कक्षा कोठा, विद्यालयको कार्यालयको व्यवस्थापन, खेल्ने चौर र अन्य संरचनाको अवस्था हेर्दा पशु चौपाया बाँध्ने गोठ भन्दा तल्लो अवस्थाकै संरचना देखिन्छ । यसमा सरोकारवाला मौन छन् विरोध गर्ने कसैले हिम्मत राख्दैनन् ।

कक्षा १० सम्म दुई सय १९ विद्यार्थी भर्ना भएपनि अहिले असारको महिना लागेको बाहना गर्दै दैनिक कक्षाकोठामा ५०।६० जना विद्यार्थी मात्रै उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक लाल बहादुर शाहीले बताए । प्रधानाध्यापक शाहीले भने,“कक्षाकोठा अभावले जीर्ण भवनको एउटै कोठामा इसिडी, एक र ६ कक्षाका विद्यार्थीहरुलाई सँगै राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ ।” उनका अनुसार एउटै कोठामा कक्षा दुई र तीनका विद्यार्थीहरुलाई एउटैमा राखेर अध्यापन भइरहेको छ । अहिले निर्माणाधिन भवनको निर्माणकार्यमा पनि ढिलाई भएको भन्दै सरोकारवालाहरुको पहलमा समयमै भवन बने पठनपाठनमा सहज हुने र कक्षाकोठाको अभाव नहुने प्रअ शाहीले बताए ।

देवस्थली माविमा दुई करोड बढीको लागतमा २०७७ सालमा लक्ष्मण स्वारले ठेक्का सम्झौता गरेको पक्की भवन अहिले निर्माणाधिन अवस्थामा रहेको छ । विद्यालयमा निर्माणाधिन पक्की भवन बनेपछि कक्षाकोठाको अभाव नहुने र थप व्यवस्थापनका लागि वडा तथा पालिका लागि परेको वडा अध्यक्ष भक्त बुढाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार