• होमपेज
  • देश/प्रदेश
  • बाजुरामा गगन र देउवा पक्षद्वारा छुट्टाछुट्टै रूपमा विपी स्मृति दिवस मनाइयो

बाजुरामा गगन र देउवा पक्षद्वारा छुट्टाछुट्टै रूपमा विपी स्मृति दिवस मनाइयो

  • बुधबार, साउन ६, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा गगन र देउवा पक्षद्वारा छुट्टाछुट्टै रूपमा विपी स्मृति दिवस मनाइयो

बाजुरा–नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइरालाको स्मृति दिवस बाजुरामा पनि गगन र देउवा पक्षले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका छन्। नेपाली काँग्रेस देउवा पक्षले जिल्ला अस्पताल बाजुरामा बिरुवा रोपेर स्मृति मनाएका हुन् भने यता गगन पक्षले विपि स्मृति भवनमा बृक्षारोपण तथा बिपिको फोटामा माल्यापण गरि मनाएको हो।

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक समूहगत ध्रुवीकरण बाजुरामा पनि स्पष्ट देखिएको छ। पार्टी सभापति गगन थापा पक्ष र निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले अलग,अलग स्थानमा कार्यक्रम आयोजना गर्दै विपी कोइरालाको योगदानको स्मरण गरेका छन्।

दुवै कार्यक्रममा विपी कोइरालाले नेपाली राजनीतिमा पुर्‍याएको योगदान, लोकतन्त्र स्थापनाका लागि गरेको संघर्ष, राष्ट्रिय एकता, समाजवाद र लोकतान्त्रिक मूल्य,मान्यताबारे चर्चा गरिएको थियो। विपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै कांग्रेसले विपीको आदर्शलाई व्यवहारमा उतार्नुपर्ने धारणा नेताहरूले राखेका छन् ।

गगन थापा पक्षले आयोजना गरेको कार्यक्रममा बाक्लो सहभागिता देखिएको थियो भने देउवा पक्षमा खासै सहभागीता भएको देखिएन । कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताए। नेताहरुले संगठनलाई एकताबद्ध बनाएर जनताको विश्वास जित्नुपर्नेमा जोड दिएका थिए। त्यस्तै, देउवा पक्षले आयोजना गरेको कार्यक्रममा पनि विपी कोइरालाको राजनीतिक योगदानको स्मरण गर्दै पार्टीभित्र आपसी सहकार्य, अनुशासन र संगठनात्मक एकतालाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। कांग्रेसलाई बलियो बनाउन सबै नेता,कार्यकर्ता एकजुट हुनुपर्ने धारणा राखेका थिए।

एउटै उद्देश्य र एउटै महान् नेताको स्मृतिमा कार्यक्रम आयोजना गरिए पनि फरक–फरक रूपमा कार्यक्रम सम्पन्न हुनु कांग्रेसभित्रको आन्तरिक समीकरणको प्रतिबिम्बका रूपमा हेरिएको छ। जिल्लाको राजनीतिक वृत्तमा समेत विभिन्न टिकाटिप्पणीहरू हुन थालेका छन् । कतिपयले यसलाई आन्तरिक प्रतिस्पर्धाको सामान्य प्रक्रिया मानेका छन् भने कतिपयले यसले पार्टी एकतामा चुनौती थप्न सक्ने बताएका छन्। यद्यपि दुवै पक्षका नेताहरूले कार्यक्रम फरक भए पनि उद्देश्य विपी कोइरालाको योगदानको सम्मान गर्नु र उहाँका विचारलाई नयाँ पुस्तामाझ पुर्‍याउनु नै रहेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार