‘मार्तडीमा केहि समय बस्यो भन्यापछि यी मान्छेलाई बाटोमा नहिड्न्या बनाइदिन्छु म,‘ ०८० माघ २५ गतेका दिन मार्तडीमा आयोजित पार्टीको कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य कर्ण थापाले एमालेकै अर्का नेता केन्द्रिय सदस्य लालबहादुर थापा र उनको समूहलाई लक्षित गर्दै भनेका थिए ‘प्रत्येक पलपलमा कसले के भूमिका खेल्यो भन्ने बताइदियापछि कतिपय मान्छेलाई बाटोमा हिड्न गाह्रो होला । सपार्न नसके पनि बिगार्न नलागे हुन्छ ।’
स्थायी कमिटि सदस्य थापाले मन्तब्यका क्रममा लालबहादुर थापा पक्षधरतर्फ संकेत गर्दै उनीहरुले सर्वसाधारण कार्यकर्तालाई दुरुपयोग गरिरहेको र उनीहरुको जीन्दगी बिगारिरहेको संगीन आक्षेप पनि लगाएका थिए । उनले भनेका थिए ‘अहिलेसम्म पक्ष लिएको थिएन, अब लिन्छु पक्ष ।’
स्थायी कमिटि सदस्य थापाको कार्यक्रम बहिस्कार गरिरहेको लालबहादुर थापा समूहले आफ्नो पक्षविरुद्ध त्यति चर्को र आवेगात्मक अभिव्यक्तिप्रति पनि कहिँकतै सार्वजनिक प्रतिक्रिया दिएन । चुपचाप भित्री रुपमा योजना निर्माण गर्नमा समय खर्चि रहेको थियो । यत्ति स्मरण गर्दै गराउँदै अब हालै सम्पन्न एमाले बाजुराको आठौं जिल्ला अधिवेशन, नतिजा र आगामी सम्भावनाका बारेमा संक्षिप्त रुपमा चर्चा गरौं ।
दृष्य : १
स्थायी कमिटि सदस्य थापाको उक्त आक्रोस र चुनौति मिश्रित अभिव्यक्तिको करिब तीन महिनापछि ०८१ जेठ १ देखि ६ सम्म आयोजित एमालेको आठौं बाजुरा जिल्ला अधिवेशन थापा स्वंमका लागि एक प्रकारले परीक्षा थियो । जेठ एक गतेदेखि सुरु भएर ७ गते सम्पन्न जिल्ला अधिवेशनमा उनले माघमा ‘अहिलेसम्म पक्ष लिएको थिएन, अब पक्ष लिन्छु’ भनेकै लाइनमा प्यानल खडा गरे । तर त्यसबेला कुनै सार्वजनिक प्रतिक्रिया नदिएर चुपचाप बसेको लालबहादुर थापा समूहले चुनावी परिणामका माध्यमबाट कर्ण थापालाई भएभरको एकमुष्ट जवाफ दियो । कर्ण थापाको प्यानल लगभग पुरै पराजित भयो । लालबहादुर थापाको प्यानलका उम्मेदवारले सम्पूर्ण पधाधिकारीसहित अधिकांश सदस्यहरुसम्मका पदमा शानदार विजय प्राप्त गरे । पदाधिकारीसहित ४४ पदमा भएको निर्वाचनमा कर्ण थापा प्यानलमा प्रष्ट देखिएका ६ जना सदस्य पदका उम्मेदवार मात्रै निर्वाचित हुन सके । पदाधिकारीमा एक जना पनि आउन सकेनन् । ५१ जना सदस्य पदका उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । ती मध्ये कर्ण थापा समूहमा प्रष्ट देखिएका ७ जना मात्रै निर्विरोध हुन सके । यसरी कूल ९५ जनाको कमिटिमा कर्ण थापा पक्षधर १३ जना सदस्य पदका उम्मेदवारहरु निर्वाचित हुन सकेका छन् । अर्थात कर्ण थापा समूहका १४ प्रतिशतभन्दा कम उम्मेदवार मात्रै निर्वाचित हुन सके । त्यो पनि जिल्ला कमिटि सदस्य पदका मात्रै । पक्षधरहरु ती को को सदस्य हुन भन्ने नामनामेसी लेख्न उपयुक्त नहुने ठानेर मैले यहाँ उल्लेख गरेको छैन । एक दुई जना ढुलमुलवाला पनि छन् ।
