
बाजुरा— “छाउपडी कु–प्रथा अन्त्य गरौँ, स्वच्छ समाज निर्माण गरौँ” भन्ने मूल नारासहित बाजुराको बडीमालिका नगरपालिका–७ लाई आज एक औपचारिक कार्यक्रमका बिच छाउपडी कु–प्रथा तथा गोठमुक्त वडा घोषणा गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएसँगै बडीमालिका नगरपालिकाका आठ वटा वडा छाउपडी गोठमुक्त बनेका छन्।
नगरपालिकाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख’ कार्यक्रम अन्तर्गत वडा नं. ७ आठौँ छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा भएको हो। नगरपालिकाले सामाजिक कुरीतिका रूपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ। कार्यक्रमअनुसार कुनै पनि वडालाई छाउपडी गोठमुक्त घोषणा गर्न कम्तीमा ९० प्रतिशत घरधुरीमा छाउगोठ प्रयोग बन्द भएको हुनुपर्ने मापदण्ड रहेको छ। सोही मापदण्ड पूरा भएपछि वडा नं. ७ लाई औपचारिक रूपमा गोठमुक्त घोषणा गरिएको हो।
कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष धर्मराज पाध्यायले केही वर्षअघिसम्म छाउपडी प्रथा अत्यधिक प्रचलनमा रहेको यस वडामा अहिले उल्लेखनीय परिवर्तन आएको बताए। उनले भने, “वडामा ४५५ घरधुरी र २ हजार ७१२ जनसंख्या रहेको छ। पालिका, वडा, महिला समूह, स्वास्थ्य स्वयंसेविका, विद्यालय, सञ्चारकर्मी तथा सरोकारवाला निकायको निरन्तर सहकार्य, घरदैलो अभियान, जनचेतना कार्यक्रम र नियमित अनुगमनका कारण आज हामी यो उपलब्धिमा पुगेका छौँ।”
उनका अनुसार अभियान सुरु हुँदा वडामा रहेका १८ वटा छाउगोठ तथा बीचको अवधिमा थप बनेका १० वटा गोठ समेत पूर्ण रूपमा भत्काएर प्रयोगविहीन बनाइएको छ। महिलाहरू अहिले सुरक्षित रूपमा आफ्नै घरभित्र बस्न थालेका छन्। वडाले ‘आफ्नो गोठ, आफैँ भत्काऔँ’ अभियान सञ्चालन गरी स्थानीयलाई स्वयं गोठ हटाउन प्रेरित गरेको थियो। त्यससँगै संयुक्त अनुगमन टोलीले बाँकी रहेका गोठ हटाउन सम्बन्धित परिवारलाई पटक–पटक निर्देशन दिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा नगर उपप्रमुख नन्दा थापाले छाउपडी प्रथा मानव अधिकार, महिला सम्मान र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सामाजिक विकृति भएकाले यसको पूर्ण अन्त्य अपरिहार्य रहेको बताइन्। उनले भनिन्, “छाउपडी प्रथा र छुवाछूत जस्ता कुरीति अन्त्य नगरी समाजले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्दैन। सभ्य समाज निर्माणका लागि यस्ता कुसंस्कारको अन्त्य अनिवार्य छ।” उपप्रमुख थापाले नगरपालिकाले यसअघि सात वटा वडालाई गोठमुक्त घोषणा गरिसकेको स्मरण गराउँदै वडा नं. ७ थपिएसँगै आठ वडा गोठमुक्त बनेको जानकारी दिइन्।
उनले चालु आर्थिक वर्षभित्र बाँकी रहेको वडा नं. १ लाई समेत गोठमुक्त घोषणा गरी सम्पूर्ण बडीमालिका नगरपालिकालाई छाउपडी कु–प्रथा तथा गोठमुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको स्पष्ट पारिन्। उनले भनिन्, “छाउपडी अन्त्य नै सभ्य समाज निर्माणको आधार हो। महिलाले सुरक्षित, सम्मानजनक र अधिकारसहितको जीवन बिताउने वातावरण सिर्जना गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ।”
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले छाउपडी गोठमुक्त घोषणा केवल औपचारिक प्रक्रिया नभई समाजको सोच र व्यवहार परिवर्तन गर्ने अभियान भएको बताए। उनले भने, “घोषणा गरेर मात्र पुग्दैन। वास्तविक परिवर्तन घर–परिवार र समाजको व्यवहारमा देखिनुपर्छ। त्यसका लागि स्थानीय सरकार, नागरिक, विद्यालय, महिला समूह, सञ्चारमाध्यम र सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक छ।” जोशीले छाउपडी, भेदभाव र छुवाछूतविरुद्ध दीर्घकालीन जनचेतना फैलाउनुपर्नेमा जोड दिँदै सामाजिक परिवर्तनका अभियानलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले छाउपडी प्रथा महिलामाथिको विभेद, अन्धविश्वास र असमानताको प्रतीक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सुरु भएको अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए। वक्ताहरूले घोषणापछि पनि कुनै पनि परिवारले पुनः छाउगोठ निर्माण वा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, विद्यालयबाट बालबालिकामा चेतना फैलाउनुपर्ने, महिला समूहलाई थप सक्रिय बनाउनुपर्ने र समुदायस्तरमा नियमित अनुगमन जारी राख्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले छाउपडी अन्त्यका लागि स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी, महिला समूह तथा नागरिक सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरे।
जनचेतनामूलक कार्यक्रम र सम्मान
घोषणा कार्यक्रममा देउडा, सडक नाटक, एकल गायन तथा छाउपडीविरुद्धका जनचेतनामूलक सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। छाउपडी गोठमुक्त अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्य संस्था, विद्यालय, टोल विकास संस्था, महिला समूह, स्वास्थ्य स्वयंसेविका, सञ्चार संस्था, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायलाई सम्मान तथा प्रशंसापत्र समेत प्रदान गरिएको थियो।
वडा सदस्य लोकेन्द्र रोकायाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा सदस्य झिरु विक, महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकाया, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सहयोगी संस्थाका प्रतिनिधि, महिला समूह, स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बडीमालिका नगरपालिकाले अब बाँकी रहेको वडा नं. १ लाई पनि छाउपडी गोठमुक्त घोषणा गरी चालु आर्थिक वर्षभित्र सम्पूर्ण नगरपालिकालाई छाउपडी कु–प्रथा तथा गोठमुक्त पालिका घोषणा गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।