दृष्य : २
प्रतिस्पर्धाको मैदानमा कस्ता उम्मेदवार थिए भन्ने कुराले पनि अर्थ नराख्ने होइन । तर बाजुराको यस अधिवेशनमा खास गरि अध्यक्षका उम्मेदवारका हकमा त्यो कुरा लगभग गौण थियो भन्ने नै लाग्छ । यत्ति मात्रै भनौ कि अध्यक्ष पदका एक उम्मेदवार सम्भवतः सात्विक भोजनमा रुची राख्ने हुन् र अर्का उम्मेदवार तामसी भोजनमा रुची राख्ने हुन् । तर अधिवेशन र नतिजाको आधारभूत समिक्षाको यो आलेखमा यो भोजन सोजनको कुराले के संकेत गर्न गराउने खोजेको होला भन्ने पनि लाग्ला कतिपयलाई । त्यसर्थ यस सन्दर्भमा यो भन्दा बढि चर्चा गरिनँ । किन कि मुलभुत कुरा त कसको कमाण्ड कहाँ थियो भन्ने नै हो ।
लालबहादुर ओलीको कमाण्ड लालबहादुर थापाको हातमा थियो । जसलाई कालीबहादुर शाहीले मजबुत टेको दिएका थिए । यता भरत थापाको उम्मेदवारीमा कर्ण थापाको कमाण्ड थियो । प्रकाश शाह, सहदेव बोगटी, बलदेव रेग्मी लगातयका नेताहरु कर्ण थापाको छातामूनि देखिएका थिए । लालबहादुर थापा समूहबाट उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दिएका नेताहरु पनि तुलनात्मक रुपमा स्थापित व्यक्तिहरु थिए ।
झट्ट हेर्दा कर्ण थापाको समूहमा केन्द्रिय नेता बढि देखिएकाले उनको पल्ला भारि भइहाल्छ कि भन्ने झिनो अपेक्षा राख्ने कार्यकर्ताहरु पनि थिए । तर धेरैका अनुमान प्रतिनिधि संख्यामै धेरै फरक रहेकाले उछिन्न मुस्किल हुने पूर्वानुमान थियो । जुन मिल्यो । तर यसमा पनि मुख्य सन्देश भनेको कर्ण थापालगायत तीन तीन जना केन्द्रिय नेता एउटै कित्तामा उभिँदा पनि हरिविजोग हुनेगरि पराजय भोग्नु पर्दाको सन्देश कर्ण थापा समूहलाई गम्भीर धक्का पर्ने अवस्था उत्पन्न भइसकेको छ ।
दृष्य : ३
सबैभन्दा महत्वपूर्ण अर्थ त्यतिबेला प्रवाहित भयो, जति बेला निर्वाचितहरुको शपथ ग्रहण मार्तडीमा हुँदै थियो । जसले पदाधिकारीमा सतप्रतिशत र सदस्यमा पनि लगभग ८७ प्रतिशत उम्मेदवार जिताउने कमाण्ड लिएको थियो, उनै कमाण्डर लालबहादुर थापा त्यति महत्वपूर्ण घडीमा अनुपस्थित देखिए । आफ्नो समूहका उम्मेदवारहरुको जीतमा खुसीयाली साट्ने र औपचारिक बधाई अर्पण गर्न छाडेर उक्त सभामा अनुपस्थित मात्रै भएनन्, शपथ ग्रहणको कार्यक्रममा आफ्नो उपस्थित त्यागेर उनले कोल्टी मार्ग रोजे । मार्ग रोजाइको पनि अवश्य पनि अर्थ त छ नै तर त्यो भन्दा महत्वपूर्ण त्यही शपथ भइरहेको समय आसपास पोरखेबाट दुई वटा अर्थपूर्ण तस्विर सामाजिक सञ्जालमा पोष्ट गरे । रंगमान शाही र थापा आफू पोरखेको स्तुपामा उभिएर हात कस्दै पहिलो तस्विर भनिएको थियो ‘नयाँ शिराबाट राजनीति आरम्भ । मिशन ०८४ ।’ केही समयपछि दोस्रो तस्विर पोष्ट गरे उनले । कालीबहादुर शाही, रंगमान शाही लगायत ठूलै समूह लस्करै बसेको उक्त तस्विरको क्याप्सनमा भनिएको थियो ‘२०५४ सालमा निर्वाचित तत्कालीन जिल्ला विकास समितिको तीन जनाको टिम अहिलेसम्म सक्रिय राजनीतिमा, भावी राजनीतिका सन्दर्भमा सम्वाद आरम्भ ।’ दोस्रो सन्देश झनै अर्थपूर्ण थियो ।
यति मात्रै होइन, शपथ ग्रहण कार्यक्रममा अनुपस्थित हुनुको सिधा अर्थ शपथ ग्रहण गराउने व्यक्तिप्रति अस्विकृति । शपथ गराउने अधिकार र दायित्व स्वतः कर्णबहादुर थापालाई हुने नै भयो । किन कि उनी स्थायी कमिटि सदस्य हुन् । त्यस अवस्थामा दुई तह तल केन्द्रिय सदस्य मात्र रहेका लालबहादुर थापाले शपथ ग्रहण समारोहमा अनुपस्थिति जनाएर कर्ण थापा अस्विकार्य रहेको स्पष्ट सन्देश प्रवाह गरे । लालबहादुर थापा मात्रै होइन, कालीबहादुर शाही र रंगमान शाहीले पनि लालबहादुरकै निर्णयमा साथ दिएको देखियो । यो आफैमा बाजुराको एमाले राजनीति र व्यक्तित्वको टकराव, अधिवेशनको नतिजाका बीच निकै अर्थपूर्ण सन्देश हो ।
दृष्य : ४
कर्ण थापा समूहबाट उम्मेदवारी दिएका वर्तमान उपमेयरदेखि वडाध्यक्षहरुसम्मको पराजय देखियो । उनको समूहबाट चुनावमै गएर जित्ने वरिष्ट सदस्यमा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बाँनिया मात्रै देखिन्छन् । त्यो पनि उनले ल्याएको १९२ मत प्राप्तिसहितको विजय कर्ण थापाको विरासत मात्रको आड भन्दा पनि उनी आफ्नै मिहिनेतले पनि हो कि भन्ने आंकलन गर्न सकिने आधार छ । नत्र बाँनिया झै जित्ने भए त कर्ण थापाको रोजाईका पहिलो धर्साका नाम चलेका र आफैमा पनि राम्रै परिचय बनाएका पात्रहरु पनि पराजित भएका छन् । ती पात्रहरुको नाम पनि यहाँ नलेखौं भन्ने लाग्यो ।
दृष्य : ५
एमाले जिल्ला अधिवेशनको नतिजा लगभग सम्पूर्ण रुपमा आफ्नो कब्जामा पार्न सफल लालबहादुर थापा समूहले, खासगरि लालबहादुर थापाले आफ्नो पक्षमा कुनै हालतमा पनि नआउने देखेपछि आफ्नै गृह पालिकालाई यसपाली सम्पूर्ण रुपमा वेवास्ता गरे । तर उनले बुढीगंगाको सट्टा यस अघिदेखि आफ्नो नियन्त्रण वा प्रभावमा रहेको गौमुलसँगै खप्तड छेडेदहमा ध्यान विस्तारसहित केन्द्रित गरेको देखियो । त्यसको अर्थ अहिले र आगामी दिनमा बुढीगंगाबाट हुनसक्ने सम्भावित क्षतिलाई गौमुल र खप्तड छेडेदहबाट पूर्ति गर्न सकिने आकलन तथा प्राथमिकतासहित उनको रणनीति देखा परेको मान्न सकिन्छ ।
दृष्य : ६
कम्युनिष्ट गढ मानिने कोल्टी क्षेत्रलाई लालबहादुर थापाले आगामी दिनको खाकासहित आफ्नो एकल पकडमा राख्ने योजनालाई प्राथिमकतामा राख्ने रोडम्याप र लगभग सफलता पनि पाएको देखियो । कर्ण थापा समूहका बलदेवको प्रभावलाई फिका सावित गराउन सफल लालबहादुर थापाले रंगमान शाहीदेखि कालीबहादुर शाहीसम्मको सहकार्यको गाँठोलाई दरिलो गरि कस्न कसाउन सफल भएको देखियो ।
दृष्य : ७
कालीबहादुर शाहीले यसअघि आफ्नै पालिकामा इन्जिनियर पदमा काम गराइरहेका पुत्र विनोदलाई अनपेक्षित रुपमा यस अधिवेशनदेखि औपचारिक राजनीतिमा प्रवेश गराए । छोरा विनोदलाई पीता कालीबहादुरले भूगोलबाट सर्वसम्मत गराएर जिल्ला कमिटि सदस्यमा प्रवेश गराए । यो एक आकस्मिकता त हुँदै हो, साथै सुविचारित पनि । किन कि कालीबहादुर शाही यसपछि प्रदेश सांसदको प्रवल दावेदार हुन् । तर त्यसका लागि रंगमान शाही एकै समूहमा रहँदा सोचेजस्तो सहज नहुने आंकलनमा यो पृष्ठभूमि तयार गरिएको अनुमान गर्न गाह्रो छैन । अर्कोतिर रंगमान शाही पुत्र युवराज यस अघिदेखि नै राजनीतिमा छन् । हाल प्रदेश सदस्य रहेका युवराज आफैमा पनि चल्ताफुर्ता र परिचित पनि हुन् ।
यस अवस्थामा रंगमान शाही र कालीबहादुर शाही एउटै कित्तामा रहँदा आगामी निर्वाचनमा पदको स्वार्थ बाँझिने सम्भावित जोखिमलाई थापासहित तीनै जनाले अहिले नै व्यवस्थापन गर्न सहज हुने गरि विकल्पहरु सृजना गर्न खोजेजस्तो पनि देखिएको छ । कालीबहादुरले आफ्ना पुत्रलाई जिल्ला कमिटिमा प्रवेश गराउनुको अर्थ कथंकदाचित रंगमान शाहीलाई प्रदेश सांसदमा समर्थन गर्नु परिहाले आफ्ना पुत्र विनोदलाई पालिकाको बागडोरमा ल्याउने विकल्प खुला गरेजस्तो देखिन्छ । यस सन्दर्भमा कालीबहादुर शाहीले यसअघि नै राजनीतिमा प्रवेश गराई सकेका आफ्ना भाञ्जा कृष्ण बमको पनि यस सन्दर्भमा भर नमानेर विकल्पमा गएजस्तो देखिन्छ । यस्तै रंगमान शाहीका हकमा पनि त्यही हो । कोल्टी क्षेत्रको राजनीतिमा प्रभाव जमाउनका लागि कालीबहादुर र रंगमान एक ठाउँमा आए सहज हुने प्रक्षेपण गरिएको हुनसक्ने पृष्ठभूमिमा रंगमानले पनि कथंकदाचित आफूले सांसदको टिकट नपाउने अवस्था भएका आफ्ना पुत्रलाई त्यो अवसरमा ल्याउने विकल्प त हिजैदेखि खडा गरिसकेका थिए । आगामी दिनमा पनि त्यो विकल्प उनले यथावत राख्ने देखिन्छ । रंगमान शाही र कालीबहादुर शाहीको प्रदेश सांसदका लागि कुरा चल्दै गर्दा उपाध्यक्ष जनक बोहरालाई आगामी अध्यक्षको रुपमा अगाडी सार्ने आश्वासन निकटको सम्भावना हो ।
दृष्य : ८
लालबहादुर थापाले यस अधिवेशनमा बुढीगंगालाई इग्नोर गरेको देखियो । त्यसको साटो उनले खप्तड छेडेदहतर्फ मोह बढाएको प्रतित हुन्छ । तर त्यो सब उनले सुविचारित ढंगले गरेको अनुमान गर्न सकिन्छ । त्यसका लागि अबको निर्वाचनमा पदको व्यवस्थापन महत्पूर्ण हुनेमा उनले ध्यान नदिएको होला भन्ने लाग्दैन । अबको निर्वाचनमा तल्लो प्रदेश निर्वाचन क्षेत्रबाट सम्भवतः अध्यक्ष लालबहादुर ओली र हरि रोकायाबीच नै टिकटका लागि प्रतिस्पर्धा हुने देखिन्छ । त्यसका लागि ओलीको समर्थन जुटाउने आधारका रुपमा उनलाई अध्यक्ष बनाएको गुन र जसको जगमा हरि रोकायालाई टिकटमा प्राथमिकता दिने लालबहादुर थापाको रणनीति हुनसक्छ । यसरी उनले आगामी ०८४ को खाका पनि तयार गरेजस्तो देखिन आएको छ ।
लालबहादुर थापाको अर्को सहजता के पनि हो भने जिल्लादेखि प्रदेश कमिटिसम्ममा उनको पकड भयो अब । जिल्लाको कमिटिबाट उनले चाहेको निर्णय रोक्ने ल्याकत तत्काल देखिए अनुसार कर्ण थापासमूहको हुने छैन । अर्कोतिर प्रदेश कमिटिमा कालीबहादुर शाही आफै उपाध्यक्ष छन् । प्रदेश कमिटिले गर्ने कतिपय सरोकारका निर्णयहरु पदाधिकारीले भगबण्डा गर्ने गरेको इतिहास देखिएकै छ । त्यस अवस्थामा बाजुराको सन्दर्भका निर्णयहरु मलाई छोड्दिनुस् भन्न सक्छन् कालीबहादुर शाहीले अब । त्यसले पनि लालबहादुर थापालाई पहड यथावत राख्न सहज हुने छ ।
पोरखे तस्विरको अर्थपूर्ण सन्देश :
राजनीति र कुटनीतिमा हरेक सन्दर्भहरुको अर्थ हुन्छ । लालबहादुर थापाले कालीबहादुर शाही र रंगमान शाहीलाई साथमा राखेर गहिरो राजनीतिक अर्थ लाग्ने पोरखेका तस्विरहरु तात्तातो ढंगले सार्वजनिक गर्नुका पछाडी केही सारभुत अर्थहरु देखिन्छन् ।
पहिलो – अधिवेशनको मतदानसम्ममा कर्ण थापा समूहले रंगमान शाहीलाई आफ्नो क्याम्पमा रहेको ठानेको थियो । कुरा पनि सायद त्यसैगरि भएको हुनुपर्छ । तर पोरखे तस्विरले कर्ण थापा समूहको त्यो विश्वासलाई भंग गरिदियो । अर्थात, लालबहादुर थापाले रंगमान शाही त तिम्रो समूहमा होइन, मेरै सहकार्यमा थिए, छन् र हुनेछौं भन्ने प्रष्ट सन्देश प्रवाह गराए ।
दोस्रो – रंगमान शाही, कालीबहादुर शाहीसमेतलाई राखेर ०५४ सालदेखिकै अटुट सहकार्य भन्दै तस्विर सार्वजनिक गर्नु कर्ण थापा समूहमाथि अर्को झट्का दिनु हो । नैतिक प्रश्न तेस्र्याउनु हो । त्यसको सिधा अर्थ मेरो टीम त ०५४ सालदेखि अटुट छ, तर कहाँ छ तिम्रो टिम भन्ने प्रश्नसहितको अर्थ दिनु पनि हो भन्ने लाग्छ ।
कर्ण थापा कहाँ चुके
जिल्ला अधिवेशन र बाजुरा एमालेका दुई शीर्ष नेता कर्ण थापा र लालबाहादुर थापाको प्रभाव र रणनीतिमा छ यो आलेख । त्यसैले यतिबेला राजकीय दायित्वमा नरहेका उनीहरु एमाले राजनीतिको जुन सार्वजनिक अहोदामा छन्, त्यतिको सिमालाई ख्याल गर्दै टिप्पणीहरुलाई सिमित गर्न खोजेको छु । त्यसका केही कारण र पृष्ठभूमि छन्, जुन यहाँ उल्लेख गरिरहनु आवश्यक छैन ।
खासगरि कर्ण थापा बाजुराको सांगठनिक पकडमा नराम्ररी चिप्लिएको सम्भवतः दुई दशकपछि यसपाला पहिलो पटक हो । आखिर त्यस्तो किन भयो त ? अहिलेको अहं प्रश्न यत्ति हो । त्यसो हुनुका खास खास कारणहरु छन् । कतिपय अन्तरनिहीत कारणहरु पनि छन्, ती अन्तरनिहीत कारणहरु पनि यहाँ उल्लेख नगरौं ।
बाजुराको एमाले राजनीतिभित्रको सांगठनिक जीवनमा पछिल्लो समय कर्ण थापाको गाँठो जसरी कमजोर हुँदै गएको छ । त्यसको अर्को कारण यस अधिवेशनमा स्थानीय पालिकाका प्रमुखहरु उनको विपक्षमा केन्द्रिकृत हुनु पनि हो । जसको गम्भिर असर अधिवेशनमा कर्ण थापा समूहलाई प¥यो ।
बाह्य रुपमै हेर्दा पनि कर्ण थापाले आफ्नो टीमको जगेर्ना गरेनन् । सम्भवतः लालबहादुर थापाले भने झै ०५४ सालदेखिका टीम यात्री अहिले आन्तरिक राजनीतिमा उनलाई आवश्यक परेका बेला को को उभिए ? सम्भवतः उत्तर उनीसँग पनि नहोला । त्यसको कारण उनी आफैले बोध गरे सहि निष्कर्षमा पुगिहालिन्छ । अर्कोतिर आफूप्रति आस्था राख्ने कार्यकर्ताहरुलाई उनले चिन्न सकेको देखिन्न । शुभेच्चुकहरुको संरक्षण उनको प्राथमिकतामा विरलै पर्यो । तर यस टिप्पणीमा उनले होइन, मैले गुट होइन, पार्टी बनाउने प्राथमिकतामा ध्यान दिएको हो भन्ने तर्क गर्लान् । त्यो एक हदसम्म ठीक पनि हो । यदि तर त्यसो हो भने अधिवेशनको पराजयले किन चस्का पस्नु पर्यो त भन्ने पनि प्रश्न तेर्सिएला । तर लालबहादुर थापाको व्यवहार ठीक विपरीत छ । उनी आफुलाई अन्धसमर्थन गर्नेहरुको रक्षा गर्न रक्षा कवच बन्छन् । र आफ्नो टीम निर्माण गरिरहन लागि पर्छन् । भुगोलमा निकै मिहिनेत गरिहरेका हुन्छन् उनी । यो भन्दा बढि टिप्पाणी नगरौं ।
हो, यसको अर्थ सधै गुट चलाउनु पर्छ भन्ने होइन, गुट चलाइरहनु व्यापक राजनीतिक सोच र व्यवहार पनि होइन । तर बाजुराको हकमा दुई जनाबीच व्यक्तित्वको टकराव भइरहँदा आफ्नो अस्तित्व जोखिममा परेको देख्ने रहर त कुन चै नेतालाई हुन्छ र । अर्को कुरा कर्ण थापा माइक्रोम्यानेजमा कमै लाग्ने गरेको देखिदै आएको भएपनि उनमा अर्कालाई नजरअन्दाज गर्ने कमजोरी छ । अर्थात, ‘त्यसले त मलाई मान्नु पर्यो नि, नमानेर हुन्छ र’ भन्ने जस्तो भाव र व्यवहार देखिन्छ । जुन उनका लागि हितकर देखिन्न । हो, एमालेको राष्ट्रिय राजनीतिको पहुँच र दायरालाई अहिल्यै बाजुराबाट अरु कसैले उछिन्ने देखिन्न । र उनको स्थान लालबहादुर थापाले तत्काल प्राप्त गरिहाल्ने पनि देखिन्न । तर जिल्लाको पकड भने उनले नराम्ररी गुमाउने छन् । र आगामी महाधिवेशनसम्म यही गतिमति हो भने तलमाथि नहोला भन्न पनि सकिन्न । किन कि उनी यसपछि सचिवका सम्भावित दावेदार हुन् । कथंकदाचित सचिव पदमा प्राप्त नभएको अवस्थामा उनको अहिलेको ओज खस्किने जोखिम नहोला भन्न सकिन्न । साथै, बाजुराको संसदीय राजनीतिमा आन्तरिक चुनौतिका चाङहरु त यस अधिवेशनबाटै थपिइसके ।
अहिले आफुलाई कैलाशका रुपमा चित्रित गरेका अर्का नेता प्रकाश शाहको पनि पार्टीको आन्तरिक सांगठनिक गाँठो पनि बलियो हुन सकेन । त्यसका पनि खासखास कारणहरु छन् । प्रकाश शाह उसै पनि संगठन निर्माणमा कमै ध्यान दिने व्यहोराका नेता हुन् । तर उनी जनमतलाई प्रभाव भने पार्छन् । उनको उपस्थितिले बाजुराको निर्वाचन जनमत हिजो पनि प्रभावित थियो र आगामी दिनमा पनि प्रभावित भइरहने निश्चित छ । तर यत्ति मात्रले एमाले बाजुराको सांगठनिक राजनीतिमा भने उनलाई उचित स्थान मिल्ने सम्भावना न्यून छ ।